महरा छुटेपछि एमसीसी सम्झौतामा कस्तो असर पर्ला ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महरा छुटेपछि एमसीसी सम्झौतामा कस्तो असर पर्ला ?



काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराले अदालतबाट सफाई पाएसँगै एम्सीसीको बहसमा पनि नयाँ बहसको थालनी भएको छ । खासगरी महरालाई एम्सीसीकै कारण फसाइएको एकातिर चर्चा थियो भने उनि छुट्नेबित्तिकै समर्थकले एमसीसी मुर्दाबाद भन्दै नारावाजी गरेका थिए ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय ‘बलात्कार उद्योग मुद्दा’मा महरालाई निर्दोष ठहर गरेपछि डिल्लीबजार कारागार आसपासमा उनका समर्थकको भीड बढ्न सुरु भयो।

अदालतको आदेशपछि आएको निर्देशनअनुरुप कारागार प्रशासन महरालाई छाड्नका लागि प्रक्रिया पूरा गर्नतर्फ लाग्यो। कारागार प्रशासनलाई यी सबै प्रक्रिया मिलाउन केही समय लाग्यो। सोमबार दिउँसो करिब ३ः४५ बजे महरा कारागारमुक्त भएर बाहिर निस्किए।

कारागारभित्र र बाहिर उनलाई भीडले छोपिहाल्यो। दृश्य आश्चर्यचकित पार्ने खालको थियो। कारागारभित्र त्यही थुनामा रहेका पूर्वप्रहरीमहानिरीक्षक रमेश चन्द ठकुरीलगायतको समूहले फूलमाला लगाइदिएर महरालाई जेलबाट बिदाइ ग¥यो।

त्यसपछि अगाडि बढ्दा समर्थकको भीडले उनलाई छोपिसकेको थियो। उनी अगाडि बढिरहँदा अचानक भीडबाट नारा गुञ्जियो–एमसिसी मुर्दावाद!

बलात्कार प्रयास मुद्दामा करिब साढे चार महिनाअघि महरा पक्राउ परेपछि उनका समर्थकले यसलाई अमेरिकन मिलेनियम च्यालेन्ज एमसिसीसँग जोडेर हेरेका थिए।

महरालाई अघिल्लो संसद् अधिवेशनमै आलटाल गरी एमसिसीसम्बन्धी विधेयक अगाडि नबढाएको आक्षेप उनीमाथि लगाइएको थियो।

त्यही प्रतिशोध साँध्न उनीमाथि झुठो मुद्दा लगाइएको जिकिर समर्थकको रहेको छ। उनीहरूले यसको दोष ‘एमसिसी’लाई लगाउँदै आएका थिए।

काठमाडौं जिल्ला अदालतका न्यायधीश अम्मरराज पौडेलको एकल इजलासले पीडितबाट मुद्दालाई अगाडि बढाउने खालका प्रमाण नआएको भन्दै महरालाई सफाइ दिएको थियो।

सफाइ पाएपछि प्रतिनिधि सभा सदस्यका रूपमा उनी कायम रहनेछन्। मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा समेत उनी उपस्थित हुनसक्ने छन्।

यदि महरा एम्सीसीकै कारणले फ़साइएका थिए र यो सत्य हो भने अब महराले केहि कदम पक्कै चाल्नेछन । यसले एमसीसी सम्झौतामा कस्तो असर पर्छ भन्ने कुरा हेर्न बाँकी छ ।