महरा महासचिव, नारायणकाजीलाई चिट्ठा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

महरा महासचिव, नारायणकाजीलाई चिट्ठा



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महासचिवमा पुरानै अनुहारलाई ल्याउने तयारी गरेका छन् । एउटालाई फकाउँदा अर्को रिसाउने बहाना बनाएर प्रचण्डले पुराना र विवादित अनुहारलाई महासचिव बनाउने तयारी गरेका हुन् ।

यसअघि विभिन्न आरोप लागेका माओवादी नेता कृष्णबहादुर महरालाई पार्टीको महासचिव बनाउने तयारी प्रचण्डले गरेको बताइएको छ । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुन दुबैले दाबी नछाडेकाले तेस्रो विकल्प समात्न प्रचण्डलाई सहज भएको समेत बताइएको छ ।

अहिले माओवादीको नेतृत्व युवा पुस्तामा जानुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले भने पुरानै नेताहरूलाई अवसर दिन थालेका छन् । प्रचण्डको यो तयारीले माओवादीका केहि नेताहरू थप सशंकित देखिएका छन् । त्यतिमात्रै होइन पटक पटक अवसर पाएका नारायणकाजी श्रेष्ठलाई प्रचण्डले पार्टीको वरिष्ठ उपाध्यक्ष बनाउने तयारी समेत गरेका छन् ।

श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन विकल्प नभएको प्रचण्डले बैठकमै बताएका थिए । माओवादीको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, महरा र मात्रिका यादवको पनि दाबी थियो । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी जस्तै महासचिवमा पनि प्रचण्डले कृष्णबहादुर महरालाई नै जिम्मा दिने तयारी गरेका छन् ।

शनिबारको स्थायी कमिटी बैठकमा पनि प्रचण्डको दायाँबायाँ श्रेष्ठ र महरालाई राखेका छन् । प्रचण्डले महरालाई महासचिव बनाएर वर्षमान र जनार्दनलाई उपमहासचिव बनाउन सक्ने सम्भावना छ ।

उपाध्यक्षमा मात्रिका यादव, हरिबोल गजुरेल, गणेश साह, लीलामणि पोखरेल, पम्फा भुसाल, देव गुरुङलगायतका नेताको व्यवस्थापन गर्ने तयारी प्रचण्डको छ । प्रचण्ड पार्टी पधाधिकारीको लागि कुनैपनि हालतमा निर्वाचन प्रक्रियामा जान चाहेका छैनन् । यदि त्यस्तो अवस्था आएको खण्डमा प्रचण्ड छुट्टै विकल्पमा जानसक्ने बताइएको छ ।

तिब्र विवाद भएको खण्डमा अहिलेलाई पधाधिकारी चयन थाति राखेर अन्य पार्टीहरूलाई मर्ज गरेर नयाँ तरिकाले जाने विकल्पमा प्रचण्ड जानसक्ने बताइन्छ ।