आरसीबीविरुद्ध एक विकेटको रोमाञ्चक जित, एलएसजी टपमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आरसीबीविरुद्ध एक विकेटको रोमाञ्चक जित, एलएसजी टपमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनौ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

एमए चिदम्बरम रंगशालामा सोमबार भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३ रनको विशाल लक्ष्य लखनउले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रनको योगफल खडा गरेको थियो ।

लखनउको जितमा विस्फोटक ब्याटिङ गरेका निकोलस पुरनले मात्र १९ बलमा ६२ रन बनाए । पुरनले चार चौका र सात छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले ३० बलमा ६ चौका र पाँच छ्क्कासहित ६५ रन बनाए । आयुश बडोनीले ३० र कप्तान लोकेश राहुलले १८ रन बनाए ।

बेङ्लोरका मोहम्मद सिराज र बाइन पर्नेलले समान तीन विकेट लिए । हर्षल पटेलले दुई र कर्ण शर्माले एक विकेट लिए ।

त्यसअघि बेङ्लोरका कप्तान फाफ डु प्लेसिसले ७९ रन बनाएका थिए । विराट कोहलीले ६१ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।

लखनउका मार्क उड र अमित मिश्राले एक-एक विकेट लिए । जितसँगै चार खेलबाट ६ अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको आठौं स्थानमा छ ।