नारायणकाजी र गिरिराजमणिका कारण मधेशमा पत्तासाफ भयो माओवादी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नारायणकाजी र गिरिराजमणिका कारण मधेशमा पत्तासाफ भयो माओवादी



वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता गिरिराजमणि पोखरेलका कारण माओवादी केन्द्रले यसपटक मधेश प्रदेशमा पत्तासाफ हुनुपरेको छ । मातृका यादवलाई पटक्कै मन नपराउने गिरिराज प्रचण्डको समेत सुझाव मान्दैनन । मधेशमा माओवादीको अवस्था बिग्रनेबारे प्रचण्डले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गिरिराजसँग छलफल समेत गरेका थिए ।

तर उनीहरूले पार्टीलाई गरेको गलत रिपोर्टका कारण मधेसमा नेकपा माओवादी केन्द्र निल हुन पुगेको छ । नारायणकाजी र गिरिराजमणि माओवादीभित्रको अर्को समूहलाई रोक्न पहिलेदेखि नै उद्धत थिए । अर्को समूहलाई छेक्ने उनीहरूको रणनीतिकै कारण माओवादीले मधेसमा नमीठो पराजय चाखेको छ ।

अहिले मात्र होइन माओवादीको मधेश राजनीतिमा नारायणकाजीले अस्वाभाविक चासो राख्ने गरेका छन् । गत स्थानीय तहको चुनावमा पनि नारायणकाजी र गिरिराजमणि अस्वस्थ राजनीति गरेकैले माओवादीलाई ठूलो धक्का लागेको थियो ।

माओवादीका नेता मात्रिका यादवको राजनीति सकाउने अभियान नै चलाएका यी दुई नेताले आन्तरिक झगडा मच्चाएको माओवादीकै नेताहरू बताउँछन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले झगडा साम्य पार्न निकै कोशिस गरेका थिए । उनीहरूकै कारण मधेसका ३२ सिटमा माओवादी अहिले पनि निल भएको छ ।

प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद बनेका छन् । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा यादवमात्रै निर्वाचित भए । सर्लाही २ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन् । रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गरे ।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भए । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा एमाले नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए ।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उनी डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् । पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिएका थिए ।