विक्रमासिंघे- पाँचौँ पटक श्रीलंकाको प्रधानमन्त्री, संसदमा आफ्नो पार्टीको एक सिट मात्रै - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

विक्रमासिंघे- पाँचौँ पटक श्रीलंकाको प्रधानमन्त्री, संसदमा आफ्नो पार्टीको एक सिट मात्रै



रनिल विक्रमासिंघे पाँचौ पटक श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भए । उनले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको ‘कमान’ अब विक्रमासिंघेको काँधमा आएको छ । समाचारमा जनाइएअनुसार २२५ सदस्यीय श्रीलंकाको संसदमा विक्रमासिंघेसँग केवल एक जना सांसद छन् ।

युनाइटेड नेसनल पार्टी (यूएनपी) का ७३ वर्षीय नेता सिंघेले बुधबार राष्ट्रपति गोटाबाय राजपाक्षेसँग भेट गरेका थिए । त्यसअगाडि नै महिन्दा राजापाक्षेले श्रीलंकाको प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

विक्रमासिंघे यसअगाडि चार पटकसम्म श्रीलंकाको प्रधानमन्त्री भइसकेका छन् । यो उनको पाँचौँ कार्यकाल हो । अक्टोबर सन् २०१८ मा तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरीसेनाले विक्रमासिंघेलाई पदबाट हटाएका थिए । तर, दुई मिहनपछि सिरीसेनाले उनलाई पुनः बहाली गराएका थिए ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार श्रीलंकाको सत्तारुढ र केही विपक्षी राजनीतिक दलले विक्रमासिंघेलाई संसदमा बहुमत पुर्‍याउन समर्थन जनाएका छन् ।

अमरउजाला डटकमले सूत्रको हवाला दिँदै लेखेको छ- सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी), विपक्षी समगी जन बालावेगाया (एसजेबी) को एक पक्ष तथा अन्य केही दलले विक्रमासिंघेलाई संसदमा बहुमत सावित गर्न आफ्नो समर्थन जनाएका छन् ।

यूएनपीका अध्यक्ष वजीरा अभयवर्द्धनाले भनेका छन्- नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि विक्रमासिंघे संसदमा बहुमत सिद्ध गर्न सक्षम हुनेछन् ।

श्रीलंकाको पुरानो पार्टी यूएनपीले सन् २०२० को संसदीय चुनावमा एक सिट पनि जित्न सकेको थिएन । यूएनपी मजबुत रहेको मानिएको कोलोम्बोबाट चुनाव लढेका विक्रमासिंघे पनि पराजित भएका थिए । पछि कुल राष्ट्रिय मतका आधारमा यूएनपीलाई दिइएको राष्ट्रिय सूचीमार्फत उनी संसदमा पुग्न सफल भए ।

कतिपयले विक्रमासिंघेलाई श्रीलंकाका दूरदृष्टि भएका नेता मान्छन् । कतिपयले उनलाई श्रीलंकाका यस्ता नेताका रूपमा मान्छन् जो अन्तर्राष्ट्रिय सहयोग जुटाउन सक्षम छन् ।