बाबुराम र नारायणकाजीको ‘महाभारत’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बाबुराम र नारायणकाजीको ‘महाभारत’



काठमाडौँ ।

वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई कांग्रेससँग तालमेल गरेर अन्तत: गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । अब उनको प्रतिस्पर्धा पूर्व ‘सहयात्री’ नारायणकाजी श्रेष्ठसँग हुनेछ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट श्रेष्ठ उम्मेदवार बनेका छन् । दुवै नेताका लागि चुनाव ‘अग्निपरीक्षा’ हुनेछ ।

लोकतान्त्रिक गठबन्धनबाट भट्टराई र वाम गठबन्धनबाट श्रेष्ठ चुनावमा भिडेपछि गोरखा २ ले सबैको ध्यान खिचेको छ । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिँदै छ । माओवादीमा रहँदा दुवै नेता पार्टी उपाध्यक्ष थिए । एउटै पार्टीमा रहँदासमेत दुई नेताबीच मतभेद रहँदै आएको थियो ।

कुनै समय एउटै पार्टीमा एकै हैसियतमा रहेर छुट्टिएका नयाँ शक्ति संयोजक भट्टराई र माओवादी शीर्ष नेता श्रेष्ठ एउटै निर्वाचन क्षेत्रमा चुनाव भिड्ने भएपछि गोरखाको चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ । वाम गठबन्धनको औचित्य पुष्टि गर्न आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए । ‘गोरखा कम्युनिस्ट किल्ला हो, त्यसलाई जोगाएर वामपन्थीहरूको बहुमतको सरकार बनाउन चुनावमा उठेको हुँ,’ मनोनयन दर्तापछि उनले सञ्चारकर्मीसँग भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रवादी र कम्युनिस्ट मिलेर मुलुकमा शान्ति र समृद्धि ल्याउन कांग्रेससँग तालमेल गर्नुपरेको बताए । ‘गोरखाबाट नयाँ प्रयोग सुरु गरेका हौं,’ उनले भने, ‘कांग्रेस र नयाँ शक्तिको चुनावी गठबन्धनले विश्वको ध्यान खिचेको छ ।’ ०६४ र ०७० का संविधानसभा निर्वाचनमा क्रमश: क्षेत्र नम्बर १ र २ बाट विजयी भएका भट्टराईले पुरानो विरासत जोगिने दाबी गरेको खबर आजको कान्तिपुरमा छ ।