महरा काण्डमा 'यूटर्न': निर्दोष सावित गर्न प्रमाण नष्ट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

महरा काण्डमा ‘यूटर्न’: निर्दोष सावित गर्न प्रमाण नष्ट



काठमाडौं- आफ्नै सचिवालयमा काम गर्ने सहकर्मी महिलामाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पुर्वसभामुख कृष्णबहादुर महरामाथि प्रहरीको अनुसन्धान सकिएको छ। यसपछि यो काण्ड अदालती प्रक्रियामा जाँदैछ ।

प्रहरीले अदालतमा पेश गर्ने अनुसन्धान रिपोर्ट, कानुन व्यवसायीको बहसपछि न्यायाधीशबाट गर्ने फैसला के हुन्छ भन्ने सबैतिर चासोको बिषय भैरहेको बेला घटनाले भने अर्कै रुप लिने देखिएको छ।

यस घटनामा महरा निर्दोष बन्न सक्ने धेरै सम्भावना देखिएको जानकारहरू बताउने गरेका छन्। यसको मुख्य कारण के भने रोशनी शाहीले पटक पटक फेरेको बयान र दशी प्रमाणको कमी ।

अहिलेसम्म बाहिर आएका विषय बयानमा आधारित छ । रोशनीले जर्बजस्तीको अभियोग लगाएको देखि घटनाक्रम केलाउँदा उनको भनाई बदलिएको छ । अब अदालतमा उनी कसरी प्रस्तुत हुन्छिन् त्यसले मात्र फैसला प्रभावित हुन सक्दैन । उनले आरोप लगाएको भरमा घटना पुष्टि हुनसक्दैन । उनले आरोप फिर्ता लिएर महराको बचाऊ गर्दैमा पनि जर्बजस्ती नभएको पुष्टि हुन सक्दैन । यसकारण अब घटना बयानमा भन्दा दसी प्रमाणमा केन्द्रित हुनसक्छ ।

जर्बजस्तीको जाहेरी दिने रोशनीको स्वास्थ्य परीक्षण भएको छैन । यसकारण पनि घटनाको मुख्य प्रमाण मेटिइसकेको छ । जर्बजस्ती भए नभएको स्वास्थ्य परीक्षणबाट पनि प्रमाणित हुनसक्छ । अब त्यो बाँकी रहेन ।

घटनास्थलमा प्रहरीले के के प्रमाण फेला पार्यो त्यो खुलेको छैन । अब सबै अदालतमा प्रमाणका रुपमा पेश गर्नेछ । घटनास्थलमा भाँच्चिएको भनिएको चश्मा महराको हो होइन ? यदि हो भने भाँच्चिएको बाँकी टुक्रा कहाँ छ ? महराले चश्मा भाँच्चिएको भनेपनि चश्मा लगाएकै अवस्थामा पक्राउ परे । जुन उनलाई प्रहरीले पक्राउ गरी लाँदा समेत देखिन्थ्यो ।

महरा रोशनीको कोठासम्म पुगेको भिडियो फुटेज नै प्रहरीसँग रहेको बुझिएको छ । त्यही फुटेल हेरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन लगाएका थिए भन्ने खबर बाहिर आएको छ । फुटेजले महरा कोठासम्म पुगेको भन्ने देखाउँछ । त्यसैका आधारमा मात्र पनि जर्बजस्ती पुष्टि हुँदैन ।

जर्बजस्ती पुष्टि हुने धेरै प्रमाणहरु नष्ट गरिएका छन् या प्रमाण संकलन गर्ने तत्परता देखिएको छैन । यो घटनामा महरालाई पदबाट हटाउने र चारित्रिक रुपमा कमजोर सावित गर्ने लक्ष्य मात्र देखिन थालेको छ । उनको जर्बजस्ती अभियोग पुष्टि हुने दसी प्रमाणहरु संकलनमा उदासिनता देखिइसकेको घटनाक्रमले पुष्टि गरेको छ ।

यससंगै प्रहरीले गरेको फरेन्सिक ल्याबको रिपोर्ट आइसकेको छ । तर रिपोर्टमा महराले कुटपिट नगरेको देखिएकोले पनि महरा काण्डले अर्कै मोड लिने देखिन्छ ।

खासगरी भिआइपीहरु जोडिएका घटनामा पछी घटना मोडिएका धेरै उदाहरण छन् र यो केसमा पनि यस्तै खाले प्रारम्भिक आंकडा देखिएको छ। भीआइपीको पक्राउ र घटनामा जोडिएका विषय जटिल बन्नुले को दोषी भन्ने फैसला आउन समय लाग्न सक्छ।

रोशनी शाहीले पहिलो पल्ट हाम्रा कुरालाई बताएको २४ घण्टामै बयान फेरेकी थिइन्। अहिले त धेरै दिन बितिसकेका छन् उनले अदालतमा बयान नाफेर्लिन भन्न सकिन्न।