मध्यविन्दु नगरपालिकाका ज्येष्ठ नागरिकहरूले अब घरमै स्वास्थ्य सेवा पाउने - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

मध्यविन्दु नगरपालिकाका ज्येष्ठ नागरिकहरूले अब घरमै स्वास्थ्य सेवा पाउने



मध्यविन्दु नगरपालिकाका मेयरले जनतासँग गरेको प्रतिवद्दता अनुसार ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेका छन् ।

चालू आर्थिक बर्षको नीति कार्यक्रममा समावेश गरेको ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम नगर भित्रका १५ वटै वडामा एकसाथ सञ्चालन गरिएको हो ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले जनतासँग प्रतिबद्धता गरेअनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्य परीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटाएको बताए ।

नगरसभाबाट पारित भएको चालु आर्थिक बर्षको नीति कार्यक्रम अनुसार प्रत्येक महिना घरघरमा निशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम बुधवार देखि सुरूवात गरि नगरभित्रका १५ वटै वडामा एकसाथ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताए ।

प्रमुख प्रशासकिय अधिकृत खनालले भने, ‘हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौं। स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौं।’

अब प्रत्येक महिना जेष्ठ नागरीकको घरघरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गर्ने बताइएको छ । पहिलो चरणमा सवै जेष्ठ नागरीकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधीको विवरण लगाएतका तथ्याङक संकलन गरिने प्रमुख प्रशासकिय अधिकृत खनालले बताएका थिए ।