एडीलेडमा म्हपूजा कार्यक्रम आयोजना हुदै « Himal Post | Online News Revolution
Logo

एडीलेडमा म्हपूजा कार्यक्रम आयोजना हुदै



एडीलेड |

कार्तिक शुक्ल प्रतिपदाका दिन शुक्रबार साउथ अस्ट्रेलियाको एडीलेडमा रहेका नेवार समुदायले आफ्नो शरीरर आत्माको पूजा गरी म्ह पूजा पर्व मनाउदैछन ।अक्टोबर २० तारिकको दिन बेलुका ५ बजे क्लेम्जिंग कम्युनिटी हलमा गुठि साउथ अस्ट्रेलियाको आयोजनामा सामुहिक म्ह पूजा साथै “न्हूदँया भिन्तुना” बिशेष कार्यक्रम आयोजना हुन लागेको गुठी साउथ अस्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले बताए। विगत केहि वर्ष देखि गुठिले सामुहिक रुपमा म्हपूजा कार्यक्रम आयोजना गर्दै आएको छ।

नेवारी समुदायले आदिमकालदेखि मनाउँदै आइरहेको मौलिक चाड स्वान्ति (तिहार) को चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन म्हपूजा र नयाँ वर्ष मनाउने दिन हो । म्हपूजा अर्थात् आत्मपूजा गर्ने भनेर यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ । नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि  एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ ।

 

म्हपूजा र न्हूदँया भिन्तुना

-कल्याण मित्र

नेपालका आदिवासी नेवारहरूले आदिमकालदेखि मनाउँदै आइरहेको मौलिक चाड स्वान्ति (तिहार) को चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन म्हपूजा र नयाँ वर्ष मनाउने दिन हो । म्हपूजा अर्थात् आत्मपूजा गर्ने भनेर यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ । शरीर भन्नाले हामीले थाहा पाई आएको कुरा हो कि पञ्च तŒवको संयोजन । पृथ्वी, जल, वायु, तेज र आकाश पञ्चतŒव नै हाम्रो शरीरको अस्तित्व हो । जस्तै ः घर बनाउँदा काठ, इँटा, माटो नभई हुँदैन त्यसरी नै हाम्रो शरीर बन्न पनि पञ्च तŒव नभई नहुन्न । यसरी पञ्च तŒवको संयोजन भएको हाम्रो शरीरको जीवनमा बर्सेनि आइपर्ने विभिन्न बाधाहरू, आपत,् विपत्, दुःखसुख एवं विभिन्न रोग र घटनाबाट मुक्त भएर सफलतापूर्वक जीवन चलाउन अवसर मिलोस् भनेर आत्मा पूजा अर्थात् देह पूजा गरिँदै आएको हो भन्ने मान्यता छ । तिहार चाड मनाउने सन्दर्भमा नेवारहरूले चौथो दिन कात्तिक शुक्ल प्रतिपदाका दिन शरीर पूजा गर्ने गरिन्छ । शरीर पूजाका लागि भुइँमा लेखिएको मण्डपले हाम्रो शरीरको ज्ञान दिइरहेको पाइन्छ ।

आध्यात्मिक ज्ञानहरूका भनाइअनुसार हाम्रो शरीर स्थुल देह, सूक्ष्म देह र कमारण देहको संयुक्त स्वरूप हो । स्थूल देहमा पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चभूत छन् । त्यसरी, नै कान, नाक, छाला, आँखा, जिब्रो पञ्च ज्ञानेन्द्रिय छन् । वाक् (मुख), पाणि (हात), पाद (खुट्टा, उपस्थ (लिंग), गुद (चाक) पञ्च कर्मेन्द्रिय छन् । त्यसरी, नै शब्द, स्पर्श, रूप, रस, गन्धलाई पञ्च तन्मात्रा भनिन्छ । अनि मन, बुद्धि, अहंकार, मूल, प्रकृतिलाई प्राकृतिक तŒवका रूपमा व्याख्या गरिएको छ । सूक्ष्म देहमा माया, कला, काल, राग, नियति पुरुष अविद्या हुन्छ । कारण

देहमा भने शिव शक्ति (पुरुष, स्त्री) सदा शिव, ईश्वर, शूद्र विद्याको पञ्च तŒव संयुक्त रूपमा रहेको हुन्छ ।

म्हपूजा गर्दा लेखिएको मण्डपमा आठओटा पात भएको कमलको फूल अंकित गरिराखेको हुन्छ । यसको अर्थ हो, अष्ट ऐश्वर्य । कमलको फूलको यी आठओटा पातलाई अष्ट चिरञ्जीवीको प्रतीकका रूपमा पनि लिने गरिन्छ । त्यसैले, यी आठओटा पातको अत्यन्तै ठूलो महŒव छ । यी आठओटा पातलाई माहेश्वरी (महादेवको शक्ति) वैष्णवी (विष्णुको शक्ति), कौमारी (स्कन्द कुमारको शक्ति), बाराही (बाराह अवतारको शक्ति), इन्द्रायणी (इन्द्रको शक्ति), ब्राम्ही (ब्रम्हाको शक्ति, चामुण्ड (भगवतीको शक्ति) र महालक्ष्मी अष्टमातृकाको प्रतीकका रूपमा पनि मानिँदै आएको छ । यसमा पूजा गर्दा अष्ट मातृकाले रक्षा गर्छन् भन्ने जनविश्वास छ । यसरी नै म्हपूजाको मण्डपमा प्रयोग गरिने धानले गन्ध, अक्षताले रस, फूलले शब्द, जजङका (धागो) ले स्पर्श, खेलुइताः (मण्डपमा बालिने लामो मोटो बत्ती) ले रूपको प्रतिनिधित्व गर्छ । यसो भएकाले नै भुइँमा लेखिने मण्डपको भूमिलाई धर्म स्कन्दले जीवित प्राणीका रूपमा लिइएको हो । हाम्रो देह बन्नलाई पनि जीवन र जगतको मण्डप मिलेको हुनुपर्छ भन्ने मण्डप शास्त्रले किटान साथ बताइराखेको छ । हाम्रो देश पनि एक किसिमले मण्डप नै भएकाले नेपाल संवत् फेरिने कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो देह आफैंले पूजा गरेर म्हपूजा गर्ने परम्परा चलाएका हुन् ।

नेवारी संस्कृतिमा नितान्त मौलिकताले भरिएको म्हपूजाका दिन नेवारहरूले आफ्नो देहलाई देवता सम्झेर म्हपूजा गर्दा आफ्नो शरीरमा नराम्रा खराब तŒव भित्रिन नसकोस् दिन दशा राम्रो होस्, साहु ऋण लिन नपरोस्, दिनदिनै गरेका काममा सफलता मिलोस्, सुस्वास्थ्य एवं दीर्घायु होस् भनी विभिन्न किसिमले आशीर्वाद थापेर सगुन लिएर फूल, टीका लगाएर म्हपूजा गर्छन् । नेवारहरूको सगुनमा अत्यन्त महŒवपूर्ण कुरा लुकेको पाइन्छ । सगुन सर्वगुण सम्पन्न खाद्य पदार्थ हो । पञ्च महाभूतले बनेको हाम्रो शरीरको पाँचओटा तŒव बलिया होऊन्, शरीर स्वस्थ होस् भनेर दिइने सगुनमा ठूलो महŒव रहेको छ । उसिनेको अण्डा (आकाश तŒव), बारा (वायु तŒव), मासु (पृथ्वी तŒव), माछा (जल तŒव) र रक्सी (तेज तŒव) हो । यसरी पञ्च तŒवका रूपमा दिइने सगुन नेवार संस्कारमा मात्र छ । यसलाई पद्म पुराणमा यसरी वर्णन गरेको पाइन्छ, ‘मत्स्य, मांस, सुरा, लैध्य, चौषय भक्षय हारकै ।’

घरपरिवारका सबैलाई र पास्नी गरिसकेका बच्चालाई पनि समान रूपमा म्हपूजा गर्ने नेवारी संस्कार छ । म्हपूजा गर्न पूर्वतर्फ फर्काएर मण्डप लेखिन्छ । सबैभन्दा पहिला पानीले मण्डप लेखेर पानी मण्डपभित्र चामलको पिठो र अबीरले आठओटा पात कमलको फूल आकार आउने गरी लेखेर यसमा भित्र सबभन्दा छेउको घेरामा लाभा त्यसभित्र भटमास, मासको गेडा, अक्षता र बीचको

केन्द्र बिन्दुमा तेलको मण्डप लेखिन्छ । यसरी, मण्डपमा राखिने लाभालाई स्वर्गको फूल, भटमासलाई शनिश्चर, मासलाई संकटा, अक्षतालाई करुणामय र तेललाई आत्माका रूपमा लिइन्छ । यसरी लेखिएको मण्डपलाई आफ्नो देह सम्झेर शक्ति साधना गरेर म्हपूजा गरिने हो । परिवारका सबै सदस्यलाई पुग्ने गरी मण्डप लेखेर सबैभन्दा माथि गणेशको रूपमा सुकुन्दा, कुमारका रूपमा खल, ब्रम्हाको रूपमा कुचो भित्तामा ठड्याइन्छ । महादेवका रूपमा नांलो भित्तामा अड्याई पवित्रताका प्रतीक कलश र देउतालाई पनि मण्डप बनाएर पूजा ग™िन्छ । मण्डपको सिरानमा धर्मदूत र तल सबैभन्दा मुनि कर्मदूतका लागि पनि मण्डप बनाएर पूजा गरिन्छ ।मण्डपका अगाडि क्रमैसँग परिवारका मुली थकालीदेखि सबैजना बसिसकेपछि घरमुली महिलाले हातमा कोतः (विशेष प्रकारको परम्परागत पूजा थाली) लिएर सबैलाई पालैपालो पूजा गरेर रातो अक्षताको टीका लगाइदिन्छ । अनि मुलीले एकपाथी अट्ने सिंफूल (परम्परागत पाथी)मा काटेर राखेका फलफूलका टुक्रा, अक्षता, फूल, टीका, गोलो सुपारी र चानचुन पैसा राखेर पालैपालो एक÷एकजजनालाई टाउकोमा तीन÷तीन पटक खनाएर अभिषेक गरिदिन्छिन् । मुलीले नै सबैलाई मण्डप अगाडि राखिराखेको बिमिरा, ओखर, कटुस, सुन्तला, भोगटे, केरा, स्या, हलुवावेद, अम्बा, नास्पाती, अमला, सत्वयर, फलफूल, रोटी र मसला पोका साथै राखेर मखमली फूलको माला र कोखाः (धागोको माला) भएको थाली हातमा थमाउँछ । यसरी मुलीले दिएको थाली लिएर ढोगेर त्यसमा भएको कोखाः र माला लगाउँछन् । मण्डपमा खेलुइताः (विशेष प्रकारको मोटो बत्ती) बालेर झलमल पारेर मण्डपको अगाडि लस्करै बसेका परिवारका सबै सदस्यलाई फूलको सगुन दिने मुलीले दाहिने हातमा उसिनेको अन्डा, तारेको माछा र देब्रे हातमा रक्सीले भरिएको प्याला राखेर सगुन दिन्छिन् । अन्डाको सगुन दिनुभन्दा अघि दहीको सगुन दिने क्रममा दहीको कतारो देखाई त्यसमा भएको अलिकति दही बूढी औंलामा टाँसेर पुरुषको दाहिने कन्चटमा र स्त्रीको देब्रे कन्चटमा दहीको टीका लगाइदिन्छ ।

यसरी सुगन दिइसकेपछि भोजको भाग पस्केर सबैलाई भोग खुवाउने गरिन्छ । यो दिन राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३४ वर्षअघि देशका जनतालाई ऋणबाट मुक्त पारेर चलाएको नेपाल संवत् फेरिन्छ । नयाँ वर्ष लागेको उपलक्ष्यमा देशभरि र बाहिर विदेशमा पनि नेवार समुदायले नयाँ वर्षको शुभकामना ‘न्हू दँया भिन्तुना’ भन्दै हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

राजधानी
प्रकाशित मिति: २०१४-१०-२३