राजेन्द्र महतो भन्छन: यो संविधान दिवस होइन गाइजात्रा हो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राजेन्द्र महतो भन्छन: यो संविधान दिवस होइन गाइजात्रा हो



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान दिवसमा गाइजात्रा मनाउन लागेको आरोप लगाएका छन् ।

उनले नागरिकको असन्तुष्टि हुँदाहुँदै संविधान दिवस नमनाउन आग्रह समेत गर्दै सरकारले मनाउन लागेको संविधान दिवसलाई गाइजात्रेको संज्ञा दिए ।

यो गाइजात्रे दिवस नमनाउनुस् क्या, आफ्नै सरकार पनि दिवस मनाइरहेको छैन, पुरै सरकार । ७० प्रतिशत जनता, दुई तिहाइ जनता त विरोध दिवस, काला दिवस ब्ल्याक आउट गरिरहेको छ’ उनले भने ‘यो गाइजात्रे हिसाबले संविधानलाई ब्यहावर नगरियोस् । संविधान सम्पूर्ण नेपालीका लागि बनोस् ।’

प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै नेता महतोले देश सबैको हो भन्ने याद गर्न सरकारलाई सचेत गराए । ‘एकल जातीय अहंकारबाट देशलाई मुक्ति दिनुस् । हिमाल, पहाड, तराई, मधेसमा बस्ने सबैको देश हो । सबैको देश नबनाएसम्म सबैको लागि त्यो संविधानमा स्पेस नबनाएसम्म सबैको स्वामित्व हुने गरी नबनाएरसम्म दिवस उवस हुँदैन’ उनले भने ।

महतोले सरकारमा रहेका सबै पार्टी र देशभरका सरकारले संविधान दिवस मनाएर देखाउन चेतावनी दिए । ‘हामीले मनाएनौं ठीकै छ, विपक्षी प्रतिपक्षी । तपाईको सरकारले मनाएको मनाएन ? दिवाली मनाउने काम सरकारी पक्षमा रहेका पार्टी र नेताले मनाउँछ कि मनाउँदैन ?’ उनले प्रश्न गरे ।

सरकारमा रहेको समाजवादी पार्टी र उपप्रधानमन्त्री नै संविधान दिवस मनाउने अवस्थामा नरहेको भन्दै नेता महतोले उर्दी जारी गर्दैमा दिपावली नमनाइने बताए । ‘दिवाली मनाउन उर्दी जारी गर्दैमा दिवाली हुँदैन, ब्ल्याक आउट हुन्छ’ उनले भने ।

नेता महतोले दुई तिहाइ जनताले ब्ल्याक आउट गर्ने दावी गरे । उनले संविधान दिवस नमनाउलेलाई राष्ट्रघाती भन्न सरकारलाई चेतावनी दिए ।

‘मधेसीले मनाउँदैन, राष्ट्रघाती भनिरहेको थियो । अब संविधान दिवस थारुले पनि नमनाउने, अब त्यसलाई पनि राष्ट्रघाती भन्नुस् । पहाडका आदिवासी जनजातिले पनि नमनाउने त्यसलाई पनि राष्ट्रघाती भन्नुस् । त्यसो भए राष्ट्रवादी को त ?’ उनले प्रश्न गरे ।