विवादित मुख्यमन्त्री लालबाबुलाई प्रश्न: तपाइले राजिनामा दिने कि नदिने ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विवादित मुख्यमन्त्री लालबाबुलाई प्रश्न: तपाइले राजिनामा दिने कि नदिने ?



दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा मुख्यमन्त्री लालबाबु राउतले राज्यको विभेदकारी नीतिका कारण मधेश पछाडि परेको अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री जस्तो व्यक्तिले विदेशी पाहुनाको सामुन्ने त्यस्तो अभिव्यक्ति दिन नहुने धारणाहरु आइरहेका छन् । उनै राउतसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु व्यक्त गरेको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी ओलीलेसमेत कटाक्ष गर्नुभयो । के भन्नुहुन्छ ?
प्रधानमन्त्री ओलीले के भन्नुभयो मलाई थाहा छैन । तर मैले मधेशी दलहरुले उठाउँदै आएका मुद्दाहरुलाई प्रस्तुत गरेको हुँ । मधेश केन्द्रित दलहरुले अहिले पनि मुलुकका उत्पिडित, जनजाती, दलितसहित सदियौँदेखि उपेक्षामा रहेका जनताको पक्षमा बोल्दै आएको छ । मैले पनि त्यही कुरा गरेको हुँ ।

यो कुरा त सबै नेपालीलाई थाहा छ नि । मोदीलाई किन सुनाउनुपर्यो ?
मैले उठाएको कुरा नयाँ हो र ? नयाँ कुरा त होइन नि । लामो समय अघिदेखि भन्दै आएका छौँ नि ।

तर अहिले त तपाई प्रदेश नम्बर दुईको मुख्यमन्त्री हो । फोरमको नेताको हैसियतले किन बोल्नुभयो ?
यहाँका जनताको चाहना र भावनाअनुसार मुख्यमन्त्री बोल्ने कि नबोल्ने ? मुलुकका उत्पिडित, जनजाती, दलितसहित सदियौँदेखि उपेक्षामा रहेका जनताले अझै पनि अपनत्व ग्रहण गर्न सकेका छैनन् । संविधानले नै अपनत्व गराउन नसकेकाले कुरा राखेको हुँ ।

कमजोरी र समस्या त छ, तर ति समस्या मोदीलाई किन भन्नुपर्यो ? यसले त देशको बेइज्जत हुन्छ नि ?
यो कुरा दुनियाँको सामु भन्दै आएको हो । सबैलाई थाहा छ । यसले देशको बेइज्जत गरेको होइन । करोडौँ जनताको भावनालाई मञ्चमा राखेर बताउनु खोजेको हुँ । अहिले पनि संविधानमा रहेका त्रुटीमा सच्याएर मात्रै देशको भलो हुन्छ ।

संविधानमा भएका त्रुटी सच्याउनुपर्छ । तर मुख्यमन्त्रीजस्तो व्यक्तिले विभेदकारी कुरा गर्न मिल्छ ?
यो कुरा त नयाँ होइन । पुरानै कुराको निरन्तरता हो । यस प्रदेशका जनताको भावना र चाहनाअनुसार कुरा राख्नु त मेरो कर्तव्य हो । यो एजेण्डा भनेको कुनै पार्टीको होइन । जनताको एजेण्डा हो । संविधानलाई सबैले अपनत्व गर्ने एजेण्डा हो । नागरिकलाई भेदभाव गरेर बनेको संविधान सबैको हुनै सक्दैन ।

तर संविधानलाई त तपाईहरुले पनि स्विकार गरिसक्नुभयो । संविधान संशोधनको प्रस्ताव त बेमौसमको बाजा भइसक्यो नि ?
संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिकता हामीले स्विकार गरेका छौँ । तर पनि यो संविधान सबैको संविधान बन्न सकेको छैन । जुन कुरा मैले उठाएको छु, त्यो कुरा अहिले पनि जहाँ पनि भन्न तयार छु । संविधानलाई सबैको अपनत्व गराउनु छ भने संविधान संशोधन अपरिहार्य छ ।

तर अहिले संविधान संशोधन गर्न प्रधानमन्त्री तयार हुनुहुन्न । एमाले र माओवादी संशोधनका लागि तयार छैन । कसरी संविधान संशोधन हुन्छ ?
तपाईले सत्य कुरालाई दबाएर सक्नुहुन्न । केही समयका लागि बहुमतले दबाउन सकिएला । झुटो कुरालाई पनि साँचो बनाउन सकिएला । तर झुटो कुरालाई सधैँभरी साँचो बनाउन सक्नुहुन्न । यो कुरा सबैले बुझ्नुपर्छ ।

नेपालको संविधानलाई त भारतले पनि मानिसक्यो । मोदीलाई यो कुरा सुनाएर के हुन्छ त अब ?
सबै जनताले समान अधिकार प्राप्त गर्न सकेका छैनन् । यो कुरा सबैलाई थाहा छ ।

तर नेपालको संविधान त उत्कृष्ट संविधान हो नि ?
संविधान त ४७ सालको पनि उत्कृष्ट नै थियो नि । तर समाप्त भयो नि । अहिलेको संविधानलाई पनि जनताको चाहनाअनुसार करेक्सन गर्नुपर्छ ।

यही संविधानअनुसार तपाई मुख्यमन्त्री बन्नुभएको होइन ?
विना तागतको मुख्यमन्त्री छु ।

उसोभए तपाई राजिनामा दिनुहुन्छ ?
किन राजिनामा दिने ? तपाईले भनेर राजिनामा दिने हो र ? मैले त लाखौँ जनताको माझमा आफ्नो कुरा राखेको हुँ । लाखौँ जनताले ताली बजाएको सुन्नुभएन ? मधेशका सम्पूर्ण उत्पिडित समुदायले मेरो कुरा सुनेर ताली बजाएका छन् । मैले सही भनेँ वा गलत भन्ने कुरा जनताले मूल्याङ्कन गरेका छन् ।

तपाईले भारतका प्रधानमन्त्री मोदीलाई अगाडि राखेर प्रदेश नम्बर दुईका जनता गरिब छन्, अशिक्षित छन् भन्न मिल्छ ?
गरिब र अशिक्षित कसले बनाएको ? शाषन सत्तामा मुट्ठीभर समुदाय बस्ने अनि आरोप अरुलाई लगाउने ? तपाई मलाई बढी बोल्न नलगाउनुस् ।

तपाई त मुख्यमन्त्री हो नि । मर्यादा राख्नुपर्दैन ?
अनि मैले केही भन्न नपाउने ? मुख्यमन्त्री भएपछि जनताको चाहना र भावनाअनुसार बोल्नु परेन । नत्र त मेरो कुर्सी गइहाल्छ त ।

त्यसोभए मोदीलाई सुनाएर के पाउनुभयो त ?
मैले मोदीलाई सुनाएको होइन, दुनियाँलाई सुनाएको हुँ । यो देशका शाषक जातिलाई सुनाएको हुँ ।