…म टोकियोमा अचम्म परिरहन्छु ! « Himal Post | Online News Revolution
Logo

…म टोकियोमा अचम्म परिरहन्छु !



प्रिय काठमाडौँ !

ड्यूटीबाट फर्किंदा रातको १२ बजेको हुन्छ । टोकियोका सडकमा केही निर्माणका कामहरू भइरहेका देखिन्छन । १०/१२ मिटर सडक भत्काइएको हुन्छ । सामान्यतया म अनुमान लगाउँछु,’अब यो सडक पुनर्निर्माण हुन कम्तीमा पनि एक हप्ताको समय लाग्नेछ’ । म जुन देशबाट आएको हुँ,सोही किसिमको मेरो सोंच हुनु अनौठो पनि भएन । बरु अनौठो त त्यति बेला हुन्छ, जब अर्को दिन बिहान म ड्यूटी जाँदा अघिल्लो रात भत्काइएको सो सडक पुनर्निर्माण गरिएर जस्ताको तस्तै पारिएको हुन्छ । मैले सात दिनमा बन्ला भनेर अनुमान गरेको सो सडक जम्मा सात घण्टामा ? म अचम्म पर्छु काठमाडौँ !

एउटा घरको फाउन्डेसन तयार गर्दै गरेको देखिन्छ । लाग्छ,सो घर ठुलो भए १ वर्ष भित्र र सानो भए ५/६ महिना भित्रमा बनीसक्ला ! हेर्दा हेर्दै घर बनाउने स्थानलाई चारैतिर बाट त्रिपालले बारिन्छ,त्यसपछि त्याहाँ भित्र के के हुन्छ केही देखिँदैन । गिटी बालुवा बाटोमा घोप्ट्याइंदैन,निर्माण सामग्री कसैलाई सास्ती हुने गरी असरल्ल पारिन्न,त्यति धेरै हल्ला र प्रदूषण पनि गरिंदैन । सानो(३/४ तलाको) भए बढ़ीमा एक महिना भित्र र ठुलो(१०/१२ तलाको) भए बढ़ीमा ३ महिना भित्रमा त्रिपाल हटाइन्छ । सम्पूर्ण सुविधा सहितको भूकम्प प्रतिरोधी,बस्न लायक,सुन्दर घर तयार भइसकेको हुन्छ । कति छिट्टै ?! देखेर म साह्रै अचम्म पर्छु, प्रिय काठमाडौँ !

प्रविधि र सुविधा भएर हो भन्ने तर्क आउला ! केही हद सम्म त्यो पनि हो । तर अन्तिम सत्य त मान्छे नै हो,अनि मान्छेको इच्छाशक्ति नै हो काठमाडौँ । इच्छाशक्ति बिनाको प्रविधि र सुविधा लँगड़ो हुन्छ । इच्छाशक्ति सहितको प्रयासले ढुङगाको काप फोरेर पनि पिपल उम्रिन्छ ।

प्लेटफ़ार्ममा रेल चढ़नेको भिड हुन्छ । जति नै भिड भए पनि धक्कामुक्की र ठेलमठेल हुँदैन । सभ्य लाइन हुन्छ । रेल आउँछ,स्वचालित ढोका खुल्छ,ओर्लिनेलाई प्राथमिकता दिइन्छ अनि लाइनमा बसेकाहरु पालै पालो चढ़छन । बस,ट्याक्सी चढ़ने ठाउँहरूमा,फन पार्क र कलाकासोहरुका टिकट लिने ठाउँहरूमा,रेस्टूरेन्ट र कफी सपहरुमा,सपिंग सेंटरका बिल तिर्ने ठाउँमा जताततै अन्त्यन्तै सभ्य र संयमित लाइन देखिन्छ । सोंच्छु,हतार त लाइनमा उभिएका सबैलाई होला, उसै पनि टोकियो हतारै हतारको सहर हो । तर ती सभ्य लाइनहरुमा कोही पनि हतारमा देखिन्नन । कसैले कसैको पालो मिच्दैनन । को ठुलो को सानो,को पहुँच भएको को नभएको,केही देखिँदैन । कस्तो समानता र धैर्यता ? अचम्म पर्छु !

हाकिमले ‘म हाकिम हुँ’ भन्ने हाउभाउ कतै देखाउन्नन । सेवा लिन जाँदा सेवाग्राहीलाई सेवाप्रदायकले यति सम्मान देखाउँछन कि हाम्रो देश तिर ससुरालीमा ज्वाइंलाई देखाउने जत्तिकै ! स-साना कम्पनीका मालिकहरू ‘मालिक हुँ’ भनेर गुजुधूम्म परेर बस्दैनन,सँगै काम गर्छन् । बाहिरबाट हेर्नेलाई छुट्टयाउन मुस्किल पर्छ को मालिक हो,को कामदार हो भनेर । यस्ता दृश्य देखेर म हरबखत अचम्म परिरहन्छु प्रिय काठमाडौँ !

यहाँ कोठामा ताल्चा नलगाई बाहिर घन्टौं घुमेर आए पनि सामान हराउँदैनन,म अचम्म पर्छु । ट्राफिक सिग्नल कसैले अवज्ञा गर्दैन,अचम्म पर्छु । सडकमा जथाभाबि फोहोर कसैले फ्यांक्दैनन,अचम्म पर्छु । झगड़ा गरेको,आपसमा लडेको ठुला त के, बालबालिका सम्म देख्दिन,अचम्म पर्छु । कुकुरले बाटोमा गरेको फोहोर समेत उठाएर झोलामा राख्छन र सडक सफ़ा गरिदिन्छन,अचम्म पर्छु । महिलाहरू मध्य रात सम्म काम गरेर एक्लै निर्धक्क घर फर्किन्छन,अचम्म पर्छु । फलेको वृक्षको हाँगो झुक्छ भने झैँ जहिले जताततै हंसिलो अनुहार सहित शिर झुकाइरहेक़ा जापानी देखेर म ‘झुक्दै नझुक्ने नेपालको छोरो’ अचम्म परिरहन्छु,प्रिय काठमाडौँ !

साँच्चै भनूं भने, म टोकियोका गगनचुम्बी भवन,अग्ला टावर,विश्व नं २ स्कइ ट्री आदि देखेर अचम्म पर्दिन । म टोकियोमा सलल बगिरहेका अत्याधुनिक रेलहरु देखेर पनि अचम्म पर्दिन । सुविधा सम्पन्न सडक,गाडीहरु अनि झिलिमिली सहर देखेर पनि अचम्म पर्दिन । बयान नै गर्न नसकिने यहाँको प्रविधिको विकास देखेर पनि अचम्म पर्दिन । आकासै बाँधिएका पुल पुलेसा,पातालै खोलिएका सुरुंगमार्ग देखेर पनि अचम्म पर्दिन । म अचम्म पर्छु त केवल यी सब बनाउने यहाँका मान्छे देखेर ।यी सब बनाएका तर घमण्ड रत्तीभर नगर्ने यहाँका अनुशासित नागरिक देखेर अचम्म पर्छु । राष्ट्रको विकास प्रति प्रतिबद्ध,राज्यको नियम कानुन प्रति इमान्दार,इतिहासले दिएका घाउ बाट सचेत भएका, अनि प्रकृतिले बेलाबेलामा दिने अफ़्टेरा सँग जुध्न तयार भएर बसेका यहाँका कर्मठ नागरिक देखेर अचम्म पर्छु !

आफू स्वयम् एउटा मान्छे भएर कुनै अर्को देशको मान्छे देखेर अचम्म मान्नु पर्ने के म कुनै अर्कै ग्रह बाट आएको एलियन हुँ ? आफू स्वयम् कुनै देशको नागरिक भएर कुनै अर्को देशको नागरिक देखेर अचम्म मान्नु पर्ने के म कुनै दन्त्य कथाको एकादेशको पात्र हुँ ? होइन । म नेपाली हुँ । शान्तिका दूत गौतम बुद्ध जन्मेको अनि धर्तीकै अग्लो शिर सगरमाथा भएको र प्रकृतिले जापानलाई भन्दा बढ़ी सिंगारेको देशबाट श्रम गर्न आएको नागरिक हुँ । म जस्ता नेपाली यो टोकियो सहरमा धेरै छन्,को कति के कुरामा अचम्म पर्छन, म जान्दिन । तर तिम्रो कसम प्रिय काठमाडौँ, जापानी मात्र होइन, म यहाँका केही नेपाली देखेर झन् बढ़ी अचम्म पर्छु कहिलेकाहीँ !

शान्तीप्रिय जापानीहरु सवार भएको रेलको डब्बामा सबैलाई डिस्टर्ब हुने गरी चर्को चर्को स्वरमा ‘हींग बांधेको टालो’ को बखान गरिरहेका कुनै काजी/जिम्मालका सन्तानका कुरा सुनेर अचम्म परिरहन्छु । पर्व अवसरहरुमा हुने जमघटहरुमा टन्न पिए पछि एक अर्काकै टाउको फोराफोर गर्ने नेपाली वीरका बहादुर सन्तानहरु देखेर अचम्म परिरहन्छु । प्रचलित कानुन र अनुशासन उल्लंघनका घटना देखि ड्रगको धन्दा सम्ममा समातिएका टाँठाबाठाहरुका सन्तान देखेर अचम्म परिरहन्छु । समग्र नेपाली एक हौँ भन्ने भावनाले नभई ज़िल्ला,गाउँ,जात,समुदायका केही झुण्ड देखाएर हैकम जमाउने टोले नेताहरूको गजबको उत्पत्ति र उपती देखेर अचम्म परिरहन्छु ।

सोझा साझालाई जापानको लालच देखाएर १५/२० लाख लिएर भित्र्याउने अनि अलपत्र पारिदिने महान् भावनाका व्यापारी देखेर अचम्म परिरहन्छु । देशको सर्वस्व लुटेर स्वयम् उनीहरूलाई नै बिदेशिन बाध्य पारेका नेपालका प्रचलित दलका हनुमान बनेर यो समृद्ध देशबाट केही सिक्नु पर्ने ठाउँमा उल्टै उतैको राजनीतिक संस्कार अंगालिरहेका कथित बुद्धिजीवीका चर्तिकला देखेर अचम्म परिरहन्छु । प्रिय काठमाडौँ,संसारकै शान्त सहर टोकीयोमा नेपाली अशान्त मन,पात्र र प्रवृत्तिहरु धेरै छन्,जो वर्षौं देखि जापानमा बसिरहेक़ा त छन् तर जापान सिकेका छैनन्,हो तिनैलाई देखेर अचम्म परिरहन्छु !

यी तमाम अचम्महरुको बाबजुद केही नेपाली दाजुभाइ/दिदीबहिनी  यस्ता पनि छन्,जसले नेपाललाई जापानमा चिनाउन कुनै कसर बाँकी राखेका छैनन् । आफ्नो कला र सामर्थ्यलाई यहाँको अनुशासन प्रति पूर्ण प्रतिबद्ध भई प्रस्तुत गरिरहेका र नेपालको शाख़लाई बँचाइराखेका उनीहरू प्रति अगाध श्रद्धा र सम्मान छ ।

जापानीहरुबाट हामीले सिक्नु पर्ने धेरै कुरा छन्,जसलाई अचम्म मानेरै सही,सिकेर सके आफ्नो देश,नसके आफ्नो समाज र त्यो पनि नसके आफ्नो परिवारमा मात्र पनि लागू गर्न सक्यो भने हाम्रो रोगी संस्कार निको भएर देश अलि तंग्रिन्थ्यो कि भन्ने लाग्छ । आखिर मानिस नै हो त्यो प्राणी, जसले आफ्नो परिवेशलाई स्वर्ग या नर्क मध्ये एक बनाउन सक्छ । जापानीहरुले आफ्नो देशलाई अचम्म लाग्ने देश बनाउन सक्छन् भने हामी किन सक्दैनौं ?

प्रिय काठमाडौँ, हुन त हजारौँ रोगी मानसिकतालाई आफ्नो छातीमाथि सकिनसकी बोकिरहेको तिमी नै एक किसिमको विवश रोगी सहर हौ, त्यसमाथि म यहाँ मेरो रोग बयान गर्दैछु तिमीसँग । परदेशको एक सहरमा बसेर अचम्म परिरहने मेरो यो एक किसिमको रोग नै हो क्यार ! एक किसिमको प्यास,तड़प र छटपटी भइरहने रोग । मान्छेले मान्छेलाई देखेर लाग्ने रोग । हो, मलाई त्यही रोग लागेको छ टोकियोमा । म ‘मेरा देशका मान्छे किन यहाँका मान्छे जस्ता भएनन?’ भन्ने चिन्तनमै रोगी बन्दैछु बिस्तारै ! ‘नागरिकले त रहेछ देश बनाउने’ भन्ने तत्वबोधले रोगी बन्दैछु बिस्तारै । त्यसैले त आए देखि यहाँका अचम्मका कुराहरू समेटेर फेसबुक स्टाटस देखि लामा लामा लेख सम्म लेखिरहेको छु । म त चाहन्छु मेरो यो रोग अर्को नेपाली युवालाई पनि सरोस,उसले पनि देखेका कुरा सुनाओस, सिकेका कुरा बताओस, जहाँ बसेर भए पनि देशको समृद्धिका कुरा गरोस,चिन्तन गरोस,एक नागरिक भएर म के गर्न सक्छु भनी मन्थन गरोस ।

मलाई यो अचम्म पर्ने रोग लागेकोमा कुनै गुनासो छैन । बरु एउटा डर के छ भने मैले स्वदेश फर्के पछि यहाँ देखेका र यहाँ बाट लेखेका अचम्महरुलाई ठुला प्राप्तिको रूपमा ग्रहण गरेर सानो परिधीमै भए पनि सार्न,हुर्काउन र फैलाउन सकूँला कि नसकूँला ?! त्याहाँको वातावरणमा मैले यहाँ देखेका अचम्महरु सप्रेलान कि नसप्रेलान ? भोलि मेरा सन्ततीले अर्को विश्व देख्दा म आज टोकियोमा अचम्म परे झैँ उनीहरू नपरून् भन्नको लागि म मेरो सोंच र लेखनी भित्र यो अचम्मको रोगको वर्णन गरिरहेको छु । यो रोगले मलाई धेरै कुरा सिकाइरहेको छ । अनि म यी सिकाई र भोगाइहरुलाई प्रयोगमा ल्याउने व्यग्र अठोटको साथ तिम्रो छातीमा रहेको दैनिक १६०० नेपाल आमाका सन्तानलाई परदेश लखेट्ने त्री बि बिमानस्थलमा कहिल्यै नफर्किने गरी उत्रिने दिनको प्रतीक्षामा छु,प्रिय काठमाडौँ !
आउला त त्यो दिन ?

-तिम्रो अनुरागी,हेमन्त गिरी, टोकियोबाट ।
[email protected]

लेखकका अन्य लेख

कुरी कुरी भाले सस्कृति

प्रिय काठमाडौं ४

प्रिय काठमाडौं ३

प्रिय काठमाडौंप्रिय काठमाडौं २

प्रिय काठमाडौं

‘प्रष्टोक्ती’….अनि म कायर भागेर विदेश आएँ !

आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं

ट्रम्पलाई चिठ्ठी