प्रधानमन्त्री ओलीबाट के शिक्षा लिने ? « Himal Post | Online News Revolution
Logo

प्रधानमन्त्री ओलीबाट के शिक्षा लिने ?



~कुमुद अधिकारी~

भनिन्छ मानिसहरू सङ्घर्षले खारिन्छन्। अनुभव बटुल्छन् र परिपक्व बन्छन्। हाम्रो समाजको सानो एकाइ ‘घर’मा होस्, वा देशकै ठूलो परिवार ‘सरकार’मा होस्, उच्च पदमा रहेकाहरू अनुभवले खारिएका हुन्छन् र हुनु पर्ने पनि त्यही हो। घरको जेठोबाटो बाबु, आमा, वा दाजुदिदी जो भए पनि नेतृत्व गरेर परिवारलाई डोऱ्याइरहने मानिस परिपक्व हुनै पर्छ। हुन्छन् पनि। तर हाम्रो देशको बिडम्बना, देशका प्रधानमन्त्री उमेरले नेटो काटे पनि व्यवहार भने उरन्ठेउलो किशोरको जस्तो गर्छन्। अझ कतिपय स्थितिमा बालकझैँ व्यवहार गर्छन्।

केही दृष्टान्त हेरौँ –

क) धुलो छैन, मास्क लगाउनु पर्दैन – प्रधानमन्त्रीले मास्कबारे दिएका अभिव्यक्तिहरू जगजाहेर छन्। उहाँले काठमाडौँमा अब मास्क लगाउनु पर्दैन, धुलो छैन भनिरहँदा, आधा उपत्यकावासी सडकमा धुलो खाइरहेका थिए। मानिस आजित छन् धुलोबाट, प्रदूषणबाट। अनि देशकै प्रमुख बोल्छन् – ‘मास्क लगाउनु पर्दैन।’ उहिलेका राजा-महाराजाहरू देशको स्थिति कस्तो छ भनेर बुझ्न विभिन्न भेष धारण गरेर हिँड्ने गरेको हामीले नीति कथाहरूमा पढेका हौँ। हाम्रा प्रधानमन्त्री सर्वासाधारणलाई घचेटेर खाली गराइएको बाटामा कारकेडमा बुलेटप्रुफ गाडीभित्र बस्नुहुन्छ र धुलो देख्‍नुहुन्न। एक पटक मात्रै घाम चर्किएका बेला भेष बदलेर हिँडे थाहा पाउनुहुन्थ्यो। यस्तो जगजाहेर कुरामा झुट बोल्नु अपरिपक्तवता नभएर के हो ?

ख) सरकारको विरोध गर्न मास्क लगाए – प्र.म.लाई काठमाडौँमा धुलो छैन नै भन्ने लागिरहेको रहेछ। र मास्क लगाएका रिपोर्ट मिडियाभरि आउँदा, विरोधीले लगाएछन् भन्ने लागेछ। यो सोच आयो होला, हुन पनि हो, आफ्नै देश, माटो, भुइँ हेर्न पनि स्क्रिनको भरपरेपछि। स्क्रिनमा त धुलो देखिँदैन, धुलो हेर्न, महसुस गर्न त नाङ्गो हात, नाङ्गा गोडा, भुइँमा निस्कनु पर्छ। फेरि अलिकति विश्वासको कुरा पनि हो। तर विश्वास र यथार्थमा आकाश पातालको फरक हुन्छ भन्ने कुरा उहाँजत्तिको मानिसले चाल पाउनु पर्ने हो।

सजग र परिपक्व नेताले सही कुरा बोल्दा पनि सन्तुलित तरिकाले बोल्नुपर्छ। तर धुलोले आजित मास्क लगाउने काठमाडौँवासीलाई “विरोधी”को संज्ञा दिइरहँदा, उहाँमा अलिकति पनि यथार्थ ज्ञान थिएन ? आफ्ना नागरिकको अनुहारको उदासी, टाउकाको धुलो, मनको पीडा देख्‍न नसक्ने नेतृत्वबाट देशवासीले के अपेक्षा गर्नु ? गालिबको एउटा “शेर” त सुन्नुभएकै होला प्रधानमन्त्रीज्यूले पनि:
जिन्दगीभरि गालिबले एउटै भुल गरिरह्यो,
धुलो अनुहारमा थियो ऐना सफा गरिरह्यो।

ग) बाबुरामको डिग्रीको खिल्ली – डा. बाबुराम भट्टराईको राजनैतिक विचारधाराको अनुयायी म होइन, म उहाँको ठूलो फ्यान पनि होइन। मलाई उहाँले एउटा पार्टी बनाउँदै तोड्दै, अर्कातिर गाँसिदै गरेको पनि मन पर्दैन। तर कसैको प्राप्त गरेको डिग्री, योग्यता, सीप आदिलाई होच्याउन म सपनामा पनि सक्तिनँ। त्यसैले म बाबुरामको पढाइ, दूरदृष्टि र अभिव्यक्ति कलाको प्रशंसा गर्छु।

प्रधानमन्त्रीले बाबुरामको पीएचडीलाई काम नलाग्ने भनिरहँदा, मैले आफ्नै बालापन सम्झिरहेँ। कुनै पाहुनाले अरूलाई दुईवटा चकलेट दिएर आफूलाई एउटा दिए भने हामी रिसले मुर्मिरिँदै अनेकथरी गाली बर्स्याउँथ्यौँ, सराप्नु सराप्थ्यौँ। दुइटा चकलेट समात्ने साथी ट्वाँ पर्थ्यो। के भन्थ्यौँ, म यहाँ लेख्दिनँ किनकि त्यस्तो गाली यहाँ लेख्‍न मिल्दैन। मेरो मर्यादाले पनि दिँदैन। होली वाइनसहितका अनेकथरी “सम्मानार्थ” डाक्टरेट ओलीज्यूले एउटा डाक्टरले बोल्ने भाषा त परैजाओस्, इमानदार नागरिकले बोल्ने भाषा पनि बोल्नुभएन। बाबुराम र प्रधानमन्त्रीको बोली, व्यवहार र काम नै तौलिने हो भने बाबुराम पट्टिको पल्ला थुप्रै तल पुग्छ। बाबुरामबाट सिक्ने कुरा धेरै छन्। कसैले आर्जन गरेको शिक्षालाई सार्वजानिक मञ्चमा होच्याउने काम अपरिपक्वताको अर्को हद हो।

घ) विषादी परीक्षण रोक्न भन्दै भारतीय दूतावासले पत्र पठाएको छैन – यो सबैभन्दा पछिल्लो कडी हो अपरिपक्वताको। दूतावासको पत्र जगजाहेर भैसक्ता पनि उहाँले ‘कुन पत्र ?’ ‘कस्तो पत्र ?’ ‘कहाँ आयो पत्र ?’ भनी सांसदहरूलाई जबाफ दिनु झुट बोल्नुको हद भएको सांसदहरू ठान्छन्।

पत्र आउनुको कारण, विषादी परीक्षण सुरु गरिएका, रोकिएका आदि कारण जेजस्ता भएता पनि, तिनलाई सत्यतथ्यको आधारमा स्वीकार गर्दा पनि के फरक पर्थ्यो। प्रधानमन्त्रीले सेतोलाई सोझै कालो किन भन्नुपऱ्यो। प्रधानमन्त्रीलाई थाहा होला, कहिलेकाहीँ मान्छे महान बन्ने दम्भमा ठूलो भड्खालामा झर्छ।

प्रधानमन्त्रीबाट के शिक्षा लिने ?

प्रसङ्ग फेरि बाबुरामबाटै गरौँ। बाबुराम प्रधानमन्त्री हुँदा देशमै बनेको मुस्ताङ गाडी चढेका थिए। यो निर्णय उनको हचुवाको निर्णय नभएर देशकै उत्पादनलाई प्रोत्साहन गर्ने दूरगामी सोच थियो भन्न सकिन्छ। तर बिडम्बना यस्तो राम्रो कुरा उनकै पत्नी हिसिलाले पनि टेरिनन्। तर त्यो अर्को पाटो हो। उनले पर्याप्त गृहकार्यसहित गरेको बिप्पा सम्झौता अहिले मानिसहरूले बुझिरहेका छन्। उनकै पालामा हो काठमाडौँका सडक चौडा भएका।

सन्त नेता कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीको नाम सँगै भविष्यको पुस्ताले के.पी.ओली कसरी सम्झेला ?
छिमेकी भारतकै प्रधानमन्त्री जस्तो सुकै कट्टर हिन्दुवादी भए पनि, उनका धेरै खराब पक्ष भए पनि, उनीबाट सिक्ने कुरा धेरै छन्। एकपटक उनको ‘मन की बात’ रेडियो कार्यक्रम हाम्रा प्रधानमन्त्रीले पनि सुन्ने कि ?
अलिक पल्लो छिमेकी इमरान खानलाई हेर्ने हो कि ? प्रधानमन्त्री भएपछि सयौँ विलासी गाडीहरू नीलाम गरिदिए। अझ सुन्छु अमेरिका जाँदा, देशको खर्च जोगाउन पाकिस्तानी दूतावासको अतिथिगृहमै सुत्ने रे। यस्ता नेतालाई हो नागरिकले मनमा राख्ने। आदर गर्ने।

अहिले देशभरिबाट एसइइ पास भएर विद्यार्थीहरू काठमाडौँमा थुप्रिएका छन्। तिनले कलेज पढ्दा देशका प्रधानमन्त्रीबाट के सिक्ने ? उनीहरूको मनोबल, आत्मविश्वास कसरी बढोस् जब देशकै कार्यकारीले आफूहरूभन्दा अपरिपक्व निर्णय गरेको, वक्तव्य दिएको, भाषण गरेको सुन्छन्। मास्क लगाएर स्कुल कलेज जान्छन् र काठमाडौँमा धुलो छैन, मास्क लगाउनु पर्दैन भन्दै गरेको लाचार भएर सुनिरहन्छन्। पढ्ने र राम्रो गर्ने हौसला मरेर जान्छ।

दिनका दिन ल्याइने विधेयक र जनदबाबपछि अनेक थरीका झुट बोल्दै फिर्ता लिइने कुराले प्रधानमन्त्रीको नेतृत्वप्रति ती कलिला विद्यार्थीहरूको मस्तिष्कमा कस्तो असर पर्ला ? एउटै राम्रो काम गर्न नसक्ने नेताले देशलाई के देला भनी बुझ्लान् ? के राम्रा कुरा अब नीतिका किताबमै सीमित भए त प्र.म.ज्यू ? भोलिको नेतृत्व दिने युवावर्गले हालको नेतृत्व र राजनीतिबाट के सिक्ने ? उनीहरूको छाती त आफ्नो देशको प्रधानमन्त्रीको नाम लिँदा गर्वले फुल्नु पर्ने हो। अनुहारमा मुस्कान आउनुपर्ने हो। कठिनाइ सामना गर्ने अदम्य साहस र आत्मविश्वास बढ्नुपर्ने हो। तब न सफल हुन्छन् उनीहरू। तब न समाजले र देशले उर्ध्वगति लिन्छ।

भविष्यका पुस्ताले के.पी.ओलीको नाम पनि गर्वका साथ लिने गरी बोल्न र काम गर्नसक्नुहुन्न प्र.म.ज्यू ?