बिद्यासुन्दरका कुरा मात्रै, "हात लाग्यो सुन्ना" - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बिद्यासुन्दरका कुरा मात्रै, “हात लाग्यो सुन्ना”



भदौ २३, काठमाडौं :

जनप्रतिनिधिको नेतृत्वमा आएपछिको सय दिनमा काठमाडौं महानगरले महत्वपूर्ण कामै सम्पन्न गर्न सकेको छैन । २० वर्षको रिक्ततापछि जेठ १७ गते महानगरको नेतृत्व लिएका जनप्रतिनिधिको बिहीबार सय दिन पुगेको छ ।

सय दिनमा एक सय एक काम गर्ने घोषणा गरेका उनीहरूले २४ घन्टे जीवन्त सहर, स्मार्ट सिटीलगायत मुख्य काममै कुनै प्रगति गर्न सकेनन् । यसबीच, २४ घन्टे ‘जीवन्त सहर’ को कामका लागि नगर कार्यपालिकाबाट निर्णय मात्र भएको छ । स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने म्युनिसिपल ब्रोडब्यान्डको स्थापना गरी काम थाल्ने भनिएकोमा कार्ययोजना नै तयार भएको छैन ।

‘होम एड्रेसिङ सिस्टम’ व्यवस्थित गर्ने भनिए पनि काम अघि बढ्नै सकेन । डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज बनाउन आचारसंहिता लागू गर्ने भनिएकोमा छलफल मात्र भइरहेको छ । बागबजारस्थित भक्तपुर बसपार्कको नयाँ व्यवस्थापन गर्ने भनिए पनि योजनामै सीमित छ । पुरानो बसपार्कमा प्रस्तावित काठमाडौं टावर निर्माण कार्य यसै अलपत्र छ ।

‘हाइड्रोजन फ्युल’ को सम्बन्धमा सम्भावना अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्ने भने पनि छलफलमै सीमित छ । तीनकुनेको जग्गा समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण कार्य थाल्ने भनिएकोमा अघि बढ्न सकेको छैन । ‘इन्टरनेसनल आर्ट एन्ड कल्चरल हब’ निर्माणको थालनी गर्ने भनिए पनि अवधारणापत्र तयार हुँदै गरेको मात्र देखिन्छ ।

भोट माग्दा सय दिनमा एक सय एक काम गर्ने प्रतिबद्धता जनाएका मेयर विद्यासुन्दर शाक्यले सय दिनको अवधिमा ३३ वटा काम मात्र गर्न सकेको बताएका छन् । उनले भने, ‘सय दिनमा एक सय एक काम तत्काल सम्भव नभए पनि नीतिगत निर्णय गरी प्रक्रिया सुरु गरिसकेका छौं । जेठ १७ गते काम थालेपछि असारसम्मको बजेट विनियोजन भइसकेको, स्थानीय तह सञ्चालन ऐन नबनेको र संविधानमा तोकिएका तहका २२ अधिकारको प्रस्ट व्याख्या नभएकाले सबै काम गर्न सकिएन ।’

मेयर शाक्यले कतिपय काम सोचेभन्दा थप र महानगरभन्दा बाहिरको पनि गर्नुपरेको जानकारी दिए । जनप्रतिनिधिको सय दिनबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा उनले भने, ‘मैले निर्वाचनमा प्रतिबद्धता जनाएका अधिकांश काम सम्पादन भएका छन्, केही प्रक्रियामा छन् भने कतिपयको नतिजा आइसकेको छैन ।’ महानगरमा निर्वाचित जनप्रतिनिधि आएपछि संविधानको धारा २३० बमोजिम नगरसभाबाट आर्थिक ऐन र विनियोजन ऐन जारी गर्नुका साथै महानगरपालिकाका लागि एकवर्षे, पाँचवर्षे र २० वर्षे विकास नीति, योजना तथा कार्यक्रम पारित गरिएको छ ।

महानगर सफा सहर बनाउन ‘क्लिन द सिटी’ अभियानबाट एक हजार ९५ मेट्रिक टन फोहोर संकलन र व्यवस्थापन भएको छ । ‘ग्रीन द सिटी’ अन्तर्गत एक सय दिनमा महानगरभित्र एक हजार आठ सय ३ वटा वृक्षरोपण गरिएको छ भने उज्यालो अभियानमा ३२ वटै वडाभित्र एक हजार सात सय ७६ थान सोलारबत्ती जडान गरी ६ सय ९३ किलोवाट विद्युत् वचत गरिएको छ ।

ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउन ८८ वर्ष पुगेका ४ सय ८९ लाई १२ हजार रुपैयाँ महानगर विशेषभत्ता र आवासमै पुगेर दक्ष चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्ने काम महानगरपालिकाले थालेको छ । महानगरलाई स्मार्ट सिटी बनाउने सपनाका लागि ‘स्मार्ट सर्भिस डेलिभरी’, ‘स्मार्ट पार्किङ’, ‘स्मार्ट इन्भाइरोमेन्ट’, ‘युजर फ्रेन्डली ट्रान्सपोर्टेसन सिस्टम’ बाट काम हुनेछ भने टेकु र धर्मपथमा रहेको आफ्नै जग्गामा ‘डिजिटल कार पार्किङ’ र ‘भर्टिकल कार पार्किङ’ निर्माण प्रक्रिया अघि बढाइएको छ । सम्पदा क्षेत्र, उद्यान र सार्वजनिक स्थलमा क्रमशः ‘फ्री वाईफाई जोन’ बनाउने भनिएकोमा बालाजु, रत्नपार्क र वसन्तपुरजस्ता ठाउँलाई फ्री वाईफाई जोन बनाइएको मेयर शाक्यले जानकारी दिए ।

‘मोनोरेल, मेट्रोरेल र सिटी केबल कार सञ्चालनमा आउनुअघि सार्वजनिक यातायात सहज र प्रभावकारी बनाउन महानगरभित्र पाँच करोड लगानीमा थप २० ठूला सहरी बस थप्दै छौं’, शाक्यले भने, ‘सम्पदा र संस्कृतिको सहरका लागि काष्ठमण्डप, रानीपोखरी र अन्य महत्वपूर्ण सम्पदाको पुनर्निर्माण कार्य महानगरकै नेतृत्वमा भइरहेको छ ।’

सय दिनमा महानगरपालिकाले दैनिक तीन मेट्रिक टन फोहोरबाट १४ किलोवाट बिजुली उत्पादन सुरु गरेको छ । महानगरपालिकाका सबै कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन सबै वडा कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने र सीसीटीभी जडान गर्ने काम थालिएको छ । भवन निर्माण प्रणालीमा सुधार गर्न इबिपिएस विद डिजिटल सिग्नेचर लागू गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । शाक्यले महानगरभित्र नियमविपरीत अनगिन्ती घर बनेको स्वीकार्दै अबका दिनमा त्यस्तो कुनै काम हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

आजको अन्नपुर्ण पोष्टमा खबर छ ।