काठमाडौंमा सवारी सुबिधामा कडाई, कर्मचारीले सवारी साधन पाउन अब नयाँ मापदण्ड - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काठमाडौंमा सवारी सुबिधामा कडाई, कर्मचारीले सवारी साधन पाउन अब नयाँ मापदण्ड



काठमाडौं- काठमाडौं महानगरपालिकाका कर्मचारीले सरकारी सवारी साधन प्रयोगमा कडाई गर्ने भएको छ । महानगरले सरकारी कर्मचारी चढ्ने सवारीको सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने भएपछि यसमा कडाई गरिने भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाका हलुका सवारी साधनलाई कार्य सम्पादनको आधारमा व्यवस्थापन गर्न सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिकाका सवारी साधन र इन्धनको चरम दुरुपयोग हुने गरेको एक अध्ययनले देखाएको थियो । यतिसम्म कि महानगरसँग आफ्नो स्वामित्वमा कति सवारी छन् र कसले उपयोग गरिरहेको छ भन्ने तथ्यांक समेत छैन ।

सवारी साधन व्यवस्थापन, सुविधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकताबारे अध्ययन गर्न कार्यपालिका बैठकले १७ मंसिर २०७७ वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले तीन महिना लगाएर गरेको अध्ययन प्रतिवेदनअनुसार महानगरका सवारी र इन्धनको व्यापक दुरुपयोग भएको पाइएको छ । साथै, यसमा महानगरका विभागीय प्रमुखदेखि तल्ला तहसम्मका कर्मचारी संलग्न भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

कतिपय विभागीय प्रमुखले दुई वटा गाडी प्रयोग गरिरहेको पाइएको छ । कतिपय गाडीमा सेतो नम्बर प्लेट नराखी रातो राखिएको पाइएको छ, जुन कर्मचारीको परिवार तथा आफन्तले प्रयोग गर्ने गरेका छन् ।