लुकाकुले भने: जिम्मेवारी म लिन्छु, मलाई माफी दिनुहोस् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लुकाकुले भने: जिम्मेवारी म लिन्छु, मलाई माफी दिनुहोस्



एजेन्सी- इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्।

बेल्जियमका फरवार्ड लुकाकुले केही साताअघि एक सञ्चारमाध्यममा चेल्सीमा अनुबन्धित भए पनि क्लबसँग सन्तुष्ट नभएको प्रक्रिया दिएका थिए। उनलाई मुख्य प्रशिक्षक थोमस टचेलले पहिलो रोजाइमा नराखी बेन्चमा राख्दा लुकाकु असन्तुष्ट थिए। चोट र कोरोनाको कारण देखाउँदै प्रशिक्षक टचेलले २८ वर्षे लुकाकुलाई टोलीभन्दा बाहिर राखेका थिए।

‘मेरो कारण समर्थकमा परेको चोटमा म माफी माग्न चाहन्छु,’ लुकाकुले चेल्सीको आधिकारिक वेभसाइटमा जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मलाई विश्वास गर्दै दिएको समर्थनप्रति म कृतज्ञ छु। आउँदा दिनमा उत्कृष्टभन्दा उत्कृष्ट खेल देखाउँदै टोलीको सुखद नतिजाका लागि खेल्नेछु।’ ‘मैले दिएको अभिव्यक्तिले प्रशिक्षक, समकक्षी र बोर्डमा चोट पुग्यो। यसको जिम्मेवारी म लिन्छु र यसबारे माफी माग्नु चाहन्छु,’ लुकाकुले थपे, ‘दिएको जिम्मेवारीलाई पूरा गर्दै टोलीबाट राम्रो नतिजाका लागि खेल्नेछु।’

चेल्सीमा विवादमा आएका लुकाकुले यसअघि इटालियन सञ्चारमाध्यममा खेलिरहेको क्लबमा आफू सन्तुष्ट नरहेको अभिव्यक्ति दिएका थिए। साथै आफू पुरानै क्लब इन्टर मिलान फर्किने मनसायमा रहेको अभिव्यक्ति दिएका थिए। व्यक्तिगत रूपमा राम्रै प्रदर्शन गरे पनि प्रशिक्षक टचेललाई लुकाकुले असन्तुष्टि पोखेका थिए।

टचेलका अनुसार उनी टोलीको अभ्यासमा सहभागी भइसकेका छन्। उनले कारबाओ कपअन्तर्गत टोटेनहमविरुद्धको खेल खेल्ने प्रशिक्षक टचेलले बताएका छन्। लुकाकुले २०१२ देखि २०१३ सम्म चेल्सीका लागि खेलेका थिए।

२०१३ मा लोनमा एभर्टन गएका लुकाकु २०१४ देखि २०१७ सम्म एभर्टनमा बिताएका थिए। २०१७ देखि दुई वर्ष म्यानचेस्टर युनाइटेडमा खेलेका लुकाकु इन्टर मिलान पुगेका थिए। इन्टर मिलान क्लब खराब आर्थिक अवस्थामा गुुज्रिएपछि सिरी ‘ए’को उपाधि जितेपछि दोस्रो पटक २०२१ चेल्सीमा १ सय ३२ मिलियन अमेरिकी डलरमा अनुबन्ध भएका थिए।