८० घण्टाका मुख्यमन्त्री: महाराष्ट्रकाे सरकार ढल्याे - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

८० घण्टाका मुख्यमन्त्री: महाराष्ट्रकाे सरकार ढल्याे



एजेन्सी– भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन्।

भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह र कार्यकारी अध्यक्ष जेपी नड्डाबीच बैठक बसेको थियो। उक्त बैठकको दुई घण्टाभित्र मुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामाको घोषणा गरेका हुन्।

आफूले बहुमत पुर्‍याउन नसक्ने अवस्था देखिएपछि उनले पदबाट राजिनामा दिएका हुन्। मंगलबार नै उपमुख्यमन्त्री अजित पवारले पनि राजीनामा दिएका थिए। पवारले राजिनामा दिएको एक घण्टाभित्र मुख्यमन्त्रीले समेत राजिनामा दिएका हुन्। मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत फडणवीसले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

मुख्यमन्त्री फडणवीस र उपमुख्यमन्त्री पवारले चारदिन अघि मात्रै महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीको उपस्थितिमा गोपनीयताको सपथ लिएका थिए।

केहीदिन अघि महाराष्ट्रमा सम्पन्न भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल बनेको थियो भने शिवसेना दोस्रो ठूलो दल बनेको थियो।

तर भाजपा र शिवसेनाबीच भागबण्डा नमिल्दा सरकार बन्न सकेकाे थिएन। त्यसपछि शिवसेनाले कांग्रेस र राष्ट्रवादी कांग्रेससँग मिलेर सरकार बनाउन पहल गरेकाे गरिरहेकाे थियाे।

साेही समयमा एनसीपीका अजित पवारसँग मिलेर भाजपाले अप्रत्यासित रुपमा सरकार बनाएकाे थियाे। तर चारदिनमै महाराष्ट्रकाे सरकार ढलेकाे छ।

शिव सेना, कांग्रेस र राष्ट्रवादी कांग्रेसले महराष्ट्रमा सरकार बनाउने कोशिस गरिरहेका छन्।