म विकासको सपना देखिरहने पागल हुँ : डा.भट्टराई - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

म विकासको सपना देखिरहने पागल हुँ : डा.भट्टराई



काठमाडौं, २४ कात्तिक ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सधैं विकासको सपना देखिरहने पागलको संज्ञा दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा युवाहरुलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले माओवादी छाड्नुको कारण उल्लेख गरेका छन् । उनले आफू प्रधानमन्त्री हुँदा केही काम गर्न खोजे पनि असफलताको पक्षलाई आफूले पाएको कार्यअवधि तथा त्यतिखेरको प्राथमिकतासँग दाँजेर हेर्नुपर्छ कि भन्दै प्रश्न गरेका छन् ।

डा. भट्टराईले युवाहरुलाई सन्देशहरु पठाउन अनुरोध गर्दै लेखेका छन्, ‘मलाई पनि एउटा कुरा भन्न मन लाग्यो । मलेसियाको उल्लेखनीय आर्थिक विकास गर्न सक्ने, २२ वर्ष शासनसत्ता सम्हाली अत्यन्त सफल भएका प्रधानमन्त्री डाक्टर महाथीर मुहम्मदलाई सीएनएन ले ‘तपाईंको सफलताको राजलाई छोटकरीमा कसरी बताउनु हुन्छ?’ भन्दा उनले भनेका थिएँ, ‘म मलेसियाको विकासको सपना मात्रै देखिराख्ने एउटा पागल थिएँ। मैले सय जना अर्को पागलहरूलाई खोजेँ । अनि भेट्टाएँ पनि । बाँकी इतिहासको पानाहरूबाट जान्न सक्नु हुन्छ ।’

भट्टराई अगाडि लेख्छन्, ‘मैले पनि एउटा स्थापित राजनीतिक दल परित्याग गरी एक्लै निस्केको एक मुख्य कारण त्यस्तै सय जना पागलहरूलाई खोज्नु थियो ।’ उनले नयाँ शक्तिमा यस्ता विकासप्रेमी नेपालीहरु जोडिइरहेको बताए । ‘स्थापना कालदेखि नै सयकडौँको संख्यामा विकास प्रेमी नेपाली युवाहरू नयाँ शक्तिसँग जोडिए,’ उनी भन्छन्, ‘त्यसमध्ये दर्जनौँ अहिले चुनावको मैदानमा छन् । नयाँ शक्तिले चुनावपछि पनि देशभरी नै यस्ता युवाहरूको खोज जारी राख्नेछ ।’

उनले नयाँ शक्तिलाई चुनावभन्दा बढी महत्वपूर्ण विकासप्रेमी युवाहरुलाई राजनीतिमा आवद्ध गराउनु भएको धारणा राखेका छन् । ‘चुनाव महत्वपूर्ण भएपनि हाम्रो लागि बढी महत्वपूर्ण विकासप्रेमी युवा पिंढी राजनीतिमा आउनु हो,’ उनी भन्छन्, ‘आम जनताको समृद्धिका लागि होमिनु हो ।’