ललितपुरमा नेपाली काँग्रेसले पार्टी प्रवेश गराउँदा कम्युनिष्ट गठबन्धनमा खैलाबैला - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

ललितपुरमा नेपाली काँग्रेसले पार्टी प्रवेश गराउँदा कम्युनिष्ट गठबन्धनमा खैलाबैला



ललितपुर । नेपाली काँग्रेसले ललितपुर क्षेत्र नं ३ मा १ सय ५० जना लाई पार्टी प्रवेश गराउँदा कम्युनिष्ट गठबन्धनमा खैलाबैला मच्चिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काँग्रेस प्रवेश गर्नेको संख्या बढ्न थालेपछि ललितपुरमा कम्युनिष्ट गठबन्धन आत्तिन थालेको हो । सो क्षेत्र गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालको क्षेत्र हो ।

शनिबार ललितपुर जिल्ला क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार एवं नेपाली काँग्रेसका जिल्ला सभापति मदन अमात्यले नवप्रवेशीहरुलाई स्वागत गरेका छन् । उनले नवप्रवेशीहरुलाई स्वागत गर्दै कम्युनिष्टहरु पछिल्लो समय हारको मानसिकता बोकेर आत्तिन थालेको बताए । उनले त्यही हारको मानसिकता बोकेर नेपाली काँग्रेसमाथि अनेकानेक आरोप लगाउन थालेको बताए ।

उनले कम्युनिष्टका नेताहरुले राजनीतिलाई ठगिखाने भाँडो बनाएको प्रतिक्रिया पनि दिए । उनले राजनीति समाजसेवाको एउटा पाटो भएको भन्दै उनले राजनीतिलाई भजाएर खान पल्किएका कम्युनिष्ट नेताहरुले जनतामाथि गम्भीर पाप गरेको आरोप लगाएका छन् ।

कांग्रेसले मात्र ललितपुर जिल्लाको हरेक समस्या समाधान गर्न सक्ने र सामाधान गर्दै आएको अमात्य ले बताएका छन् । अमात्यले नेता जनता सामु भोट माग्न आउदा हिजो गरेका काम के हुन् र कस्तो छवि भएको नेता हो उसको राजनीतिक पृष्ठ भूमि कस्तो छ भन्ने बारे सबै मतदाता सचेत हुनु पर्ने बताएका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने यस जिल्लामा कम्युनिष्ट गठवन्धनका उमेदवार जनताको भावना नबुझ्ने र पैसाका लागि मात्र काम गर्ने भएको भन्दै दिनहुँ सयौको संख्यामा युवाहरु कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसरी दिनहुँ सयौको संख्या आफ्ना कार्यकर्ता काँग्रेसमा प्रवेश गर्दा कम्युनिष्ट गठबन्धन भित्र खैलाबैला सुरु भएको छ ।