'लौरो' चिन्हको लोभलाग्दो 'क्रेज', पुराना दलमाथि चुनौती - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

‘लौरो’ चिन्हको लोभलाग्दो ‘क्रेज’, पुराना दलमाथि चुनौती



काठाडौं- पोखरादेखि बेनीसम्मको यात्रा थियो । बस आधा भरिएको थियो । मेरो साइडमा बसेका अधबैँसे यात्रुको अनपेक्षित प्रश्नबाट म छक्क परें । सधैंजसो यात्रामा सँगै हुनेले गर्ने प्रश्न र यो प्रश्नमा धर्ती र आसमानको फरक थियो । खासमा यात्राका क्रममा यस्तो प्रश्नबाट मैले अहिलेसम्म सम्वादको सुरुवात गरेको घटना थिएन ।

“लौरो भन्नेबित्तिकै तपाईँको दिमागमा के आउँछ?” उनले मलाई गरेको पहिलो प्रश्न थियो यो । यसअघि उनी र मेरो बोलचाल भएकै थिएन । उनले सोधेको यो प्रश्नले मलाई आश्चर्यमा पार्यो । उनी मेरो मुखबाट लौरोबारे सुन्न निकै उत्सुक थिए । मैले काठमाडौं र शहरहरूमा मात्र लौरोको चर्चा होला भनेको गाउँ-गाउँमा पनि यसको प्रभाव राम्रै परेको रहेछ ।

उनीमात्र होइन अहिले धेरैले लौरोबारे चर्चा गर्ने गरेका रहेछन । लौरो अन्य दल र नेताभन्दा फरक हो भन्ने भान जनतामा परेको देखियो । सर्वसाधारणका लागि चर्चाको विषय बनेको लौरो अन्य दलका नेताहरूलाई भने टाउको दुखाई बनेको छ । लौरो अभियानमा जोडिएकाहरूका नारा र कार्यक्रमले पनि जनताको मन जितिरहेका छन् ।

पुराना दल र ब्रान्ड बनिसकेका उनीहरूका चुनाव चिन्हमाथि लौरो ठूलो चुनौती बनिरहेको छ । वर्षौँदेखि विभिन्न दलका कार्यकर्ता बनेर काम गरिरहेकाहरू पनि लौरो अभियानमा लाग्न थालेपछि दलका नेताहरू लौरो अभियानप्रति आक्रोशित बन्न थालेका छन् । देशमा पुराना राजनीतिक दल तिनका नेताहरूप्रति अपेक्षित परिवर्तन गर्न नसकेका कारण वितिष्णा बढेको बेला परिवर्तनको पक्षमा रहेका तटस्थ मतदाता लौरोमैं आकर्षित बन्न थालेका छन् ।

केहि महिनाअघि भएको स्थानीय निर्वाचनको परिणामले पुराना र चर्चित दलका चुनाव चिन्हले मात्रै निर्वाचन जित्न सक्छन् भन्ने मान्यतालाई खण्डित गरेको छ । नयाँ चुनाव चिन्हले पनि छोटो समयमा जनताको मनमा स्थान बनाउन सक्छ भन्ने मान्यता स्थापित बनेको छ । त्यसमाथि लौरो अभियानले निर्वाचनका लागि अपनाइएका फरक अभियान पनि लोकप्रिय बन्दै गएका छन् ।

स्थानीय निर्वाचनपछि काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङले जीत मात्रै निकालेनन् जनप्रतिनिधिले काम पनि गर्छन् भन्ने आशा जगाए । उनीहरूको जितपछि चम्किएको लौरो अभियान अहिले देशव्यापी बनेको छ । हिजो चर्चा नै नहुने लौरोलाई अहिले फरक नजरले हेर्न थालिएको छ ।

गाउँ गाउँमा लौरो अभियानका उम्मेदवार काम फरक छन्, यीनीहरूबाट परिवर्तन सम्भव छ भन्ने छाप परेको देखिन्छ । स्थानीय निर्वाचनपछि हाम्रो नेपाली पार्टीले लौरो आफ्नै चुनाव चिन्ह बनायो । छोटो समयमा हाम्रो नेपाली पार्टी र लौरोमा देखिएको क्रेज लोभलाग्दो छ ।

लौरोबाट उठेका उम्मेद्वारहरू युवा छन्, त्यसमाथि कुनै न कुनै क्षेत्रमा विज्ञता भएका युवाहरू । उनीहरूले गरेका चुनावी अभियानहरू फरक छन्। चुनावी कार्यक्रमहरूको शैली फरक छ । लौरोकै कारण युवाहरू राजनीतिमा सक्रिय बन्न थालेका छन् । राजनीतिमा युवा र विज्ञहरूको रूची बढ्नु परिवर्तनकै संकेत हो ।

लौरो अभियानप्रति आकर्षण बढ्नुको अर्को ठूलो कारण छ, ठूला दलले नयाँ र क्षमतावानलाई अवसर नदिनु । दलहरूले अहिले पनि पुरानै अनुहारलाई चुनावमा उठाएका छन् । दलभित्र रहेका युवाहरूको पालो हत्तपत्त आउने आउने छाँट देखिन्न । विश्वभरी राजनीतिमा नयाँ प्रयोग र क्षमता भएकाहरलाई राजनीतिमा अवसर दिने ट्रेन्ड बढिरहेको छ । तर नेपालमा भने पुराना दलहरूको चेत खुलेको छैन । काठमाडौं, धरान र धनगढी लगायत केही स्थानमा स्थानीय निर्वाचनमा फरक, युवा र नयाँले बाजी मारे । निर्वाचनपछि उनीहरूले देखाएको काम र राजनीतिक संस्कार लोभलाग्दा छन्।

नेपालमा नयाँ पार्टीहरू खोल्ने यस्ता अभ्यास यसअघि पनि नभएका भने होइनन् तर ती दलहरू फरक बन्न नसकेको कारण नै जनताको आकर्षण बन्न सकेनन् । देश र जनताको सेवाका लागि खोलेका दलहरूले जनअपेक्षा अनुसारको काम गर्न र शैली अपनाउन नसक्दा यसअघिका त्यस्ता अभियानले पूर्णता पाउन सकेनन् । कतिपय अभियानका सुरुवात आशालाग्दा देखिएपनि कालान्तरमा ती अभियान व्यक्तिगत स्वार्थ र पदकै कारण तुहिएका छन् ।

जनताको अपेक्षा एकातिर तर दल र अभियानका काम कर्तव्य ठ्याक्कै विपरीत बनेपछि तुहिएका अभियानले जनतामा छाएको निराशाबीच जन्मिएको लौरो अभियानसँग जिम्मेवारी धेरै छन् । खासगरी देशमा काम गर्ने माहोल नबनेर विरक्तिएका वर्ग र यहाँ केही गर्न सकिन्न भन्ने वर्गलाई लक्षित गरेर ‘राजनीति कम काम बढी’ गर्न सके यो अभियान सार्थक बन्नेछ ।