दुनियाको पहिलो क्लब : जहाँ महिला-पुरुष खेलाडी बराबर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दुनियाको पहिलो क्लब : जहाँ महिला-पुरुष खेलाडी बराबर



एजेन्सी- इङ्ल्यान्डको लेविस फुटबल क्लबको पुरुष टोलीले लन्डन तथा दक्षिण–पूर्वको क्षेत्रीय एमेच्योर लिगमा प्रतिस्पर्धा गर्छ भने महिला टोलीले इङ्ल्यान्डकै दोस्रो डिभिजनको लिगमा प्रतिस्पर्धा गर्छ।

दुई वर्षअघि यो एउटा सानो क्लबले विश्‍व फुटबलमा अग्रणी बनेर नयाँ प्रचलन सुरु गर्‍यो।

अहिले विश्‍व फुटबलमा पारिश्रमिकमा लैङ्गिक विभेद पेचिलो मुद्दा हो। भर्खरै फ्रान्समा सम्पन्‍न महिला विश्‍वकपका दौरान त यो विषयले चर्चाको शिखर चुम्यो। अमेरिकी महिला फुटबल टोलीकी कप्तान मेगान रापिनोइले विश्‍वकप जिते पनि ह्‍वाइट हाउस नजाने उद्घोषका लागि अपशब्द प्रयोग गर्न समेत पछि परिनन्।

प्रतिउत्तरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यस मुद्दामा ट्विटको वर्षा गरे।

तर यो लैङ्गिक विभेदलाई लेविस फुटबल क्लबले दुई वर्षअघि नै बुझिसकेको थियो। त्यसैले टोलीले त्यतिबेलैबाट महिला र पुरुष खेलाडीको पारिश्रमिक समान गरेको थियो। जसमा क्लब अहिले पनि गर्व गर्छ।

दुई वर्षअघि नै महिला र पुरुष खेलाडीलाई समान पारिश्रमिक दिने विश्‍वकै पहिलो क्लब बनेको लेविसका प्रमूख स्टुआर्ट फुलेर आफूले सुरुआत गरेको प्रचलनले अन्य क्बल र खेलमा पनि समानताको सन्देश प्रवाह गरिरहेको बताउँछन्।

‘हामी यो नीति सम्भव छ भनी सिद्ध गरेर देखाउँदै अन्य क्लब तथा खेलमा पनि लागू गर्न उत्प्रेरित गरिरहेका छौं,’ फुलेर भन्छन्, ‘आम्दानी किन बराबरी भन्दा पनि किन घटिबढि भन्‍ने प्रश्‍नको बोध हुनु जरुरी छ। गत वर्ष हाम्रो क्लबमा सबैभन्दा बढि कमाउने खेलाडी महिला बनिन्, जुन उदाहरणीय छ।’

क्लबमा रहेका महिला–पुरुष दुवै खेलाडीले १ सयदेखि २ सय ५० युरो प्रतिहप्ता आम्दानी गरिरहेका छन्। तर लेविस फुटबल टोलीका लागि खर्चभन्दा पनि समानता महत्त्वपूर्ण विषय हो।

क्लबले पारिश्रमिक मात्रै नभएर ‘ग्रासरुट’का खेलाडीदेखि शीर्ष स्तरसम्म पनि महिला र पुरुष नभनी समान स्तरको प्रशिक्षण प्रदान गर्दै आएको छ।

पुरुष टोलीका प्रशिक्षक डारेन फ्रिम्यान भन्छन्, ‘हामी एउटै मैदान प्रयोग गर्छौ, उस्तै सेवा सुविधा र बल पनि उस्तै प्रयोग गर्छौं। हामी महिला या पुरुषभन्दा टोलीको जित चाहन्छौं। समानता भन्‍नाले सबैलाई समान अवसर र पुरस्कार पनि हो भन्‍ने हामीलाई थाहा छ।’

एभर्टन र टोटेनह्‍यामका पूर्व–प्रशिक्षक फ्रान अलोन्सोलाई गत डिसेम्बरमा महिला टोलीको प्रमूख प्रशिक्षकमा भित्र्याउनुले पनि क्लबमा पुरुष र महिलाबीचको समनता दर्शाउँछ।

माउरिसियो पोचेटिन्हो र रोनाल्ड कोम्यानको सहायक प्रशिक्षका रूपमा काम गरिसेकेका एलोन्सोले प्रिमियर लिगका दुवै क्लबमा महिला टोलीको नेतृत्व गर्दै १७ वर्ष प्रशिक्षणको अनुभव बटुलिसकेका छन्।

स्पेनिस मुलका प्रशिक्षक अलोन्सोले आफ्नै देशमा पनि महिला फुटबलको उत्साह बढाउन उल्लेख्य भूमिका निर्वाह गरेका छन्।

यो वर्षको सुरुमा बार्सिलोना र एट्लेटिको मड्रिडका महिला टोलीबीचको खेल हेर्न उनी वान्डा मेट्रोपोलिटानो पुग्दा ६० हजार ७ सय ३९ दर्शक उपस्थित थिए। जुन सङ्ख्या महिला फुटबलको इतिहासमा सबभन्दा बढिमात्र नभई यू–२१ पुरुष युरोपियन च्याम्पियनसीपको फाइनलमा रंगशाला पुगेका दर्शककोभन्दा बढि थियो।

समान पारिश्रमिकको सुरुआत गरेपछि लेविसको घरेलु मैदानमा आउने समर्थक पाँच गुणा बढेका थिए।

यी सबै अलोन्सोको मड्रिडमा वितेको बाल्य अवस्थाभन्दा विल्कुल भिन्‍न थियो। मड्रिडमा उनी दिदीसँगै हुर्किएका थिए। दिदी फुटसल खेल्थिन्। तर त्यसक्रममा उनले अपशब्द र तिरस्कार सहनु परेको थियो। लेविसमा प्रशिक्षकको भूमिका पाएसँगै उनलाई किशोर अवस्थाका तीता अनुभव सम्झाउने ती खराब कार्य सुधार्ने मौका मिलेको छ।

‘म सँधै समानताका लागि लड्छु,’ अलोन्सोले भने।

लेविस गत वर्ष म्यानचेस्टरपछि दोस्रो सर्वाधिक दर्शक उपस्थित गराउन सफल भएको थियो।

लेविसले फुटबललाई सामाजिक परिवर्तनको यन्त्रका रूपमा प्रयोग गरेको क्लबको निर्देशकको जिम्मेवारीमा चुनिएकी मिचेल बोइ क्रिगले बताएकी छन्। ‘लेविस फुटबल क्लब भनेको समानताको क्लब हो,’ उनले थपिन्।