महराको बयान: 'रोशनीको घरमा पटक पटक गएको छु' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महराको बयान: ‘रोशनीको घरमा पटक पटक गएको छु’



काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसद्की कर्मचारी रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको बताएका छन् । गत १९ असोजमा पक्राउ परी हिरासतमा रहेका उनले पारिवारिक सम्बन्धका कारण रोशनीको घरमा आउजाउ हुने गरेको स्वीकारेका हुन् ।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको दिन आफू रोशनीको कोठामा पुगेको स्वीकारेका छन् । उनले आफू त्यहाँ पुगे पनि सञ्चारमाध्यमबाट बाहिर आएजस्तो आफूले जबर्जस्ती करणीको प्रयास नगरेको बताएका छन् । उनले रोशनीको घरमा पटक पटक जाने गरेको बताएका छन् । पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उनले बताएको स्रोतले दाबी गरेको छ । यधपी बयान भने अझै सकिएको छैन, बयान पूरा भएपछि सोहीअनुसार मुद्दा अघि बढाइनेछ ।’

बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो । सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको बयान लिएको हो ।

महराले आफूलाई जबर्जस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यसबीचमा पटकपटक आफ्ना भनाइ बदल्दै आइरहेकी छन् । यद्यपि, प्रारम्भमा महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान सुरु गरेको यस घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र आरोप लागेका महराको बयान भइरहेको छ । यो प्रक्रिया सकिएपछि सोमबार या मंगलबार महराविरुद्ध जबर्जस्ती करणीको मुद्दा अदालतमा दर्ता हुनेछ ।
बिहीबार प्रारम्भिक बयानपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै महरालाई काठमाडौं थापाथलीस्थिति नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पतालमा उनका परिवारका सदस्य र आफन्तबाहेक पार्टी उच्च तहका कुनै नेता उनलाई भेट्न पुगेका छैनन् । महराले पहिलादेखि नै उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए ।

श्वासप्रश्वास र रक्तचाप बढ्दा अस्पताल भर्ना

उता प्रहरी भने, महरा प्रकरणको मुद्दा छिटोभन्दा छिटो अदालत लैजान चाहन्छ । मुद्दा दायर भएपछि अदालतमा फेरि महराको बयान हुन्छ । त्यसपछि सरकारी वकिल र महराका वकिलले थुनछेक बहस गर्नेछन् । दुवै पक्षको बहसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी तथा सामान्य तारेखमा छाड्ने आदेश दिनेछन् । महराले जबर्जस्ती करणीको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा गरिसकेका छन् भने उनको सांसद पद पनि निलम्बनमा परेको छ । तर, पार्टीले भने उनलाई दुवै पदबाट राजीनामा दिनेबाहेक उनको दलीय हैसियतबारे कुनै निर्णय गरिसकेको छैन । यद्यपि, महराले सभामुख निर्वाचनका लागि उम्मेदवारी दिँदा पार्टीको कुनै पनि सदस्यता नरहनेगरी राजीनामा बुझाएका थिए ।

यसैगरी, गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शून्य सहनशीलता अपनाई कारबाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६४औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आर्थिक अनियमितता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन् । उनले नाम उल्लेख नगरीकनै ‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट पारे ।

‘आर्थिक अनियमितता, महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धका हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाई आपराधिक तत्वलाई निस्तेज पार्न डटेर काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिन चाहन्छु,’ निवर्तमान सभामुख महराप्रति लक्षित गर्दै गृहमन्त्रीले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानुन कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानुन उल्लंघन भएको र आर्थिक अनियमिता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारबाही गर्न कुनै हिचकिचाहट हुनेछैन ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आमभनाइले प्रभाव पार्न नहुने बताए । कसुरको शीघ्र अनुसन्धान गरी संलग्न दोषी छिट्टै पक्राउ परोस् भन्ने आमअपेक्षा हुनु स्वाभाविक भए पनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने बताउँदै उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने बताए । उनले लागूऔषध, मानव बेचबिखन, विद्युतीय कसुर, अवैध हातहतियार ओसारपसार र तस्करी नै अपराधका मुख्य चुनौती भएको र त्यस्ता अपराधका सञ्जाल अन्तरदेशीय सम्पर्कमा विस्तार हुँदै गएको उल्लेख गरे । उनले त्यस्ता अपराधको प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठनको क्षमता विस्तारका साथै आवश्यक साधनस्रोतको उपलब्धता अत्यावश्यक रहेको बताए ।

निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६४औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको दबाबमा नपरी निष्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराएका हुन् । उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारमा सहभागी सत्तापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्तिलगायतका विषयलाई हेर्न नहुने जिकिर गरे ।

‘म सरकारका तर्फबाट भन्न चाहन्छु, कुन पार्टी सरकारमा छ, यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन, कसले अपराध ग¥्‍यो त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन, को पक्षमा छ, को विपक्षमा छ, त्यो प्रहरीले मतलब राख्नुहुँदैन, को किन पदमा छ, कुन ओहोदामा छ, के हैसियतको मान्छे हो, कति सम्पत्तिवान् मान्छे हो, यस्ता कुराको प्रहरीलाई मतलब हुनुहुँदैन,’ उनले भने, ‘कानुनको पालना, काार्यन्वयन र अनुहार नहेरीकन निष्पक्ष छानबिन गर्नुपर्छ, कसैको दबाब मान्न हुँदैन ।’
प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निष्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने धारणा राखे । अपराधको राजनीतीकरण गर्ने अनि राजनीतिलाई आपराधीकरण गरी निष्पक्ष अनुसन्धान गर्न व्यवधान सिर्जना गरी प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिबाट प्रहरी सधैं सजग हुनुपर्नेमा जोड दिए ।

उनले प्रहरी दिवस भव्य र उल्लासपूर्ण रूपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवस छुट्टाछुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरे । उनले दुवै दिवस एकै दिन मनाउदा ‘बधाई दिने कि समवेदना दिने’ भन्ने अप्ठ्यारो स्थिति सिर्जना भएको उल्लेख गरे ।