आज ११ औं लोकतन्त्र दिवस, देशभर मनाईंदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आज ११ औं लोकतन्त्र दिवस, देशभर मनाईंदै



 वैशाख, ११ काठमाडौं 

 

आज बैशाख ११ गते अर्थात् ११ औं लोकतन्त्र दिवस ।१० बर्षअघि जन आन्दोलनबाट राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य गरी मुलुकमा लोकतन्त्र बहाली भएको दिनको सम्झनामा मनाईदै आएको लोकतन्त्र दिवस आज पनि देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । २०६२ चैत्र २४ गते देखि शुरु भई २०६३ बैशाख ११ गते सफल भएको १९ दिने जनआन्दोलनको सम्झनामा लोकतन्त्र दिवस बनाउन थालिएको हो।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेतालाई नजरबन्दमा राखी शासन सत्ता आफ्नो हातमा लिएपछि दुई ध्रुवमा रहेका संसद्वादी दल र सशस्त्र युद्धरत नेकपा माओवादीबिच १२ बुँदे समझदारी भएको थियो । दुई शक्तिका बिचमा भएको यो समझदारीलाई पनि वैशाख ११ गतेले नै अनुमोदन गरेको थियो ।

त्यस्तै २०६३ वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनैतिक दलले २०६२र०६३ मा भएको लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरिएको थियो ।

आन्दोलनको दबाबमा राजाले ‘जनताको नासो जनतालाई नै सुम्पेको’ भनी २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन त्यस पछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले माओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।

अन्तरिम संसदले संविधान सभा बन्नु अघि नै देशमा गणतन्त्र आई सकेको र संविधान सभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछयाउदै संविधान सभाको पहिलो बैठकले २०६५ साल जेष्ट १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गरेको थियो ।