कमिशनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकार दण्डित हुनुपर्छ : नेता महर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कमिशनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकार दण्डित हुनुपर्छ : नेता महर



काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौँ जनताले ज्यान गुमाईरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन् । नागरिक स्वास्थ्य संकटले बिचल्लीमा परेका छन् तर सरकार कमीशनको चक्करमा खोप र औषधिको कृतिम अभाव गराएर जनता मार्ने जनघाती काममा लागेको महरको थप भनाइ थियो ।

संकटमा सहयोगी हातहरु’ नामक अभियानले आयोजना गरेको ‘कहाँ चुक्यो सरकार’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दैँ नेता महरले वर्तमान सरकार इतिहासकै भ्रष्टाचार शिरोमणी र विवेकहीन पनि सावित भएको बताएका छन् ।

यो ३ बर्षे कार्यकालमा भ्रष्टाचार, आर्थिक अनियमितताका दर्जनौं काण्डहरु घटाइएको बताउदै – खोप काण्ड, ओम्नी काण्ड, फास्टट्रयाक काण्ड, सेक्युरिटी प्रेस काण्ड, वाइडबडी काण्ड, रेल्वे काण्ड लगायतका दर्जनौँ काण्डमा अर्बौको अनियमितता गरेर वर्तमान सरकार भ्रष्टाचार शिरोमणी र विवेकहीन सावित भयो, नेता महरले आक्रोश पोख्दैँ भने, जनता स्वास्थ्य संकटले विचल्लीमा परेका छन् तर कम्युनिष्ट नामधारी सरकार भ्याक्सिन लगायत स्वास्थ्य सामग्री उपलब्ध नगराएर कमिसन खाने चक्करमा जनता मार्ने जनघाती काममा उद्धत छ ।’

लामो समयदेखि महामारी संक्रमणको भय र त्रासले आतंकित भएर जीवनरक्षाका लागि जनताले गरेको पुकार सुन्नुको सट्टा स्वास्थ्य सामग्री र भ्याक्सिन खरिद गर्दा भ्रष्टाचारजन्य कार्यमा स्वंय सरकार संलग्न देखिनु अमानविय र असंवेदनशीलताको पराकाष्ठा भएको नेता महरले टिप्पणी गरे । सरकारका गलत कार्यहरु नियन्त्रण गर्ने सबै अंगहरु सरकारले आफ्नो सिकंजामा राखेको नेता महरले बताए ।

सबै सत्ताहरु नियन्त्रणमा राखेर सर्वसत्तावादी बनेको सरकारलाई जनता स्वंयका तर्फबाट जनताको अदालतमा उभ्याएर कारवाही गरे मात्र देशमा सुशासन र अमनचयन हने नेता महरको भनाई थियो । भ्याक्सिन र औषधिको अभावले दैनिक दर्जनौं जनताले ज्यान गुमाउनु परेको छ तर सरकारले भने भ्याक्सिन खरिदमा ३२ करोड बढी कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड गरेको कार्यक्रममा सहभागीहरुको भनाइ थियो ।