म अनि सिडनीको मस्ती ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

म अनि सिडनीको मस्ती !



दीपक घिमिरे

अस्ट्रेलिया उड्ने सपना देख्न थालेको चौध वर्ष भएछ । बुझ्ने बेला देखि अस्ट्रेलियाको सपना देखियो । कारण गाउँकै रनेदाई अस्ट्रेलिया पुगेर गाउँमा अलिसान महल ठड्याएका छन् । रहर पैसा र पेसामा थियो । पैसा जाबो त खाडी गएर पनि कमाउन सकिन्छ तर म पेसा पनि त्यत्तिकै इज्जतिलो चाहन्थे ।

सपना पूरा भयो , किङ्ग फोर्डस्मिथ अन्तर्राष्ट्रिय बिमानस्थल सिडनीमा ओर्लियपछी मैले जीवनका सबै सपना पूरा भएको महसुस गरे । एक पटक विमानबाट ओर्लना साथ चिच्याउदै भन्न मन थियो ” आइ लभ सिडनी ! ” तर सकेन किन भने हजारौँ सपना आझै अधुरै थिए । जीवनमा अस्ट्रेलिया छिर्ने मुख्य सपना पूरा भएको थियो तर मलाई लाग्दैथ्यो जीवनका सबै सपना पूरा भए ।

सिडनिको चिसो हावाले मेरो नाक र आँखामा हान्यो । मैले मीठो मान्दै लामो सास ताने अनि मुस्कुराउदै छाडे । हिजो त्रिभुवन बिमानस्थलको अवस्था सम्झिए । सानो र ठुलोमा भेदभाव गर्ने पहिलो मुलुक पर्छ सायद हाम्रो नेपाल र हामी नेपाली । दिउँसो साढे एक बजे बिमान्स्थलमा इन्ट्री हुँदा दुई वटा लाइन थिए अलग अलग गेट बाट । एउटा अस्ट्रेलियाको लागि थियो भने अर्को मलेसियाको लागि । हामी लागेको लाइनलाई मुस्कान सहितको चेकजाँच थियो भने मलेसिया उड्ने यात्रुको लाइनलाई हेपाहा पबृत्ती । नेपाली बिमानस्थलमा देखेको त्यस्तो प्रबृती मैले आज सम्म कतै हुन्छ होला भन्ने सम्म कल्पना गर्दिन । व्यवहारमै फरक हुन्छ नेपालमा । पढेलेखेका बाटै पक्षपात हुन्छ नेपालमा । र पनि गौरव लाग्छ एउटा नेपाली हु भन्नमा ।

सिडनीको किङस फोर्ड्स्मिथ बिमान्स्थलबाट सेतो लामो चुच्चे ट्याक्सीमा म बसे । साथमा थियो धेरै वर्ष देखि सिडनिमा बस्दै आएको साथी निराजन । उसले सरासर आफ्नो अपार्टमेन्टमा लान खोज्दै थियो । तर मैले मानिन । किन भने म नेपालमै कैयौ रात निदायको छैन हर्बर बृज हेर्ने सपना अनि ओपेरा हाउस नियाल्ने सपना देख्दै । उसलाई भने ” पैला हार्बर बृज जाऊ । ” उ अनकनायो , भन्यो ” सबै सिडनी भोलि घुम्लास , आज रुममा गएर रेष्ट गर । ”

मैले मानिन । मेरो जिद्धी स्वभावको अगाडि उसको केही चलेन । ट्याक्सी चल्यो सिधै हार्बर बृज । हार्बर बृज बाट नजिकै थियो ओपेरा हाउस । ट्याक्सीलाई अलि वरै राखेर हामी पैदल हिड्यौ । अस्ट्रेलियाको समय अनुसार साझको छ बज्दै थियो । मधुर उज्यालोमा कालो हार्बर बृज मनै लोभ्याउने गरी बसेको थियो । अलि पल्तिर रहेको ओपेरा हाउसको त कुरै छाडौ ।

हार्बर बृजको माथि उक्लेर सबै सिडनीलाई नियाल्ने रहर थियो । हार्बर बृजको माथि टुप्पा बाट सिडनी नियाल्नु मेरा लागि सगरमाथाको टुप्पोबाट संसार नियाले जस्तै रोचक हुने थियो । तर आज भाग्यमा रहेन , कुनै दिन आउला भन्दै म ट्याक्सी मै बसे । सिडनिको प्रख्यात बोटानिकल गार्डेनको उत्तर पट्टि आधुनिक टावरमा निराजनको अपार्टमेन्ट थियो । हेर्दै अलिसान महल भित्रका अपार्ट्मेन्टका के कुरा गरौँ र खोइ । हेर्दै कुनै हलिउड फिल्ममा हिरो हिरोनिका कोठा जस्ता थिए ।

निराजनकी बुढीले बनाएको नेपाली खाना खायर भलाकुसारीमा लाग्यो । ” खाना त नेपाली नै खादा रैचौ ? ” नजिकै झुण्डिएको रुमालले हात पुछ्दै निराजनलाई भने । उसले बुढी तिर हेरेर भन्यो ” नेपाली मन , नेपाली तन भएसी जहाँ भएनी नेपाली परिकारले मन लोभ्याउदो रहेछ । ” साँच्चै भन्यो निराजनले । बिहानै सिडनीको बोन्डाई बिचमा घुमाउन लगेको उसले एउटा जहाजमा नेपाली झन्डा देखायो । मन पागल जस्तै उड्यो , भन्न मन लाग्यो ” प्राउड टु बि नेपाली ! ”

कलेज कता छ , होस्टल कता छ मलाई थाहा छैन तर दुई चार दिन सिडनी घुम्ने रहर पूरा गर्ने लक्ष्य पहिलो प्राथमिकतामा छ । संसारमै नामुद बोन्डाई र म्यान्ली बिचमा घुम्दा छुट्टै संसारमा आएको आभास भयो । काठामाण्डौंमा घुडा सम्म स्कर्ट लगाएकी केटी देख्दा ओ माई गड भन्दै जिब्रो पडकाउने हाम्रो पुस्ता सयौ देशका हजारौँ अर्धनग्न युवती देखेर मोहित हुँदै नाच्थ्यो । म पनि मजा लुटदै थिए बिचमा हुने डिजे पार्टी विथ कक्टेल डिनरको साथमा ।

निराजनले बोटानिकल गार्डेन रातमा घुमायो । साना साना क्रीसमस ट्रीलाई सजायर धपक्क बलेका रुख , हातैले बनाएको जस्ता फुलहरू अनि अचम्मका क्यारीमा फुलेका फुलहरुको बासना लिदै बोटानिकल गार्डेन घुमायो । गार्डेनमा अंकमाल गर्दै बसेका कैयौ युगल जोडीलाई मैले देखे । म आफू नेपाली समाज बाट भर्खर सिडनी झरेकी हुनाले अचम्म मान्दै हेर्थे तर निराजन मेरो हात तान्दै भन्थ्यो ” पागल ! अगाडि हेर , मस्तीलाई डिस्टब नगर ! ”

साझ कोठामा पुर्‍यायो , उसले झ्याउ मानेको होला भनेर आजै कलेज र होस्टल पुर्‍याउन भने तर उसले मानेन । अझै दुईचार दिन बस्न आग्रह गर्‍यो । निराजनकि जीवनसंगी सलिनाले अलि नराम्रो मान्दै भनिन ” अप्ठ्यारो लाग्यो है ? हामीलाई आफ्नै भाइ बुहारी सम्झेपनी हुन्छ । ”
नातामा जोडिन सलिनाले आग्रह गरेपछि अरू दुईचार दिन बस्न मेरा लागि गारो थिएन । बेलुका निराजनले र मैले दुई दुई क्यान ह्यानकिन बियर चुस्यौ । अपार्टमेन्टको बार्दलीमा आएर एक छिन मातेको तालमा गफ छाट्यौ अनि चिकन सहितको भात खायर सुत्यौ ।बिहानै निराजनले मलाई हाईड पार्क घुमाउन लग्यो । मलाई हाईड पार्क भन्दा बोटानिकल गार्डेनमै मजा लागेको थियो । ओपेरा हाउस हेर्ने धोको अझै पूरा हुन सकेको थिएन । हार्बर बृजमा चढने धोको पूरा हुन बाकी नै थियो ।

एक सय बिस भन्दा  माथिको स्पिडमा कार कुदाउदै निराजनले मलाई पैला हार्बर बृज पुर्‍यायो । हार्बर बृज बाटै ओपेरा हाउस देखायो । अनि हार्बर बृजमा चढने मेरो धोको पुर्‍याउन टिकेट , लुगा अनि बेल्टको बन्दोबस्त मिलाउन उ टिकेट काउण्टर तिर लाग्यो । कम्मरमा कडा बेल्ट , अलग खालको लुका अनि टाउकोमा लगाउने फोकस लाईट लिएर निराजन आयो । हामीले हार्बर बृज चढने सामान्य सेफ्टी नियम पालना गर्‍यौ । अनि निराजन अघि अघि म उसको पछि पछि चढ्यौ ।

मानिसको घुईचो थियो , चढदै थिए । निराजनले सारा सिडनी देखाउदै थियो । प्रत्यक ठाउँ चिनाउदै थियो , म हेर्दै उक्लदै थिए । एक्कासि मेरो खुट्टा चिप्लियो । कम्मरमा बाधेको बेल्ट फुस्कियो , म हार्बर बृज बाट सिधै तल नदीमा खसे । अनि म झल्यास्स बिउझिए, घडी हेरेको बिहानको आठ बज्न लागेको रहेछ । बिहान सात बजे देखि मेरो डिप्टी थियो । बंगाली फोरम्यानले नराम्रो सँग कुटने भो भन्ने डर मान्दै हतार हतार इट्टा र बालुवा बोक्न खाडीको मरुभुमीमा दौडिए ।