१० बुँदे नाटक मात्रै, ओलीकै कारण एमाले विभाजन, यस्तो छ पूर्णपाठ « Himal Post | Online News Revolution
Logo

१० बुँदे नाटक मात्रै, ओलीकै कारण एमाले विभाजन, यस्तो छ पूर्णपाठ



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालद्वारा केन्द्रीय कमिटीको  बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव:

आज हामी एउटा विशेष परिस्थितिबीच यस बैठकमा उपस्थित भएका छौं । हामीले नेकपा (एमाले) मा उत्पन्न भएको व्यक्तिवादी अहंकारवाद, निरङ्कुश एवम् स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र सिर्जनवादका विरुद्ध बिद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गठन गरेका  छौँ । यसरी बिद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको मुख्य उद्देश्य नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी एवम् जनपक्षीय धारको रक्षा गर्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि राख्दै आएका क्रान्तिकारी लक्ष्य उद्देश्यहरू प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्नु हो । यसरी नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपरेको परिस्थितिको विश्लेषणसहित अबको हाम्रो दृष्टिकोण तय गर्ने र सङ्गठन बिस्तारलगायत तात्कालिक कार्ययोजना निर्माण गर्ने कार्यसूचीका साथ हामी यस बैठकमा उपस्थित छौं । म सर्वप्रथम यस बैठकमा उपस्थित सबै कमरेडहरूलाई हार्दिक स्वागत अभिवादन गर्दछु । साथै, समस्त ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, प्रथम जन निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी र जननेता कमरेड मदन भण्डारीलगायत सबै अग्रज नेताहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै विषयमा प्रवेस गर्न चाहन्छु । 

हाम्रो विद्रोहको पृष्ठभूमि र औचित्य
नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी जनवादी क्रान्तिको चरण हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने उद्देश्य राखेर गरिएको थियो । पार्टीले समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरेर समानतासहितको स्वतन्त्रता र आम जनता सुखी एवं समृद्ध भएको समाज स्थापना गर्ने लक्ष्य उद्देश्य राखेको थियो । पार्टीले सङ्घर्षका विभिन्न रूपहरू अवलम्वन गर्दै आफ्ना लक्ष्य उद्देश्य प्राप्त गर्ने ध्येयमा निरन्तर अगाडि बढ्दै आएको छ र राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न खाले जनआन्दोलन तथा जनक्रान्तिमा अगुवाइ गरेको छ । लामो समयदेखि नेपाली जनतामाथि शासन र शोषण गर्दै आएको सामन्ती राजतन्त्रलाई २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा उखेली फ्याकेर संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता र समाजवाद उन्मुखताजस्ता विशिष्ट विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा यस पार्टीले अग्रणी भूमिका निर्वाह गरेको छ ।  

सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य उद्देश्यहरू प्राप्त गर्ने ध्येयमा अगाडि बढ्दैगर्दा यसभित्र अनेक प्रकारका मतभेद तथा विवादहरू उत्पन्न भएका थिए । फुट तथा विभाजन र विद्रोहका कैयन घटनाहरू पनि घटेका थिए । केशरजङ रायमाझीले अँगालेको दक्षिणपन्थी अवसरवादका विरुद्ध कमरेड पुष्पलाललगायतका नेताहरूले विद्रोह गर्नुभएको थियो भने २०२८ सालमा झापा विद्रोह हुँदै २०३२ सालमा कोअर्डिनेशन केन्द्रको स्थापना भएको थियो । त्यसैले इतिहासमा केवल विवाद, विभाजन र विद्रोहका घटना मात्र होइन एकता र एकीकरणका कार्यहरू पनि भएका थिए । विभाजित अवस्थामा रहेको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने क्रममा नै थुप्रै ससाना कम्युनिष्ट समूहहरूलाई समेटेर २०३५ सालमा नेकपा (माले) को स्थापना गरिएको थियो र २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच एकता भई नेकपा (एमाले) बनेको थियो । एमाले बनिसकेपछि पनि विभाजन र पुनः एकीकरण भएको थियो । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास एकता, विभाजन, विद्रोह र पुनः एकताको इतिहासका रूपमा रहेको छ । नेपाली कम्युनिष्ट आन्दोलन अनेकौ आरोह अवरोहका बिच पनि श्रमजीवी तथा मुक्तिकामी नेपाली जनतामाझ व्यापक रूपमा पैmलिएको थियो र छ । गत २०७४ को निर्वाचनको तथ्याङ्कलाई केलाएर हेर्दा पनि कुल मतदाताको करिब ५५ प्रतिसत हिस्सा कम्युनिष्ट पार्टीहरूको पक्षमा रहेको देखिन्छ । 

२०७१ असारमा सम्पन्न नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनले मुलुकमा आएको क्रान्तिकारी परिवर्तनलाई पुँजीवादी जनवादी क्रान्ति मूलतः सम्पन्न भएको छ भनेर व्याख्या गर्दै तत्पश्चात् नेपाली समाज प्रारम्भिक चरणको पुँजीवादमा प्रवेश गरेको छ भन्ने निष्कर्ष निकालेको थियो । उक्त निष्कर्षमा आधारित भएर समाजको आर्थिक–सामाजिक एवं सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गरी नेपाली विशेषताको समाजवादका आधारहरू निर्माण गर्ने कार्यदिशा तय गरेको थियो । तर सोही महाधिवेशनबाट पार्टीको केन्द्रीय अध्यक्षमा निर्वाचित केपी ओलीबाट महाधिवेशनको उक्त दिशानिर्देश अनुरूप कुनै पनि कार्य गरिएन । पार्टीका क्रान्तिकारी नीति, सिद्धान्त र विचार सबै परित्याग गरियो । पार्टीलाई विधि र पद्धति अनुसार होइन स्वेच्छाचारी ढङ्गले चलाइयो । पार्टीको साङ्गठनिक गतिविधि अबरुद्ध पारियो । कैयन कमिटीहरू निर्माण नै गरिएन । कमिकटीका बैठकहरू नियमित रूपमा सञ्चालन गरिएन । पार्टी गतिहिन र सिथिल बन्नपुग्यो । अध्यक्ष स्वयम्बाट पार्टीमा गुटबन्दी गरियो । पार्टीमा संस्थागत प्रणली भत्किदै गयो र गुट तथा गुटगत गतिविधि मौलाउँदै गयो । आफुसँग असहमत रहेका व्यक्तिहरूलाई सङ्गठित गरिएन र जिम्मेवारी नै दिइएन । कम्युनिष्ट पार्टी नीति प्रधान हुनुपर्नेमा नेता प्रधान बनाइयो । व्यक्तिवादी अहंकारवाद हावी हुँदै गयो । व्यक्ति पूजाको संस्कृति मौलाउँदै गयो । पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगियो । हामीले उक्त गलत विचार र व्यवहारका विरुद्ध निरन्तर रूपमा अन्तरपार्टी सङ्घर्ष चलाउँदै आयौँ तर केपी ओलीका विचार, व्यवहार र कार्यशैलीमा कत्ति पनि परिवर्तन भएन ।  
नेपाली कम्युनिष्ट आन्दोलनको एकता, विभाजन, विद्रोह र पुनः एकताकै सिलसिलामा २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबिच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण गरिएको थियो । त्यसरी पार्टी एकता गर्दा पार्टीको निश्चित विचार र विधि तय गरिएको थियो । तर, उक्त एकीकृत पार्टीका दुई अध्यक्षमध्ये एक केपी ओली फेरि पनि पार्टीले लिएका विचार र विधिमा चलेनन् । उनले पार्टीलाई नीति र विधि अनुसार चलाउन चाहेनन् । उनले त्यहाँ पनि गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढङ्गले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने कार्य नै गरिरहे । त्यसबेला पनि हामीले उनका गलत विचार र व्यवहारको आलोचना गरिरह्यौँ । उनले आफु अप्ठ्यारोमा पर्दा विभिन्न खालका सहमति गर्ने तर तिनको पालना भने कहिल्यै नगर्ने जस्ता कार्यहरू बारम्बार गरिरहे । पार्टीको स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटी सबैतिर अल्पमतमा परेपछि पार्टीभित्र आवश्यक छलफल तथा बहस गरेर समस्या समाधान गर्नपट्टि नलागेर पार्टीका बैठक नै नराख्ने, बैठक राखे पनि आफ्नो अनुकुल निर्णय नहुने जस्तो देखेपछि बैठक स्थगित गर्ने वा बैठक स्थलमै नबस्नेजस्ता गैर राजनीतिक कार्यहरू गरिरहे । 

गत आम निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टीबीच तालमेल गरेर जनताबिच गएको हुनाले जनताबाट राम्रो समर्थन प्राप्त गरेका थियौँ र करिव दुई तिहाइ बहुमतको सरकार बनाउने अवसर प्राप्त भएको थियो । त्यस अवसरलाई सवैका विचार, बुद्धि, अनुभव र विज्ञताको राम्रो सदुपयोग गर्दै र गहन वैचारिक मन्थन गर्दै देश विकासको महा अभियान सञ्चालन गरी  समाजवादका आधार निर्माण गर्ने सुअवसरका रूपमा प्रयोग गर्नु पर्दथ्यो । तर उक्त जनमतको आधारमा प्रधानमन्त्री बनेका केपी ओलीले पार्टी नीति, चुनाव घोषणा पत्र र जनताको अपेक्षा अनुसार कुनै पनि काम गरेनन् । सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरूमा पार्टीद्वारा अघि सारिएका कुनै पनि  नीति तथा कार्यक्रमलाई समावेश गरिएन । त्यसविपरीत राष्ट्रिय पुँजीलाई हतोत्साहीत गर्ने र विदेशी दलाल पुँजीलाई प्रोत्साहित गर्नेगरी कृषिमा वैदेशिक लगानीको विधेयक अगाडि सारियो । साथै जनताका सांस्कृतिक मूल्यमान्यता विपरीत गुठी विधेयक ल्याइयो । हामीले पार्टी नीति र जनअपेक्षा अनुसार सरकार सञ्चालन गर्न बारम्बार आग्रह गर्दा पनि नसुनेर अलोकतान्त्रिक, गैरजिम्मेवार र सर्वसत्तावादी सोचबाट चल्ने काम भइरह्यो । तत्कालीन नेकपाभित्र उत्पन्न समस्या समाधानका निम्ति सुझाव दिन गठित कार्यदलको प्रतिवेदनका आधार तत्कालीन स्थायी कमिटीले २०७७ भाद्र २६ गते केपी ओलीले नै ५ वर्ष सरकार चलाउने र पार्टी अध्यक्ष पनि रहने तर दुवै काम पार्टीको नीति, विधि र सहमतिमा गर्ने भन्ने निर्णयको पालना गरिएन ।

विदेशी राष्ट्रको गुप्तचर संस्थाका प्रमुखसँग माध्यरातमा गुप्त मन्त्रणा गरी राष्ट्रियतामा समेत आँच पुग्नेगरी अलोकतान्त्रिक गतिविधि सञ्चालन गरिेयो । संविधानको उल्लङ्घन गर्नथालियो । २०७७ पौष ५ गतेका दिन असंवैधानिक ढङ्गले प्रतिनिधिसभा नै विघटन गरियो । प्रतिनिधिसभाको विघटन गर्ने उक्त प्रतिगामी कार्यको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूको अध्यधिक (करिब ७० प्रतिशत) बहुमतद्वारा भत्र्सना गरियो र त्यसका विरुद्ध राजनीतिक तथा कानुनी सङ्घर्ष सञ्चालन गरियो । जनताले संघर्ष गरेर स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्ने कुत्सित मनशायले असंवैधानिक कदम चाल्दै प्रतिगमनतिर लैजाने केपी ओलीका गलत कृयाकलाप र अनुचित कार्यबाट  मुलुकलाई बचाउन आम नेपाली श्रमजीवी जनता, लोकतन्त्र पक्षधर विभिन्न राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी, पेसाकर्मी सबै सडकमा उत्रिए । केपी ओली नृर्तत्वको सरकारले जनताको आन्दोलनमाथि दमनचक्र चलायो । राजनीतिक रूपमा एक्लिदै गएका केपी ओलीले प्रतिगामी तत्व र हिन्दुत्वको समेत सहारा लिनपुगे । तर लोकतन्त्रको रक्षार्थ उठेको जनताको आन्दोलन झनै सशक्त बन्दै गयो । सर्वोच्च अदालतले आन्दोलनमार्पmत व्यक्त जनभावनाको कदर गर्दै संविधानको मर्म अनुसार विघटित प्रतिनिधि सभाको पुनस्र्थापना गर्ने फैसला गर्यौं । 

२०७७ फागुन ११ गतेको उक्त पैmसलाबाट रन्थनिएका केपी ओलीले पुनःषडयन्त्रका अनेकौं तानाबाना बुन्नथाले । त्यसैबिच २०७७ फागुन २३ गते सर्वोच्च अदालतले वादीद्वारा माग नै नगरेको बिषयमा प्रवेश गरी २०७५ जेठ ३ गते भएको पार्टी एकता खारेज गर्दै एकताबद्ध भएका दुबै पार्टीलाई पूर्ववत अवस्थामा अर्थात २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्काउने पैmसला ग¥यो । यसरी पूर्ववत अवस्थामा फर्काइएपछि पनि चाहेको भए पार्टी एकता कायम राख्नका निम्ति पहल गर्न सकिन्थ्यो । अदालतले एकता गर्ने भए १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोग जानु भनेको पनि थियो । त्यस आधारलाई प्रयोग गरेर पार्टी एकता जोगाउन सकिन्थ्यो । केपी ओली पर्टीमा आफ्नो एकल बर्चस्व कायम गर्नका निम्ति एकता होइन विभाजन नै चाहन्थे । त्यसैले उनले पार्टी एकता जोगाउनका निम्ति कुनै पनि पहल गरेनन् ।  

२०७७ फागुन २३ गतेको अदालती पैmसला बमोजिम नेकपा (एमाले) २०७५ जेष्ठ २ गते जुन अवस्थामा थियो त्यही अवस्थाबाट अगाडि बढ्नुपर्दथ्यो । हामीले पार्टी एकता कायम राख्नका निम्ति उपरोक्त बमोजिम हुनुपर्छ भन्ने अडान राख्यौं । तर केपी ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी सोच र सिंगो पार्टी कब्जा गरी आफ्नो एकलौटी बर्चस्व कायम गर्नेे चाहनाले गर्दा नेकपा (एमाले) को एकता जोगाउने होइन त्यसलाई विघटनको दिशामा नै लैजाने काम भयो । उनले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक गरी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनको दिशामा धकेलिदिए । वास्तवमा केपी ओली  गुटको त्यही निर्णयबाट नेकपा (एमाले) को विभाजन सुरुभएको हो ।

केपी ओलीले यसरी गुटवन्दीपूर्ण, निरङ्कुश, स्वेच्छाचारी र व्यक्तिवादी ढङ्गले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको हुनाले तिनलाई सच्याएर पार्टीलाई २०७५ जेष्ठ २ गतेको अवस्थामा पु¥याउनका लागि हामीले निकै नै प्रयत्न गर्यौँ, तर केपी ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उनी कुनै कुरा पनि सच्याउन तयार भएनन् र आफ्नो विखण्डकारी अडानमै रहिरहे । पार्टीमा गम्भीर संकट उत्पन्न भयो । त्यस प्रकारको संकट उत्पन्न भएपछि केपी ओलीको गुटवन्दी, स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गर्नैपर्ने स्थिति उत्पन्न भयो । हामीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्नका निम्ति पुनःसङ्गठित भएर कृयाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौं । त्यस प्रकारको विषम परिस्थितिमा हामीले २०७७ चैत ४–५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवम् गहन रूपमा छलफल गरी “नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ” भन्ने आह्वानका साथ देशव्यापी रूपमा समानान्तर सङ्गठन निर्माण अभियान नै चलायौँ । केपी ओलीका गलत एवं विसङ्गतिपूर्ण दक्षिणपन्थी अवसरवादी विचार र लोकतन्त्र विरोधी एवं प्रतिगमनकारी व्यवहारको भण्डाफोर गर्यौं । हाम्रो विचार समूहको सङ्गठनात्मक संरचना निर्माण गर्ने दुई महिने अभियान सञ्चालन गर्यौँ । त्यस दौरान सबै प्रदेशमा प्रदेश कमिटी तथा भूगोलमा ७१ जिल्ला कमिटी र चारओटा विशेष जिल्ला कमिटीहरू  गठन गर्यौं । साथै महिला, मजदुर, युवा, विद्यार्थी, खेलकुद, उत्पीडित जातीय सङ्गठनलगायत जनसङ्गठनहरूका राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय कमिटीहरू गठन गर्यौं। यी सव कार्यहरूको समष्टि एक प्रकारको र एक स्तरको विद्रोह नै थियो र केपी ओली गुटलाई दिइएको कडा चुनौति थियो ।

हामीले पार्टी र जन सङ्गठनहरूको पुनर्गठन अभियान मात्र चलाएनौँ २०७७ चैत्र ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलापछि अनेक पटक भएका स्थायी कमिटीका सदस्यहरूको बैठक र केन्द्रीय कमिटीका सदस्यहरूको बैठकमा गम्भीर रूपले छलफल गरेर पार्टीको नीति अनुसार नचल्ने, राष्ट्र र जनताको हितमा काम नगर्ने, भ्रष्टाचारमा चुर्लुम्म डुबेको र स्वेच्छाचारी ढङ्गले चल्ने केपी ओली नेतृत्वको बदनाम सरकारलाई हटाउनै पर्छ भन्ने ठहर गरी सर्वसम्मतिले प्रधानमन्त्रीमा जोसुकै व्यक्तिलाई अगाडि सारेर भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने निष्कर्ष निकाल्यौँ । त्यसै अनुसार अन्य पार्टीहरूसँग छलफल र सहमति गरियो र केपी ओलीले विश्वासको मत माग्दा हामी मतदान प्रकृयामा अनुपस्थित भयौँ । वास्तवमा त्यो नै विद्रोहको अर्को एक मुख्य परिघटना थियो । ओलीले दोस्रो पटक २०७७ जेठ ७ गते प्रतिनिधि सभाको विघटन गरेपछि हामीले त्यस प्रतिगामी कदमका विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्यौँ र स्वयम् उपस्थित भएर सनाखत समेत गर्यौं । हामीले रिटमा प्रतिनिधि सभाको पुनःस्थापना गरी माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न  परमादेशको माग समेत गरेका थियौँ । हामीले माग गरे अनुसार नै सर्वोच्च अदालतले संविधानको रक्षा गर्दै प्रतिनिधि सभाको पुनःस्थापना गरी शेरबहादुर देउवालाई संविधान बमोजिम प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी ग¥यो । हामीले प्रतिनिधि सभालाई बचाएर संविधान र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले उपर्युक्त सबै काम गरेको हुँदा प्रतिनिधि सभा बचाउनका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्दथ्यो र दियौँ । यो नेपाली जनताले कठोर संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षार्थ गरिएको जायज विद्रोह थियो । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति पनि यो विद्रोह आवश्यक र उचित थियो । 

हामीले २०७७ चैत्र ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाबाट सम्मानजनक एकतामा जोड दिने तर त्यस्तो हुन नसकेमा विद्रोह गरी पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने निष्कर्ष निकालेका थियौँ । एकता एक पक्षले चाहेर मात्र हुने कुरा होइन, दुबै पक्षले चाहदा मात्र हुने हो । हामीले एकताको पहल गरिरह्यौँ तर ओली पक्षले निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाइरह्यो । उसले साङ्गठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवम् विचार र नवौं महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उलङ्घन गर्ने जस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम समेत ग¥यो । त्यसै बीच केपी ओलीले एकताका निम्ति वार्ताको अनेकन नाटक गरे । वार्ता गर्न व्यक्तिहरू खटाइयो । वार्तामा एकताको निम्ति सच्चा र इमान्दार प्रयत्न होइन जालझेल गरेर कथित दश बुँदे सहमति गरियो । केपी ओली पक्षले २०७८ असार २७ गते राती दश बँुदे सहमति गर्नुको मूल ध्येय २८ गतेलाई पेशी तोकिएको अदालतमा विचाराधीन प्रतिनिधि सभाको विघटन सम्बन्धी मुद्दालाई प्रभावित गर्नु थियो । वार्ता त फगत नाटक मात्र थियो, अल्मल्याउने र फसाँउने चाल मात्र थियो । हामीले उठाएका मूलभूत विषयहरू, वैचारिक पक्ष, आलोचना र आगामी दिनमा अवलम्बन गरिने निर्णय प्रकृया र सङ्गठनात्मक सवालमा केपी ओली आफैले गरेको सहमति जस्ता विषयलाई छाडेर गरिएको कथित दश बुँदे सहमति केपी ओली पक्षको गंभीर षड्यन्त्रको परिणाम मात्र हो । उक्त सहमतिमा दुई प्रमुख नेताबिच सहमति गरेर मात्र अन्तिम निष्कर्षमा पुग्ने भन्ने कुरा समेत राखिएन । उक्त कथित सहमतिका दशओटै बुँदा प्राविधिक प्रकृतिका छन् । त्यसरी वैचारिक एवं राजनीतिक सवालमा प्रवेश नगरी केवल प्राविधिक बुँदामा मात्रै सहमति गरेर पार्टी एकता हुन सक्तैनथ्यो र एकता भैहाले पनि दिगो हुँदैनथ्यो । केपी ओलीले असंवैधानिक ढङ्गले गरेको जननिर्वाचित प्रतिनिधि सभाको विघटन गलत थियो भन्ने महसुस गरेर आत्मालोचित हुँदै जनतासमक्ष माफी नमागेसम्म एकता गर्नु हुँदैनथ्यो । हामीले जुन मुद्दा उठाएका थियौँ ती मुद्दालाई चटक्कै विर्सेर प्राविधिक एवं व्यवस्थापकीय विषयमा मात्रै सहमति गरी एकता गर्नु गलत हुन्थ्यो । त्यसैले हामी त्यस प्रकारको प्राविधिक प्रकृतिको सहमतिका आधारमा एकता हुन नसक्ने निष्कर्ष निकाल्न र त्यसका विरुद्ध उभिएर विद्रोह गर्न बाध्य भयौँ ।  

हामीले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गर्यौं तर केपी ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टी र आन्दोलनलाई जोगाउन नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्न बाध्य भयौँ । यो हामीले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरेको सिद्धान्तनिष्ट, जायज र अत्यावश्यक विद्रोह हो । विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनलाई जोगाइएको थियो । केशरजङ रायमाझीले पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा लगेको बेला कमरेड पुष्पलाललगायतका नेताहरूले विद्रोह गरेर पार्टी पुनर्गठन गरी आन्दोलनको रक्षा गर्नु भएको थियो । मोहनबिक्रम सिंहलगायतका नेताहरूले पनि विद्रोह गरेर नै पुनर्गठन अभियान चलाउनु भएको थियो । कम्युनिष्ट आन्दोलन कम्जोर बन्दै गएको बेलामा झापा सङ्घर्ष, मुक्तिमोर्चा विद्रोह, बर्रे सङ्घर्ष आदि विद्रोहहरू गरेर पनि पार्टी पुनर्गठन अभियान सञ्चालन गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गरिएको थियो । आज फेरि नेपाली कम्युनिष्ट आन्दोलनलाई केपी ओलीले दक्षिणपन्थी अबसरवादको दलदल र विसर्जनको दिशामा धकेलेकाले त्यसबाट पार्टी र आन्दोलनलाई बचाउनका निम्ति विद्रोह गर्नु अनिवार्य भएकाले यो विद्रोह गरिएको हो । 

एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीले माक्र्सवादी–लेनिनवादी अर्थात द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण अँगालेको हुनुपर्दछ । त्यो पार्टी समाजको आमूल परिवर्तनको पक्षमा सदैव कृयाशील रहेको हुनुपर्दछ । त्यसले समाजका आम श्रमजीवी वर्गको पक्षमा निरन्तर काम गरिरहेको हुनुपर्दछ । त्यसले मुलुकको सार्वभौमसत्ता आम जनतामा निहित छ भन्ने कुरा आत्मसात गरेर जनादेश अनुरूप चल्नुपर्दछ । कम्युनिष्ट पार्टीे आफुले अँगालेको सिद्धान्तलाई व्यवहारमा उतार्न हरदम लागिपर्नुपर्दछ । माक्र्सवाद–लेनिनवादलाई मुलुकको भूधरातलीय यथार्थ र समाज विकासको स्तरका आधारमा रचनात्मक ढङ्गले लागूगर्नु पर्दछ । एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा हुनुपर्ने यी मुख्य गुण आज केपी ओलीले चलाएको एमाले गुटमा एउटा पनि छैन । त्यसैले केपी ओली गुट कम्युनिष्ट रहेन । केपी ओली गुटले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गिकार गर्ने मान्यता, कम्युनिष्ट पार्टी विधि पद्धतिमा चल्नुपर्दछ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनु पर्दछ भन्ने मान्यता तथा कम्युनिष्ट पार्टीमा जनसेवी चरित्र एवं जनपक्षीय आचरण र सभ्य संस्कार हुनुपर्दछ भन्ने मान्यता समेत केपी ओली गुटमा छैन । त्यसैले केपी ओली गुट जनताको बहुदलीय जनवादी पनि रहेन । त्यो अब व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्ड मात्र रह्यो । यस निष्कर्षका साथ एमालेभित्र रहेको क्रान्तिकारी पङ्क्तिलाई नयाँ ढङ्गले पुनर्गठित गरेर नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति काम गर्ने उद्देश्य राखेर हामीले विद्रोह गरेका हौँ ।  त्यसैले यो विद्रोह औचित्यपूर्ण र जायज छ । यसबाट नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकास गर्ने कार्यमा, कम्युनिष्ट पार्टी र आन्दोलनप्रति आम नेपाली जनतामा नयाँ आशा, विश्वास र ऊर्जा सिर्जना गर्ने कार्यमा र नेपाली समाजको आमूल परिवर्तन गर्ने कार्यमा ठूलो योगदान हुनेछ ।

वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति 
वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अबस्थामा रहेको छ । जन निर्वाचित प्रतिनिधिहरूबाट बनेको संविधान सभाद्वारा झण्डै एक दशक लगाएर मुलुकको संविधान निर्माण गरिएपछि भएको प्रथम आम निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टीको गठबन्धनलाई जनताको करिव दुईतिहाइ मत प्राप्त हुनु एउटा ठूलो ऐतिहासिक उपलब्धि थियो । त्यसका आधारमा अब मुलुकमा राजनीतिक स्थिरता कायम रहनेछ, देशमा सुशासन कायम हुनेछ र देश विकासको गति अगाडि बढ्नेछ भन्ने आशा आम जनतामा पलाएको थियो । तर, उक्त जनमत र दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो । जनताको आशामा तुषारपात भयो । केपी ओलीको कारणले नेकपाको एकता भाँडियो र उनकै कारणले नेकपा (एमाले) को एकता पनि तोडियो । परिणामस्वरूप संसदमा उनले बहुमत गुमाए । संसदमा बहुमत गुमाइसकेपछि पनि सरकारमा रहिरहने उनको सत्तालिप्सा र आफ्नो सरकार ढल्ने भएपछि असंवैधानिक ढङ्गले भए पनि प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक एवं प्रतिगामी कार्यले गर्दा मुलुक एक प्रकारको मुठभेडमा गयो । लोकतन्त्र र संविधानको रक्षार्थ सडक सङ्घर्ष र कानुनी लडाइँ गरेर प्रतिनिधि सभालाई बचाउने काम त भयो तर अभैm पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । एक प्रकारको अनिश्चितता र अन्योल कायमै छ । 

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान छन् । एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ । अर्को वाम लोकतान्त्रिक समिकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन् । वाम लोकतान्त्रिक समिकरणमा सामेल राजनैतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भएता पनि यिनीहरूले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरिरहेका छन् । यस मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता छ । अब हामी संघीय तथा प्रदेश सरकारहरूमा पनि सामेल हुने छौँ र त्यहाँबाट जनताको सेवा गर्ने प्रयास गर्नेछौँ । हामी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिने छौँ । हामी अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार र अपारदर्शीताको सख्त विरोधी रहने छौँ र नियमितता, सुशासन, शान्तिव्यवस्था, चुस्तदुरुस्तता, शिघ्रता, पारदर्शीता आदिमा पूर्ण प्रतिबद्ध रही यी मान्यताहरूलाई व्यवहारमा उतार्न पूर्ण इमानदारिताका साथ लागि पर्नेछौँ । 
 

हाम्रो पार्टीको गठन र वर्तमान अवस्था 
नेकपा (एमाले) मा केपी ओलीले हुर्काएको गुटबन्दी, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गरेर हामीले २०७८ भाद्र २ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गठन गरी २०७८ भाद्र ९ गते निर्वाचन आयोगबाट प्रमाण पत्र प्राप्त गरेका छौँ । केपी ओली गुटबाट गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयासलाई समेत परास्त गर्दै ऐतिहासिक विद्रोह सफल भएको छ र नेकपा (एकीकृत समाजवादी) विधिवत् दर्ता भएको छ । निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिनुका साथै संघीय संसद सचिवालयमा पत्र पठाएपश्चात् हामीले हाम्रो पार्टीको संघीय संसदीय दल गठन गरेका छौँ । प्रतिनिधि सभामा २४ र राष्ट्रिय सभामा ८ गरी जम्मा ३२ जना संघीय संसद सदस्य रहेको हाम्रो पार्टी संघीय संसदमा चौथो दल बनेको छ । हाम्रो संसदीय दलको नेतामा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपाललाई र राष्ट्रिय सभाको दल नेतामा स्थायी कमिटी सदस्य कमरेड डा.बेदुराम भुसाललाई चयन गरिएको छ । 

निर्वाचन आयोगले हाम्रो पार्टी दर्ता गरिसकेपछि साविक नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जन प्रतिनिधिहरूलाई दल रोज्नका निम्ति २०७८ भदौ १५ गतेदेखि २२ गतेसम्मको समय निर्धारण गरेको थियो । प्रदेश सभा सदस्यहरूले प्रदेश राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा र स्थानीय तहका जन प्रतिनिधिहरूले जिल्ला सदरमुकाम स्थित निर्वाचन आयोगको कार्यालयमा नागरिकताको प्रमाण पत्र र स्थानीय तहको पदमा निर्वाचित भएको प्रमाण पत्रसहित आफै उपस्थित भएर सनाखत गर्नु पर्ने थियो । तोकिएको समयावधिमा सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भई सुदुर पश्चिम प्रदेशका १४, वागमती प्रदेशका १३, प्रदेश २ का १३, प्रदेश १ का १०, कर्णाली प्रदेशका ३ र लुम्विनी प्रदेशका १ प्रदेश सभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) दलमा आबद्ध हुन सनाखत गर्नुभएको छ । केपी ओलीको अन्यायपूर्ण कार्बाहीमा पर्नुभएका कर्णाली प्रदेशका चार जना सदस्यहरूले पनि सनाखतको लागि प्रदेश निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । त्यसरी सनाखत भइसकेपछि निर्वाचन आयोगले सम्बन्धित प्रदेश सभा सचिवालयमा पत्र पठाई उपर्युक्त प्रदेश सभा सदस्यहरू नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएको जानकारी गराएपश्चात् सातमध्ये छओटा प्रदेशमा हाम्रो पार्टीका प्रदेश सभा दल गठन भएका छन् । हाम्रो पार्टी सुदुर पश्चिम प्रदेशमा पहिलो दल भएको छ भने प्रदेश २ मा समग्रमा चौथो तर केपी ओली गुटकोभन्दा ठूलो दल भएको छ । त्यसैगरी हाम्रो दल वागमती प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा चौथो र लुम्विनी प्रदेशमा पाँचौँ दल भएको छ । केपी ओलीले बिगत चुनाबमा एकलौटी ढङ्गले टिकट वितरण गरेको कारणले गण्डकी प्रदेशमा भने हाम्रो उपस्थिति हुन सकेन ।

स्थानीय तहमा जिल्ला समन्वय समिती प्रमुख …, उपप्रमुख ….र सदस्य … तथा नगरपालिका प्रमुख …, उपप्रमुख…., गाउँपालिका अध्यक्ष …, उपाध्यक्ष …., वडाध्यक्ष …, कार्यपालिका सदस्य …, वडासदस्य … गरी जम्मा … जनप्रतिनिधिहरू सम्बन्धित जिल्ला निर्वाचन आयोगमा उपस्थित भई सनाखत गरेर हाम्रो पार्टीमा आबद्ध हुनुभएको छ । 

पार्टी केन्द्रीय कमिटी, …. प्रदेश कमिटी, ….जिल्ला कमिटी गठन भएका छन् । पालिका तहमा कमिटी गठन गर्ने काम भैरहेको छ । पार्टी सम्बद्ध जनसङ्गठनहरू महिला, मजदुर युवा, विद्यार्थी, खेलकुद, र उत्पीडित जातीय सङ्गठनका केन्द्रीय कमिटी गठन भएका छन् र यी सङ्गठनका प्रदेश तथा स्थानीय कमिटी गठन गर्ने काम पनि भइरहेको छ । समाजवादी प्रेस सङ्गठन, नेपाल नामक नयाँ सङ्गठन पनि निर्माण भएको छ । यसरी हाम्रो पार्टी देशव्यापी र जनव्यापी रूपमा स्थापित हुँदै गएको छ । 
 

पार्टीका मुख्य सैद्धान्तिक अवधारणा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक दल हो । यो २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा स्थापित भई मुलुकको राष्ट्रियता, जनवाद र जनजीविकाको पक्षमा सङ्घर्ष गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको वर्तमान रूप हो । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि राख्दै आएको नेपाली समाजमा रहेका सामन्ती तथा दलाल नोकरशाही पुँजीवादी र साम्राज्यवादी शोषण, दमन एवं उत्पीडनको अन्त्य गरी जनवादी चरण हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिकलगायत सवै प्रकारका विभेदहरूको अन्त्य गरी समानतासहितको स्वतन्त्रता रहेको र आम जनता सुखी एवं समृद्ध भएको समाज अर्थात साम्यवादी समाजको स्थापना गर्ने लक्ष्य उद्देश्यहरू नै यस पार्टीका आम लक्ष्य उद्देश्य हुन् । यी लक्ष्य उद्देश्यहरूमध्ये केही मात्र प्राप्त भएका छन् र अभैm धेरै काम गर्न बाँकी छ । पार्टी ती सवै लक्ष्य प्राप्तिको सङ्घर्षमा डटिरहन प्रतिबद्ध छ । 

क्रान्तिका उपलब्धीहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने यस पार्टीको तात्कालिक लक्ष्य हो । यो पार्टी सबै खाले प्रतिकृयावाद, अवसरवाद र संकीर्णतावादका विरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीको कर्तब्य हुनेछ ।

नेकपा (एकीकृत समाजवादी) को मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो । यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबिच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । तर, माक्र्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो । त्यसैले यसको प्रयोग सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ । नेपालमा माक्र्सवाद प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो । यो पार्टी अग्रजहरूले प्रस्तुत गर्नुभएको माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारप्रति प्रतिबद्ध छ । आजको परिस्थितिमा माक्र्सवाद प्रयोगका पुराना मोडेलको अनुकरण गरेर होइन मुलुकको विशिष्ट परिस्थिति अनुरूपको विचार अँगालेर क्रान्तिकारी व्यवहार गरियो भने मात्र सफलताका साथ अगाडि बढ्न सकिन्छ । 

नेकपा (एकीकृत समाजवादी) जन आधारित कार्यकर्ता पार्टी हो । यसको सङ्गठनात्मक सिद्धान्त अर्थात पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हो । पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ । यो पार्टी नेता प्रधान होइन नीति प्रधान हुनेछ । पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्य पद्धति अवलम्बन गरिने छ । व्यक्ति कमिटीको मातहत रहने तथा अल्पमत बहुमतको मातहत रहने, बहुमतले अल्पमतको कदर गर्ने र तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति अवलम्बन गरिने छ । सबै पार्टी कमिटी र जनसङ्गठनहरू यही सङ्गठनात्मक सिद्धान्त र कार्यपद्धति अनुरूप सङ्गठित र परिचालित हुनेछन् । पार्टीको सार्वभौम अधिकार पार्टीका सङ्गठित सदस्यहरूमा निहीत रहनेछ र त्यसको प्रयोग पार्टी विधान अनुसार गरिनेछ । पार्टीका सवै कमिटीहरू समावेशी चरित्रका हुनेछन् । सबै पार्टी कमिटीमा युवालाई उचित स्थान दिइने छ । यस पार्टीका सबै सदस्यहरूले सामाजिक–आर्थिक तथा साँस्कृतिक रूपान्तरणका लागि उत्पादन संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षमा सामेल हँुदै विचार, सङ्गठन, संघर्ष र सिर्जनात्कताका क्षेत्रमा अग्रणी भूमिका खेल्नेछन् । उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन् । पार्टीका सम्पूर्ण सदस्यहरू मुलुकको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतत्वकासाथ अघि बढाउँदै नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्न जनआधारित, सुसङ्गठित, एकताबद्ध, अनुशासित, गतिशील र जुझारु हुनेछन् र अग्रगामी राजनीतिक भूमिका निर्वाह गर्दै अघिबढ्न दृढ संकल्पित रहने छन् । 

यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद हो । यस पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने मान्यता राख्दछ । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिकाजस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ र जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ । 

यस पार्टीले संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नेछ र राष्ट्रिय हितको संरक्षण एवं संवद्र्धनमा दृढतापूर्वक क्रियाशील रहने छ । यो पार्टी पारस्परिक समानता, सम्मान र हितका आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकीलगायत विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा दृढ छ । यस पार्टीको उद्देश्य राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर हँुदै राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्नु हो । यस पार्टीका सम्पूर्ण कृयाकलाप नेपाल र नेपाली जनताको सर्वाेपरि हितमा केन्द्रित हुनेछन् ।
 

हाम्रा विशेषताहरू:
आज मुलुकलाई समाजको अग्रगतिका निम्ति अभियान सञ्चालन गर्ने पार्टी चाहिएको छ । समाजलाई पुँजीवादी घेरामा कैदगर्ने होइन समाजवादी दिशामा अगाडि बढाउने पार्टी चाहिएको छ । व्यक्तिका इच्छा आकाङ्क्षमा चल्ने होइन विचारका आधारमा चल्ने अर्थात व्यक्तिवादी होइन विचारवादी पार्टी चाहिएको छ । भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तवादजस्ता विकृति विसङ्गतिहरूका विरुद्ध सङ्घर्ष गर्ने पार्टी चाहिएको छ । समाजमा विद्यमान विभिन्न प्रकारका विभेद, कुरीति र कुसंस्कारहरूको अन्त्यका निम्ति अभियान चलाउने पार्टी चाहिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यिनै आवश्यकता पुरागर्ने पार्टी हुनेछ । यो पार्टी स्पष्ट समाजवादी कार्यदिशा अँगालेको पार्टी हुनेछ । स्पष्ट नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढङ्गले चल्ने पार्टी हुनेछ । नेता प्रधान होइन नीति प्रधान हुनेछ । व्यक्तिवादी होइन विचारवादी हुनेछ । यसले भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तवादलगायत सबैखाले विकृति विसङ्गतिका विरुद्ध सङ्घर्ष सञ्चालन गर्नेछ । समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक सांस्कृतिकलगायत सबैखाले विभेदको अन्त्यका निम्ति अभियान सञ्चालन गर्नेछ । राजनीतिक जागरण अभियान र जनजागरण अभियान सञ्चालन गर्नेछ । यी सबै कार्यमा युवाहरूलाई परिचालित गरिने छ र त्यसको माध्यमबाट युवाहरूको नेतृत्व विकासमा पहल गरिने छ । यो पार्टी केवल चुनावदेखि चुनावसम्मको मान्यतामा चल्ने पार्टी हुनेछैन,जनतादेखि जनतासम्मको जनकेद्रित नीति लिएर जनताबिच जाने जन आधारित पार्टी हुनेछ ।
        
संगठनका क्षेत्रमा युवाहरूलाई अगाडि बढाउन ‘अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा’ नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म नै ‘वरिष्ठ कम्युनिष्ट परिषद्’ गठनगरी अभिभावकत्व र कार्य सम्पानलको व्यवस्थित प्रणाली निर्माण गरिने छ । पार्टीका हरेक कमिटीमा उल्लेख्य संख्यामा युवाहरूलाई राखिने छ । प्रत्येक तहमा जिम्मेवारी दिने, कामको मुल्यांकन गर्ने र पदोन्नति गर्ने वैज्ञानिक पद्धतिको निर्माण गरी अवलम्वन गरिने छ । 
राजकीय जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा प्रत्येक तहका निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बन्ने स्पष्ट मापदण्ड तयार गरी सोही आधारमा उम्मेद्वार वनाइने छ । पार्टी कमिटीले आन्तरिक रूपमा व्यवस्थित मापदण्ड बनाई प्रत्येक जन निर्वाचित पदाधिकारीको कार्य प्रगति र प्रभावकारिता मूल्याङ्कन गर्नेछ । त्यस मूलयाङ्कनलाई निश्चित तहसम्म सार्वजनिक गरिने छ ।

राजनीतिक तथा अन्य नियुक्तिहरू निश्चित मापदण्ड र प्रणाली अपनाई योग्यतामा आधारित, व्यवस्थित र पारदर्शी बनाईने छ । राजनीतिक तथा अन्य नियुक्ति प्राप्त गर्ने व्यक्तिहरूको पनि आन्तरिक रूपमा व्यवस्थित मापदण्ड बनाई कार्य प्रगति र प्रभावकारिता मूल्याङ्कन गरिने छ । त्यस मूल्याङ्कनलाई निश्चित तहसम्म सार्वजनिक गरिने छ । 

पार्टीलाई उत्पादन कार्यसँग जोडिने छ । निश्चित सङ्ख्याका पूर्णकालिनबाहेक सबै पार्टी सदस्यलाई उत्पादन कार्यमा अनिवार्य रूपले जोड्ने नीति अवलम्वन गरिने छ । 

प्रत्येक कमिटीले आर्थिक परिचालन र व्यवस्थापनका स्पष्ट योजना बनाएर चल्ने प्रणली स्थापित गरिने छ । वार्षिक योजना सहितको बजेट तयार गरी कमिटीको बैठकबाट पारित गर्नुपर्नेछ । विशेष कार्यक्रम तथा अभियानको पनि बजेट निर्माण गरी खर्च गर्ने र कमिटीबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरिने छ । 

प्रत्येक कमिटिल पार्टी स्कूल तथा प्रशिक्षण अभियान चलाउने प्रणाली स्थापित गरिने छ । प्रत्यक कमिटीले वर्षमा कम्तिमा दुई पटक पार्टी स्कूल÷प्रशिक्षण सञ्चालन गर्नुपर्ने छ । पार्टी स्कूल÷प्रशिक्षणमा सैद्धान्तिक बैचारिक विषयका अतिरिक्त उद्यमशीलता विकास, उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय पुँजीको विकास, भ्रष्ट्राचार निवारण, सुशासन तथा जनसरोकारका बिषयहरू समेत समावेश गरिने छ । 

प्रत्येक कमिटीलाई जनउत्तरदायी बनाउन पार्टीको तर्फबाट एक स्थानीय तह एक जनसहजकर्ता तयार गरी आवश्यक तालिम तथा प्रशिक्षण दिएर टोल फ्री नम्बर सहित जनताको सेवामा परिचालन गरिनेछ ।

हाम्रो मुख्य कार्यदिशा र कार्यभार
क्रान्तिको कार्यदिशा समाजको तात्कालिक चरित्रका आधारमा निर्धारित हुन्छ । सात दशकदेखि विभिन्न ढङ्गले चल्दै आएका जनआन्दोलन र जनसङ्घर्षको प्रहारबाट कम्जोर बन्दै गएको सामन्ती राजतन्त्रलाई २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा अन्त्य गरेर समानुपातिक समावेसीता र धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै नेपाली समाजको आधारभूत चरित्रमा परिवर्तन भएको छ र नेपाली क्रान्ति एउटा चरण पार गरी अर्को चरणमा प्रवेस गरेको छ । २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिपश्चात् नेपाली समाजको चरित्रमा आएको परिवर्तन र क्रान्तिको मूल कार्यदिशाबारे तत्कालीन नेकपा (एमाले)को नवौ राष्ट्रिय महाधिवेशनले गरेको विश्लेषण आधारभूत रूपमा सही छ । हामी त्यही विश्लेषणमा आधारित भएर अगाडि बढ्दै समाजवादी क्रान्तिको कार्यदिशा अवलम्बन गर्नेछौँ र समाजवादको यात्रामा अगाडि बढ्ने छौँ ।

वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ यद्यपि समाजमा सामन्तवादका केही अवशेषहरू भने विद्यमान छन् । अहिले नेपाली समाजमा विद्यमान शोषणको मूलरूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ । यतिबेला नेपाली समाजमा रहेका समाजवादी क्रान्तिका पक्षधर शक्ति र त्यसका विरोधी शक्तिहरूबिचको अन्तर्विरोध समाजको प्रधान अन्तर्विरोध बन्न पुगेको छ । यस प्रधान अन्तर्विरोधको हल गर्नका निम्ति समाजवादी क्रान्तिका विरोधी शक्तिहरूमाथि प्रहार केन्द्रित गर्दै समाजवादको दिशामा अगाडिबढ्नु यतिबेलाको हाम्रो मुख्य कार्यदिशा हो । हाम्रो अबको गन्तव्य वैज्ञानिक समाजवाद हो । त्यो समाजवाद लोकतान्त्रिक मूल्य मान्यतासहितको र समावेसी चरित्रको हुनेछ । 

दलाल नोकरशाही पूँजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्नु र सामन्तवादको अवशेषका रूपमा रहेका आर्थिक शोषण, कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति आर्थिक–सामाजिक–साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु यस पार्टीका तात्कालिक मुख्य कार्यभार हुन् । यो पार्टी आजसम्मका जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ र नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ । 

हाम्रा तात्कालिक कार्यभारहरू
हरेक क्रान्तिकारी आन्दोलनको तात्कालिक मूल कार्यदिशा अनुरूप तात्कालिक कार्यभारहरू रहेका हुन्छन् । तात्कालिक कार्यभारहरू मुख्यतः वैचारिक, राजनीतिक र साङ्गठनिक प्रकृतिका हुन्छन् । हाम्रा यी वैचारिक, राजनीतिक र साङ्गठनिक कार्यभारहरूको विस्तृत व्याख्या निकट भविष्यमा आयोजना गरिने पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेजहरूमा गरिने छ । तत्कालका लागि तिनीहरू निम्न प्रकार हुनेछन्:
वैचारिक: आजको हाम्रो एउटा महत्वपूर्ण कार्यभार नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु । आज नेपाली कम्युनिष्ट आन्दोलनमा जुन गलत विचार र विकृति विसङ्गति पैmलिएको छ त्यसलाई परास्त नगरी कम्युनिष्ट आन्दोलनको रक्षा हुन सत्तैmन । गलत विचार र विसङ्गतिलाई परास्त गर्ने वैचारिक सङ्घर्षबाट नै हो । वैचारिक सङ्घर्ष भनेको अध्ययन, बहस, छलफल आदि कार्य सञ्चालन गर्नु हो । त्यसैले यतिबेलाको हाम्रो वैचारिक कार्यभार व्यापक रूपमा राजनीतिक तथा सैद्धान्तिक अध्ययन र प्रशिक्षण सञ्चालन गर्नु हो । त्यसका निम्ति पार्टीका दस्तावेजहरूको साथै विभिन्न प्रकारका अध्ययन सामग्री तयार गर्ने, नियमित रूपमा पार्टी स्कूल सञ्चालन गर्ने, पार्टीले अगाडि सार्ने नीतिगत विषयका दस्तावेजहरूउपर विभिन्न ढङ्गले छलफल चलाउने, विभिन्न प्रकारका अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने र सहभागीहरूबाट सुझाव लिने आदि कार्य गरिने छ । केपी ओली गुटले पैmलाएका भ्रमलाई चिर्ने र त्यस गुटले गरेका राष्ट्रविरोधी, जनविरोधी र लोकतन्त्र विरोधी क्रियाकलापहरूको भण्डाफोर गर्ने अर्को एक महत्वपूर्ण वैचारिक कार्यभार हुनेछ । 

समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई हटाउन सामाजिक सचेतना अभियान सञ्चालन गरिने छ । जातीय विभेद, छुवाछुतजन्य व्यवहार, महिला हिंसाजस्ता कुकृत्यका विरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यमा पार्टीले अगुवाइ गर्ने छ । सन्देशमूलक नाटक, गीत, कविताजस्ता साहित्यको माध्यमबाट पनि अन्धविश्वास, कुरीति र विकृति विसङ्गतिका विरुद्ध अभियान चलाइने छ ।  

राजनीतिक: नेपाली जनताको कष्टसाध्य सङ्घर्षद्वारा स्थापित लोकतन्त्रको रक्षा गर्नु र यसलाई विकसित गर्दै समाजवादको दिशामा अगाडि बढाउनु यतिबेलाको हाम्रो मुख्य राजनीतिक कार्यभार हो । त्यसका निम्ति नेपाली जनताले आफ्ना प्रतिनिधिहरू मार्पmत आपैm बनाएको संविधानको रक्षा र पूर्ण कार्यान्वयन हुनुपर्दछ । हामी त्यस कार्यमा पूर्ण निष्ठाकका साथ प्रयत्शील रहने छौँ । 

राजनीतिमा व्याप्त भ्रष्टता, नातावाद, कृपावाद, दलाली, राजनीतिक पदहरूको खरिद बिक्री आदि कारणले आम रूपमा राजनीतिप्रति वितृष्णा र विकर्षण फैलिएको छ । यो वितृष्णा र विकर्षणलाई हटाएर राजनीतिलाई शुद्ध पार्नका निम्ति भ्रष्टाचार, कुशासन, दलाली, कमिशनतन्त्र, नातावाद, कृपावाद आदि गलत कार्यका विरुद्ध राजनीतिक जागरण अभियान सञ्चालन गर्नु आवश्यक छ । देशको सचेत युवा पंक्तिलाई संलग्न गराएर राजनीतिक सचेतना र शुद्धिकरण अभियान सञ्चालन गरिने छ । युवाहरूलाई पार्टीका विभिन्न तहमा जिम्मेवारी दिएर युवा नेतृत्व विकास गर्ने र राजनीतिमा युवाहरूको सकृय सहभागिता मार्पmत राजनीतिक शुद्धिकरण अभियान सञ्चालन गरिने छ । त्यस अभियानले देशको दुषित राजनीतिक वातावरणलाई शुद्ध पार्नका निम्ति र हाम्रा आफ्नै गलत आचार व्यवहारलाई शुद्ध पार्नका निम्ति समेत योगदान गर्नेछ । 

अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो । वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो । छिमेकी तथा सवै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नु पनि यतिबेलाको अर्को एक महत्वपूर्ण राजनीतिक कार्यभार हो ।

राजनीतिक क्षेत्रमा आएको परिवर्तन अनुरूप आर्थिक सामाजिक क्षेत्रमा परिवर्तन नहुँदा व्यवस्था बदलिए पनि देश बदलिएन भन्ने भान परेको छ । यसको संवोधनका निम्ति आर्थिक सामाजिक रूपान्तरणका अभियान सञ्चालन गर्नु आवश्यक छ । त्यस अभियानको अगुवाइ हामीले गर्नुपर्दछ, गर्नेछौँ । देशभित्र रोजगारीका अवसर नहुदा ठूलो सङ्ख्यामा मुलुकको विज्ञ युवा शक्ति विदेश पलायन भैरहेको छ । मुलुकको युवा शक्तिलाई देशभित्रै रहेर विकास अभियानमा सरिक हुने वातावरण सिर्जना गर्नु आवश्यक छ । धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गरेर मात्र त्यो आवश्यकता पूरागर्न सकिने छ । रोजगारीका अवसर सिर्जना गर्न मुलुकमा ठूलठूला परियोजनाहरू सञ्चालन गर्नु आवश्यक छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दाको स्थापना र कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नका निम्ति अभियान चलाइने छ । कृषि उत्पादनको बिक्रीको प्रत्याभूति गरिने छ र यसका लागि आवश्यक योजना बनाइने छ । व्यापक रूपमा सहकारी अभियान चलाइने छ । स्वरोजगार सिर्जनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने छ । प्रबासमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पुँजीलाई राष्ट्रिय विकासको अभियानमा परिचालन गरिने छ । पार्टीले त्यस्ता अभियानको राजनीतिक नेतृत्व गर्नेछ । स्वयम् युवाहरूलाई सम्लग्न गराएर त्यस प्रकारका अभियान सञ्चालन गरिने छ । जलवायु परिवर्तन, जैविक असन्तुलन तथा वातावरणीय प्रदुषणका विरुद्ध जनचेतना अभिवृद्धि अभियान चलाइने छ ।

साङ्गठनिक: यतिबेलाको हाम्रो साङ्गठनिक कार्यभार कम्युनिष्ट पार्टीको पुनर्गठन र रूपान्तरण गर्नु हो । निकट भविष्यमै पार्टीको राष्ट्रिय सम्मेलन गरेर त्यस कार्यलाई अगाडि बढाइने छ । अहिले चालु रहेको पार्टी कमिटीहरूको गठन तथा पुनर्गठन कार्यलाई केही समयसम्म अभियानकै रूपमा चलाइने छ । पार्टी सदस्यता वितरण अभियान चलाइने छ । कमिटीहरूको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियान आधारभूत रूपमा सम्पन्न भैसकेपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्दै अगाडि बढिने छ । पार्टी सम्बद्ध जनवर्गीय सङ्गठन, पेसागत सङ्गठन, सामुदायिक सङ्ठन र प्रबासी सङ्गठन निर्माण कार्य पनि तीब्र गतिमा अगाडि बढाइने छ ।

व्यक्तिवाद आज पार्टीहरूमा रहेको एउटा गम्भीर नकारात्मक प्रवृत्ति हो । पार्टीलाई विधि पद्धतिका आधारमा संस्थागत ढङ्गले नचलाई नेताको व्यक्तिगत चाहनाको आधारमा स्वेच्छाचारी ढङ्गले चलाउने कार्यशैलीले गर्दा पार्टीलाई व्यक्तिका निजी कम्पनी जस्तो बनाएको छ । यस्तो स्थितिको अन्त्य हुनैपर्दछ । त्यसका निम्ति पार्टीलाई नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढङ्गले चलाउने कार्यशैली स्थापित गर्नुपर्दछ । हामीले त्यो कार्यशैली स्थापित गर्नेछौँ र व्यवहारमै फरकपन देखाउने छौँ । 

पार्टीलाई देशभक्त एवं स्वाभिमानी राजनीतिक शक्तिको रूपमा स्थापित गरिने छ । आजसम्मका सवै उपलब्धिहरूको रक्षागर्ने लोकतन्त्र, समाजवाद र राष्ट्रको पहरेदार शक्तिका रूपमा स्थापित गरिने छ । श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने क्रान्तिकारी पार्टीका रूपमा पुनस्थापित गरी गतिशील ढङ्गले सञ्चालन गरिने छ । पार्टीमा मौलाएर आएको चरम विकृति र विङ्गतिलाई हटाइने छ । पद, प्रतिष्ठा, निजी स्वार्थमा तल्लिन र परमुखापेक्षी होइन निस्वार्थी, आत्मनिर्भर, जनसेवी, लोकतन्त्र र समाजवादप्रति समर्पित कार्यकर्ता पंक्ति तयार गरिने छ । 

सङ्गठन निर्माण र परिचालन गर्दा आर्थिक पक्षको पनि महत्वपूर्ण भूमिका हुने भएकाले पार्टीको आर्थिक कोष निर्माणका लागि आर्थिक सहयोग सङ्कलन अभियान चलाइने छ । हाम्रो पार्टी सञ्चालनको मुख्य आर्थिक आधार कार्यकर्ताबाट उठाइने लेवी तथा सदस्यता शुल्क र समर्थक, सुभेच्छुक तथा आम जनताबाट उठाइने स्वेच्छिक सहयोग एवं जनस्तरमै सञ्चालन गरिने विशेष आर्थिक सहयोग हुनेछ । पार्टी लेवी र सदस्यता शुल्क नियमित गरिने छ । आर्थिक स्वच्छता र पारदर्शीता नहुनु पार्टीहरूमा रहेको अर्को एक कम्जोर पक्ष हो । हामीले यस कम्जोर पक्षलाई रहन नदिन आर्थिक नियम र अनुशासनको पालन गर्दै स्वच्छ एवं पारदर्शी ढङ्गले आर्थिक कारोबार सञ्चालन गर्नेछौँ । पार्टीका हरेक कार्यक्रम र गतिविधि मितव्ययी ढङ्गले सञ्चालन गर्ने छौँ । पार्टीका हरेक नेता तथा कार्यकर्तालाई सादा जीवन र उच्च विचारको जीवनशैली अपनाउन लगाइने छ । 

अन्त्यमा

आज हामी अत्यन्त संवेदनशील अवस्थामा छौँ । नेपाली कम्युनिष्ट आन्दोलनलाई अहिले व्यक्तिवादी अहंकारवाद, निरङ्कुश एवम् स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको महारोगले गाँजेको छ । क्रान्तिका उपलब्धीहरू गुम्नसक्ने खतरा पनि नेपाली राजनीतिक आकासमा मडारिदो छ । नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र रूपान्तरण गरेर नेपालको कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्तिका उपलब्धीहरूको रक्षा गर्दै तिनीहरूलाई अझ अगाडि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । व्यक्तिवादी अहंकारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध तीखो वैचारिक सङ्घर्ष सञ्चालन गरेर मात्रै हामीले यो दायित्व पुरागर्न सक्ने छौँ । हाम्रो आन्दोलनमा विगतमा पनि कैयन पटक यस्तै कठिन अवस्था उत्पन्न भएका थिए र हाम्रा अग्रजहरूले कठोर सङ्घर्ष गरेर आन्दोलन र क्रान्तिको रक्षा गरेका थिए । आउनुहोस्, हामीले पनि हाम्रो काँधमा आएको यस गहन दायित्वलाई हातमा हात र काँधमा काँध मिलाई वहन गर्न संकल्पबद्ध भएर अगाडि बढौं । सफलता निश्चित छ । क्रान्तिकारी अभिवादन सहित ।

 धन्यवाद ।