कम्युनिस्ट भन्न लाज भैसक्यो, नेताको सम्पत्ति छानबिन गरौँ : लेखनाथ न्यौपाने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कम्युनिस्ट भन्न लाज भैसक्यो, नेताको सम्पत्ति छानबिन गरौँ : लेखनाथ न्यौपाने



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा कतिपय गम्भीर विषयका प्रस्तावहरू केन्द्रीय सदस्यहरूले राखेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्न पनि सुरू गरेका छन् ।

सरकार संचालन, पार्टी नेतृत्वको बिलाशी शैली, एमसीसी, यती काण्ड लगायतका बिषयमा सहभागी सदस्यहरूले गम्भीर प्रश्नहरू तेर्स्याइरहेका बेला एक जना केन्द्रीय सदस्यले नेतृत्वप्रति गम्भीर प्रश्न गर्दै सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

नेताहरूको सम्पती छानबिन गर्न शक्तिशाली आयोगको माग

सुझावसहितको प्रतिवेदन पेश गर्ने क्रममा समूह १३ का टोली नेता लेखनाथ न्यौपानेले पार्टी नेता, जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन्। टोली नेताको तर्फबाट छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गर्ने क्रममा न्यौपानेले यस्तो माग गरेका हुन्।

न्यौपानेले राजकीय पदमा पुगेकाको सम्पत्ति छानबिन र न्यायोचित जिम्मेवारी वितरण गर्नुपर्ने माग गरेका हुन्। पार्टी भित्रको गलत प्रवृत्तिलाई कम गर्न आयोग गठन हुनुपर्ने उनको भनाइ छ।

‘जनस्तरमा कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर डिड्न गाह्रो भएको मामलामा कांग्रेस र कम्युनिस्ट उस्तै हुन यो विषय गम्भीरतापूर्वक रुपमा सम्पत्ति कमाउने र पार्टीभित्र अभिजात वर्ग बन्न पाइन्छ ?’, न्यौपानेले प्रश्न गर्दै भने, ‘यसलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ। पार्टीमा नवधनाढ्य वर्गको उदय हुँदै जानु कम्युनिस्ट आन्दोलनका लागि चुनौती हो।’

उनले पार्टीमा वर्ग छुट्टीदै जाँदा पार्टी विघटनतिर जाने उल्लेख गर्दै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठनको माग गरेका हुन्। ‘अब सम्पत्ति छानविन गर्ने शक्तिशाली आयोग बनाउनुपर्छ,’ उनले भने, ‘यो आयोगले नेताको सम्पत्ति छानबिन गर्नुपर्छ।’