महेश बस्नेतले मनोमानी गरेपछि युवा संघमा तनाव, चर्कियो विवाद - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

महेश बस्नेतले मनोमानी गरेपछि युवा संघमा तनाव, चर्कियो विवाद



काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् ।

गत पुस २८ र २९ गते पोखरामा बसेको सचिवालय बैठकबाट संघको नवौँ महाधिवेशन आयोजक कमिटीको घोषणा भयो । एमाले पोलिटव्यूरो सदस्य एवं संघका इन्चार्ज महेश बस्नेतले एकलौटी रुपमा आयोजक कमिटीको घोषणा गरेका थिए ।

किरण पौडेलको संयोजकत्वमा घोषणा गरिएको आयोजक कमिटीको सहसंयोजक सञ्जीव झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरी केसी लगायतको नाम इन्चार्ज बस्नेतले घोषणा गरेपछि असन्तुष्ट नेताहरुले बैठक बहिष्कार गरेर पोखराबाट हिँडेका थिए ।

नौ ९ बर्षअघि बुटवलमा युवा संघको आठौं महाधिवेशन भएको थियो । सो महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । निरज आचार्यलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका बस्नेत त्यसयता संघमा एकलौटी गर्दै आएको आरोप असन्तुष्ट पक्षका नेताहरुको छ ।

संघको अध्यक्ष हुँदै अहिले इन्चार्जको जिम्मेवारीमा रहेका बस्नेतले संघलाई संघको विधान अनुसार कहिल्यैँ चलाउन नचाहेको आरोप लाग्दै आएको छ । यस बीचमा संघको विधान अनुसार महाधिवेशन नै नभई ९ जना अध्यक्ष बनाउने काम भएको छ ।

इन्चार्ज बस्नेतले एकलौटी रुपमा आयोजक कमिटी गठन, सचिवालय गठन लगायतका निर्णयप्रति आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका संघका असन्तुष्ट नेताहरुले पार्टीका शीर्ष नेताहरुलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल लगायतका शीर्ष नेतालाई भेटेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । आफूहरुको माग सुनुवाई नभएपछि संगठनलाई बचाउन बाध्य भएर समानान्तर कमिटी गठन गर्न बाध्य हुने चेतावनी उनीहरुको छ ।

‘हामीले पार्टी अध्यक्ष, महासचिव, संगठन बिभाग प्रमुख, मोर्चा संगठनका प्रमुख लगायतका शीर्ष नेतालाई भेटेरै ध्यानाकर्षण गराईसकेका छौँ । कतिपय नेताहरु कोरोना संक्रमितसमेत भएकाले हामीलाई पर्खिन आग्रह उहाँहरुले गर्नुभएको छ । हैन भने हामीले संगठनलाई बचाउँन के गर्नुपर्छ हामी गर्न तयार छौं । शीर्ष नेताहरुलाई हामीले जानकारी गराउँदा इन्चार्ज कमरेड (महेश)ले गुमराहमा राखेको देखियो’ संघका उपाध्यक्ष रोशन बस्नेतले भने ।

पोखरा बैठकको मनोमानी निर्णय नसच्याए इन्चार्ज बस्नेतविरुद्ध नै समानान्तर आयोजक कमिटी बनाउने जानकारी उनीहरुले गराएका छन् ।

संघका उपाध्यक्षहरू अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे (उज्वल), किरण गौतम, रवीन थापा, कुमार हुमागाई, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायतका नेताहरूले पोखरामा भएको बैठक बहिस्कार गरेका थिए । बैठक बहिष्कारपश्चात उनीहरुले पार्टी शीर्ष नेतालाई लिखिच रुपमै उजुरी दिँदै निर्णय सच्याउँन जोडदार रुपमा माग गरेका छन् ।

‘पोखरामा भएको सचिवालय बैठकमा कोरम नै पुगेको थिएन, त्यहाँ हामीले संगठनको विधि पद्धति र निर्णय प्रक्रियाबारे कुरा उठाएपपछि हामीलाई छलेर बैठक सकिएको र निर्णय भएको कुरा सुनाइयो जो बैठकबाट निर्णय भएको थिएन कुनै एउटा होटलमा बसेर दुई–तीन जनाले निर्णय गरेका थिए’ उपाध्यक्ष बस्नेतले भने ।

आउँदो फागुन ११ गते संघको नवौँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा संघका इन्चार्ज बस्नेत आफू अनुकुल गर्न खोजेको आरोप उनीहरुको छ । बस्नेतले मनोमानी गर्न थालेपछि विवाद हुँदा आफूहरु बैठक बहिष्कार गरेर हिडेको असन्तुष्ट नेताहरु बताउँछन् ।

बैठकमा बस्नेतले आफ्नो खल्तीबाट नाम झिकेर पढ्न थालेपछि विवाद भएको एक नेताले बताउदै भने, ‘बैठकमा छलफल भएर आउने विषय इन्चार्जको खल्तीबाट आएपछि विवाद भएको हो उहाँले युवा संघलाई आफ्नो खल्तीको संघठन बनाउन खोज्नुभयो, एउटा निजी कम्पनीमा त अडिट गर्नुपर्छ, अडिट मिलेन भने कम्पनी नवीकरण हुँदैन यो त जनातको हितका लागि, पार्टीको हितको लागि बनेको विशाल संगठन हो यसमा कोही एक व्यक्ति हावी हुन सक्दैन ।’

शीर्ष नेतालाई बुझाइएको पत्रमा समेत उनीहरुले वस्नेतको मनोमानीको बारेमा उल्लेख गरेका छन् । ‘संगठनमा फरक मत, फरक विचार राख्ने व्यक्तिहरूलाई पूर्णत निषेध गर्दै संगठन व्यक्ति केन्द्रित समूहमा रूपान्तरित हुने स्पष्ट देखिएको छ’ पत्रमा उल्लेख गरिएको छ ।

‘पार्टीको मूल विचार माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवाद, लेलिनवादी संगठनात्मक सिद्धान्त र लोकतान्त्रिक विधि, पद्धतिविपरीत संघको संगठनात्मक जीवनमा व्यक्तिवाद हाबी हुँदै गएको हामीले महसुस गरेका छौं’ आरोप पत्रमा भनिएको छ, ‘तसर्थ संघको विद्यमान पूर्ण सचिवालय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशन गरियोस् भनी कमरेडसमक्ष यो ध्यानाकर्षणपत्र दर्ज गराएका छौं ।’

समयमै गलत निर्णय नसच्याए, हामी संघलाई विधि, पद्धति र प्रक्रिया अनुरूप अगाडि बढाउन थप पाइला चाल्न बाध्य हुने विषयसमेत अवगत गराउदछौं’ उपमहासचिव शिवचन्द्र सिंहले भने ।

पोखरा बैठकमै विवाद चर्किएपछि असन्तुष्ट नेताले फोनमै नेताहरुलाई जानकारी गराएका थिए । एमाले महासचिव पोखरेलले फोनमै बस्नेतलाई सबैलाई मिलाएर अगाडी बढन निर्देशन दिए पनि उनी नमानेको बताइएको छ ।

‘यस्तै हो भने युवा संघमा अब विद्रोह हुन्छ र समानान्तर कमिटी बन्नसक्छ,’ असन्तुष्टमध्येका एक नेताले भने । उनीहरूले बस्नेतको एकाधिकारवादबारे जानकारी गराउँदै बस्नेतकै कारण संगठन वैचारिकरुपमा धरापमा परेको आरोप लगाएका छन् ।

वर्तमान सचिवालय कमिटीमा एकता प्रक्रियाबाट आएका कमरेडहरुलाई थपेर आयोजक कमिटी बनाउँनुपर्ने माग असन्तुष्ट पक्षधर नेताहरुको माग छ । लामो समय संघमा योगदान दिँदै आएका पदाधिकारी र सचिवालय सदस्यलाई हटाउएर आयोजक कमिटी गठन गरिएको आरोप उनीहरुको छ ।

‘इन्चार्ज कमरेडले हप्ता–दश दिनअगाडि अमुक व्यक्तिहरूले तयार पारेको आयोजक कमिटीको नामवली, व्यक्तिगत सम्बन्धका आधारमा मनोमानी ढंगले संयोजक, सहसंयोजक, विभागीय प्रमुखहरू, प्रदेश इन्चार्ज, संयोजक, सहसंयोजक र जिल्ला इन्चार्ज र अध्यक्षहरू तोक्दै सानो महाधिवेशनको झल्को दिनेगरी, आगामी फागुन ११ गते हुने ऐतिहासिक ९औं महाधिवेशनअगावै उक्त महाधिवेशनलाई एकतर्फी प्रभावित पार्न खोजेको कुरा स्पष्ट रुपमा देखिन्छ’ असन्तुष्ट एक नेताले भने ।

युवा संघको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि लहानमा भएको सातौँ महाधिवेशनमा बस्नेत पहिलो कार्यकालका लागि इन्द्रलाल सापकोटालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । युथ फोर्सको अध्यक्ष र संघको कोषाध्यक्ष भएपछि चर्चामा आएका बस्नेत संघको अध्यक्ष हाल इन्चार्ज भएपछि मनोमानी गर्दै आएको आरोप संघकै नेताहरुले लगाउँछन् ।

दोस्रो कार्यकालका लागि अध्यक्ष भएदेखी यता संघको महाधिवेशन नै हुन सकेको छैन् । विगत ९ वर्षदेखि महाधिवेशन नै नगरी टिके प्रथाद्धारा अध्यक्ष चयन गर्ने र संघमा पदाधिकारी तथा सदस्य मनोनित गर्ने काम हुँदै आएको छ ।

९ वर्षमा ८ जना नेताहरूलाई टिका लगाउँदै अध्यक्ष बनाइएको छ । २०६९ साल फागुन १८ गते भएको आठौं महाधिवेशनमा दोस्रोपटक अध्यक्ष भएका बस्नेतले आफूपछि निरु पाललाई अध्यक्ष बनाएका थिए ।

निरु पालपछि राजीव पहारी, रमेश पौडेल, एमाले–माओवादी एकतापछि रामप्रसाद सापकोटा (दीपशीखा) र एकीकरण भंग भएपछि पुनः रमेश पौडेल, त्यसपछि बचनसिंह अध्यक्ष भएका थिए । सिंहले राजीनामा दिएपछि किरण पौडेललाई अध्यक्ष बनाइएको हो । पौडेल केन्द्रीय सदस्यमा मनोनयन भएपछि ९औँ महाधिवेशन गरेर नेतृत्व जिम्मा लगाउनुपर्नेछ ।

महाधिवेशन सहज ढंगले नहुने अवस्था आएको युवा संघका नेताहरूले बताएका छन् । महेश बस्नेत धेरै अगाडिदेखि हावी भएपछि त्यसको विरोधमा रमेश पौडेलले आवाज उठाउँदा उनलाई संगठनबाटै बाहिर राखरे खेलकुद महासंघ जिम्मा लगाइएको छ ।

एकता प्रक्रिया भंग भएपछि बस्नेतले पौडेललाई हटाएर अरूलाई नै अध्यक्ष बनाउन खोज्दा विवाद चर्केको थियो । तर, पार्टी अध्यक्ष ओलीले नै पौडेललाई युवा संघको अध्यक्षको जिम्मेवारी दिएपछि बस्नेत केही समय बाहिरिएका थिए । किरण पौडेल भने महेश बस्नेत उद्योग मन्त्री हुँदा स्वकीय सचिव भएका थिए ।