फूटपाथ व्यापारीसँग अवैध पैसा असुल्दै काठमाडौँ महानगरका कर्मचारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फूटपाथ व्यापारीसँग अवैध पैसा असुल्दै काठमाडौँ महानगरका कर्मचारी



काठमाडौँ महानगर प्रहरीको फूटपाथ व्यापारीसँग मोलमोलाइ

काठमाडौं- दशैंको मौका पारेर काठमाडौँ महानगरपालिकाका कर्मचारी र प्रहरीले फूटपाथ व्यवसायीसँग पैसा असुल्ने गरेका छन् । बानेश्वर क्षेत्रमा साँझ ५ बजेपछि राखिने तरकारी, कपडा, सेकुवालगायत अन्य व्यापारीसँग प्रहरी र कर्मचारीले गोप्य रूपमा पैसा असुल्ने गरेका हुन् ।

पैसा असुल्न महानगर प्रहरीका केही जवान सादा पोशाकमा खटाइएका छन् भने कहिलेकाहीं महानगरपालिकाकै कर्मचारीहरू आउने त्यहाँका व्यापारीहरू बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा मोमो र ससेज व्यापार गर्ने एक व्यापारीले भने – ‘सरहरू (कर्मचारी) यता आइरहनु हुन्छ । उहाँहरूले माग्नु त हुँदैन, तर हामी आफैंले जानेर अलिअलि दिएर पठाउँछौं ।’

उनले पैसा असुली गर्ने मान्छे प्रहरी हो कि कर्मचारी हो भन्ने आफूलाई थाहा नभएको बताए । कहिलेकाँही मान्छे फेरिएर पनि आउने रहेछन् ।
गत सोमवार साँझ करीब ६ बजे ती व्यापारीले पैसा उठाउने मान्छे वरपर नै भएको दाबी गरे । ‘अघि भर्खर यहीं हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले उ त्यहाँ पल्लो पसलमा हुनुहुन्छ । जानुभयो भने भेट्नुहुन्छ ।’

अनौपचारिक पोशाकमा केही पर भेटिएका ती ‘असुली’ कर्मचारीलाई ‘नमस्कार हामी पत्रकार हौँ’ भन्दै परिचय दिएपछि उनी केही नबोली कुलेलम ठोकेका थिए ।

नगरप्रहरीले यसअघि साँझ ७ बजेपछि मात्र फूटपाथ व्यापारीलाई आफ्नो सामान बेच्न छुट दिएको थियो । तर भदौ यता भने फूटपाथ व्यापारीहरूले ५ बजेदेखि नै ठेला र साइकल लिएर बाटो कब्जा गर्ने गरेको एक शटर व्यवसायी बताउँछन् ।

शटर व्यवसायी झम्क चौलागाईं भन्छन् – ‘पहिला पहिला ७ बजेपछि मात्र फूटपाथमा व्यापार गर्न दिन्थ्यो नगर प्रहरीले । अहिले भने ५ बजेतिर बाट नै उनीहरूको व्यापार शुरू हुन्छ । हामी शटरमा महँगो भाडा तिरेर व्यापार गर्नेहरू निकै अप्ठेरोमा परेका छौं ।’

आफूलाई भारतको मोतिहारी घर भएको बताउने एक स्याउ व्यापारीले पनि कहिलेकाहीं पैसा बुझाएको स्वीकारे । ‘सरहरू कहिले काहीं आउनुहुन्छ र खै भन्नुहुन्छ । हामी अलिअलि पैसा दिएर पठाउँछौं ।’

पैसा नै दिएर भएपनि चाडबाडका बेला ५ बजेदेखि नै व्यापार गर्न पाउँदा आफूलाई अलिअलि फाइदा भएको ती व्यापारीले बताए ।

‘२/३ सय पैसा दिएर के भो र,’ उनले भने, ‘अलिअलि हाम्रो पनि व्यापार भएको छ ।’ आफ्नो नाम भने बताउन उनी तयार भएनन् ।
तर काठमाडौँ नगर प्रहरी भने यसरी असुली गर्ने गरिएको दाबीसँग सहमत छैन । विशेष गरेर बानेश्वर क्षेत्रमा झन् कडा गरिएको नगर प्रहरीका डीएसपी मनोज लामिछाने बताउँछन् ।

लामिछानेले बानेश्वर क्षेत्रमा कुनै असुली नभएको दाबी गरे । उनी हप्तादिनदेखि विदामा बसेका रहेछन् । अहिले इन्स्पेक्टर केशरकुमार भट्टराईले फूटपाथ हेरिरहेका छन् ।

‘यति बजेदेखि फूटपाथमा व्यापार गर्न पाउने भन्ने ठ्याक्कै कुनै नियम छैन तर सामान्य रूपमा हाम्रो छुट्टी ७ बजेबाट हुने हुनाले त्यतिबेलादेखि केही समय उनीहरूले आफ्नो पसल राख्ने गर्छन्,’ डीएसपी लामिछानेले भने ।

काठमाडौँको कुनै पनि क्षेत्रमा अवैध ढंगले असुली गरेर फूटपाथमा व्यापार गर्न नदिइएको लामिछानेको दाबी छ । ‘अहिलेसम्म त्यस्तो भएको मैले थाहा पाएको छैन,’ उनले भने, ‘अब केही भएको रहेछ भने म विदाबाट फर्केपछि हेर्छु ।’