महरलाई पुन: नेविसंघ अध्यक्ष बनाउन काङ्ग्रेसमा प्रस्ताव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महरलाई पुन: नेविसंघ अध्यक्ष बनाउन काङ्ग्रेसमा प्रस्ताव



काठमाडौं । नेपाल विद्यार्थी संघ नेतृत्व बिहीन भएको आठ महिना भइसकेको छ । व्यक्तिगत स्वार्थ र आन्तरिक विवादका कारण कांग्रेसको प्रमुख भातृ संगठन नेविसंघ नेतृत्व बिहीन बन्न पुगेको हो ।

केही जिल्लाको अधिवेशनसमेत सम्पन्न गरेर निर्वाचनको माहोल बनिसकेको अवस्थामा तत्कालिन अध्यक्ष नैनसिंह महर नेतृत्वलाई राजीनामा गर्न बाध्यपारेको पार्टीले आठ महिना बिति सक्दा पनि नयाँ नेतृत्व दिन सकेको छैन । जसकारण नेविसंघ कमजोर बनेको छ भने कांग्रेसले सशक्त रुपमा सरकारका नराम्रा कामकाविरुद्धमा युवाहरूलाई परिचालनसमेत गर्न सकेको छैन ।

आफू निकट व्यक्तिलाई नेतृत्व दिनु पर्ने र संशोधित विधान पछि उत्पन्न उमेरहदको विवादले नेविसंघले नेतृत्व पाउन नसकेको कार्यकर्ताको गुनासो छ । नयाँ व्यक्तिलाई नेतृत्व दिँदा थप विवाद हुन सक्ने देखेर अहिले कांग्रेसभित्र पुरानै नेतृत्वलाई निर्वाचनका लागि जिम्मेवारी दिनेकी भन्ने विषयमासमेत बहस हुन थालेको छ ।

बिहीबारको कांग्रेस केन्द्रीय समिति बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहले निवर्तमान अध्यक्ष नैनसिंह महरलाई नै निर्वाचन गराउनका लागि पुनः नेतृत्व दिनुपर्ने प्रस्ताव गरेसँगै यो विषयले यतिवेला कांग्रेसमा चर्चा पाएको छ । बैठकमा नेता सिटौलाले नेविसंलाई गतिहिन बनाउन नहुने बताउँदै पुरानै समितिलाई निर्वाचन सम्मका लागि जिम्मेवारी दिनुपर्ने धारणा राखेको एक नेताले बताए ।
आफूलाई तत्कालिन समयमा पार्टी नेतृत्वले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन बाध्य पारेको बताउँदै नेता महरले भने अहिलेसम्म तदर्थ समिति गठन गर्न नसक्नु पार्टीको कमजोरी भएको बताएका छन् ।

हिमाल पोस्टको तपाइलाई पार्टीले पुनः जिम्मेवारी दिए के गर्नुहुन्छ भन्ने प्रश्नमा महरले भने, ‘मैले पुनः नेतृत्व लिने कुरै हुँदैन । मेरो नेतृत्वले चुनावी माहोल बनाइ सकेको अवस्थामा राजीनामा लिन बाध्य पारेपछि पुनः सोही पदको जिम्मेवारी मैले किन लिनु ।’ उनले अब आफू पार्टी राजनीति गर्ने सोचमा रहेको र त्यसकैका लागि लागि परेको बताएका छन् ।

रामचन्द्र पौडेल र देउवाको बिचमा समेत अरु भन्दा महर नै चुनाव सम्पन्न गर्न उपयुक्त हुने निस्कर्ष निकालिए पनि मिनेन्द्र रिजाल लगायतका नेताहरु भने महामन्त्री शशांक कोईराला लगायतलाई रिझाएर ५२ वर्षीय राजीव ढुंगानालाई अगाडी सार्ने प्रयासमा रहेको काँग्रेसका एक केन्द्रीय सदस्य ले बताए ।

उता कांग्रेस नेता नविन्द्रराज जोशीलाई हिमाल पोस्टले सम्पर्क गर्दा यस प्रसंगमा आफूले अहिले नै धेरै बोल्न नचाहेको जानकारी दिए । तर, स्रोतले जनाए अनुसार कांग्रेस नेविसंघको नयाँ समिति बनाउन नसक्दा समस्यामा परेको छ ।