राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कुन दलको कस्तो छ अवस्था ? - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कुन दलको कस्तो छ अवस्था ?



दाङ – राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन गर्न लागिएको हो ।

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको हुँदैछ । निर्वाचनमा तीन पदका लागि ६ जनाको प्रतिस्पर्धा छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी प्रक्रियामा सामेल भएको छ ।

निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट तीनजना उम्मेदवार छन् । दलीय सहमतिअनुसार नेपाली कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीका एक-एकजनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार बनेका छन् । खुलाबाट शर्माले महिलाबाट गैरेले र दलितबाट विश्वकर्माले उम्मेदवार हुन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार बनाइएका छन् ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको मतभार सात हजार सात सय ५८ रहेको छ । लुम्बिनीमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चितप्राय: छ । मतभारका आधारमा गठबन्धनका उम्मेदवारकाे पक्षमा बहुमत हुने देखिन्छ ।

एक वर्षअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए । राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा नाैजना मतदाता रिक्त छ । ८७ प्रदेश सभा सदस्यबाट ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन् ।

स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठबन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् ।

माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख छन् । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन् । जसपाका १३ प्रमुख, उपप्रमुख छन् । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन् । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन् । एमालेका ८८ प्रमुख,उपप्रमुख छन् ।

प्रदेश सभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमाेकाे एक, एकीकृत समाजवादीका एकजना छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ। यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरूको मतभार धेरै हुने देखिन्छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र पालिका प्रमुख, उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ ।