एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नपाउने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नपाउने



काठमाडौं- नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना अन्त्य भएको छ।

३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनसक्ने अवस्था नदेखिएपछि राष्ट्रिय दल बन्ने एकीकृत समाजवादीको सम्भावना अन्त्य भएको हो। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकमा सदर मतको ३ प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ। तर, एकीकृत समाजवादीले यो मापदण्ड पूरा गर्न नसक्ने देखिएको छ।

प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने सम्भावना सकिएपछि यो पार्टीले कम्तिमा ४ सिट गुमाउने पक्का भएको छ। शुक्रबार साँझ ६ बजेसम्म निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार १ करोड ३ लाख ८२ हजार ८५ मत गणना भइसकेको छ। गणना भएको यो सदर मत हो।

यो मतको तीन प्रतिशत ३ लाख ११ हजार ४६३ हुन्छ। जबकि एकीकृत समाजवादीले २ लाख ९४ हजार ६३ मतमात्रै पाएको छ। हालसम्म अद्यावधिक भएको सदरमतकै आधारमा पनि एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको छैन। यही मतलाई अन्तिम मान्दा पनि थ्रेसहोल्ड कटाउन उसलाई १७ हजार ४ सय मत अपुग हुन्छ।

खसेकोमध्ये बदर भइरहेको मतको अनुपातलाई हेरेर निर्वाचन आयोगले थ्रेसहोल्डको आँकडा पार गर्न सम्बन्धित दलले कम्तिमा ३ लाख २० मत ल्याउनुपर्ने अनुमान गरेको छ।

यस हिसाबले यो आँकडा पार गर्न एकीकृत समाजवादीलाई अझै करिब २५ हजारभन्दा बढी मत आवश्यक हुन्छ। जबकि गणना गर्न बाँकी क्षेत्रबाट उसले त्यो मत पाउन सम्भावना सकिएको छ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरु वाग्लेले बाँकी रहेका तीन निर्वाचन क्षेत्रबाहेक अधिकांश निर्वाचन क्षेत्रमा गणना कार्य सम्पन्न भइसकेको बताए। प्रत्यक्षतर्फ मतगणना भइरहेको दोलखा, स्याङ्जा–२ र बाजुराको समानुपातिकतर्फको पनि मतगणना भइरहेको उनले जानकारी दिए।

आयोगलाई प्राप्त भएको जानकारीअनुसार यो तीनबाहेक अधिकांश ठाउँमा समानुपातिकतर्फको मतगणना सकिएको उनले बताए।

दोलखामा करिब ८२ हजार मत खसेकोछ। त्यस्तै स्याङजामा ६९ हजार ९२८ र बाजुरामा ५९ हजार ६५६ मत खसेको निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फ दलहरूले पाइरहेको मत हेर्दा ती तीन जिल्लाबाट समाजवादीले २५ हजार मत ल्याउने अवस्था छैन।

आयोगले समानुपातिकतर्फको क्षेत्रगत विवरणसमेत अद्यावधिक गरिरहेको छ। जसअनुसार अहिले गणना भइरहेको स्याङ्जा–२ मा कांग्रेसले ११ हजार ९९४, एमालेले १० हजार ११९, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ४०३, राप्रपाले ८३२, माओवादी केन्द्रले ४६२, मंगोल नेशनल अर्गनाइजेसनले ४५३ मत पाउँदा एकीकृत समाजवादीको १११ मत छ।

यस्तै गणना भइसकेको यो जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीले ४५२ मत पाएको छ।

दोलखा र बाजुराको विवरण निर्वाचन आयोगले हालसम्म आफ्नो सिस्टममा प्रवृष्ट गरेको छैन। एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ।

सातवटा दलले समानुपातिकतर्फ पाएको मतको आधारमा अब यो प्रणालीअन्तर्गत सिट विभाजन हुनेछ। थ्रेसहोल्ड कटाउन नसकेका दलहरूले पाएको समानुपातिकतर्फको मत खेर जाने भएको छ।