मैले नलेखेको उसको कथा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मैले नलेखेको उसको कथा



‘दाइ हजुरको कथा छापिएछ आज’ ,चियापसल पुग्ने बित्तिकै मुन्ना बोल्यो।मुन्ना गोरेदाइको चियापसलमा काम गर्ने भाइ।मेरो छापिने कथाहरू मलाई प्राय उसले नै सुनाउने गर्छ।’मुन्ना,एउटा चिया र चुरोट ल्याइदेउ त।अनि पत्रिका पनि है’ मैले अर्डर गरे।

‘पत्रिका हेर्दै गर्नुस है दाइ,चिया छिट्टै तयार हुन्छ’ मुन्ना चुरोट र पत्रिका छोडेर गयो।मैले पत्रिकामा नजर डुलाए।मेरा नजर पत्रिकाको मूल पृष्ठमा बसेर टक्क रोकिए।सेतो पानामा कालो रङ्गले ठुलाठुला अक्षरमा लेखिएको हेडलाइनले नै म स्तब्ध भए।बल्ल बल्ल जोडेको मुटु फेरि बालुवाको घरजस्तै भत्कियो।त्यो समाचारले मलाई आफ्नो विगतमा फर्कीन बाध्य गरायो एक पटक।

धेरै दिनदेखि लेखेको कथामा ब्रेक लागेको थियो।अस्तिनै सुरु गरेको कथालाई मैले आधा बिचमै छोडिदिएको थिए।शब्दहरू पनि पहिले जस्तो सजिलै जन्मिदैनथे मनबाट।ठ्याक्कै ढक र तौलिएको बस्तु बिचको सन्तुलन नमिले जस्तो भइरहेको थियो।जसोतसो कथा त पूरा गर्थे।तर घरी के मिल्दैनथ्यो घरी के।म भित्र भित्रै अजित भैसकेको थिए।त्यो दिन कलेजबाट फर्किदै गर्दा एउटा प्रण गरे।आज जसरी भए पनि त्यो कथा पूरा गर्छु।

कोठामा आइपुग्ने बित्तिकै खाना पकाउन भ्याए।गाडी छुट्न लाग्दा यात्रुले जसरी खाना छिट्टै खाए।खाना खाइसकेपछि लामो सन्तोषको अक्सिजन तान्न पायो होला मुटुले सायद।अनि त्यसरी नै निस्कियो कार्बनडाइअक्साइड बनेर फोक्सोबाट।अब म मेरा दुई बुढी औंलाहरुले ती निर्दोष मोबाइलको किबोर्डमा रहेका अक्षरहरुलाई घोच्न थाले।यत्तिकैमा ‘ढक ढक’ आवाज आयो बाहिरबाट।मैले अनुमान लगाए ‘पक्कै घरबेटी आमा हुनुपर्छ’।

मैले जुरुक्क उठेर ढोका खोल्नसाथ घरबेटी आमाले भन्नुभयो’बाबु,आजदेखि पल्लो कोठामा एक जना नानी आउदैछिन।पानी बाडेर लिनु अनि ट्वाइलेट र गल्ली सफा गरेर बस्नु।केही पर्‍यो भने मलाई खबर गर्नु।म यत्ति भन्न आको’।मैले ‘हस’ को भावमा मुन्टो हल्लाईदिए।घरबेटी आमा सिढी उक्लनुभयो।घरबेटी आमाको ती बाक्यहरुले मैले कथाको लागि सोचेका शब्दहरू कता भागे कता पत्तै पाइन।जबर्जस्ती लेख्न खोजे तर औलाहरु स्थिर भइरहे।’आजपनी पूरा गर्न नसकिने भयो कथा’ एक पटक आफैसङ्ग रिस उठेर आयो।अब कथाको लागि शब्द फुरेन।अनि कल्पना गरे उसैलाई जो नजिकैको कोठामा आउने वाला थिइन।

रिङ्गरोडबाट करिब पाचसय मिटर पूर्वमा थियो एउटा दुइतले घर।जुन घरको माथिल्लो तलामा चारवटा कोठा थिए जहाँ घरबेटी आमाका जहानहरु बस्ने गर्दथे।तल्लो तलामा भने तीनवटा मात्रै कोठा थिए।एउटा ठुलो कोठामा सप्तरीका यादव दाइ र उसको श्रीमती बस्दथे।अनि बाकी मध्यको एउटा कोठामा म बस्थे र अर्को कोठा केही महिना देखि खाली थियो।केही महिना अगाडि सम्म त्यस कोठामा गुल्मीका दाईहरु बस्नुहुन्थ्यो।मास्टर्सको एक्जाम सकिएपछि दाईहरुले त्यो कोठा छाड्नु भएको थियो।जयराज दाइले सानो व्यवसाय गर्नुभएको कारण दुवै दम्पती बिहानै उठेर जान्थे।अनि साझ परेसी मात्र फर्कन्थे।यसरी म त्यस तलामा नितान्त एक्लो भएको थिए।
‘जे होस अब त्यो कोठाले फेरि स्पर्श पाउने भयो।

अनि मैले दिन कटाउने साथी’ यस्तै सोचे।मेरो मुजा परेका ओठका धर्साहरु आफै तन्किए।साच्चिकै कस्ती होली उनी जो यस कोठामा आउदैछिन।’नाक थेप्चो परेकी,गोलो गोलो आँखा अनि पिपलपाते ओठ भएकी?’ होइन होइन,”चुच्चो नाक,छिर्के आँखा,गोलो अनुहार अनि सर्लक्क मिलेको ज्यान भएकी हुनुपर्छ’ म चित्रकार थिइन तैपनि मनको क्यानभासमा उसको अनेक अनेक रूपको कल्पना गरिरहे,दाजिरहे।
‘टिट टिट’ त्यत्तिकैमा कानमा आवाज ठोक्कियो।हत्तपत्त गेटबाहिर निस्केर हेरे।दुइटा अटो रिक्सा उसको सामान लिएर हाजिर भएको थियो मेरो अगाडि।

यत्तिकैमा पछिल्लो रिक्साबाट उनी झरिन।म हेरेको हेर्यै भए।मैले गरेको दोस्रो अनुमान ठ्याक्कै मिल्यो उसको रूपसित।चुच्चो नाक,छिर्के आँखा गोलो अनुहार अनि सर्लक्क मिलेको ज्यान।

‘ओ भाइ,के हेरिरहनु भएको यसो हेल्प गर्नुस न’ पहिलो रिक्सावाला बोल्यो।म झसङ्ग भए।आफूलाई सम्हाल्ने कोसिस गरे र भने ‘ल्याउनुस खोइ,त्यो सिलिन्डर म लाग्छु।’यसरी हामी सबै मिलेर उसको सामान कोठासम्म ल्यायौ र सबै सामन मिलायौ।कोठाको खोक्रो रूप पनि अब बिस्तारै पुरिदै गयो।हेर्दाहेर्दै कोठा बिहेको लागि सजिएकि बेहुली जस्तै देखिन थाल्यो।

रिक्सावालाहरु आआफ्नो भाडा लिएपछी बाटो लागे।कोठामा हामी दुईजना मात्र थियौ।उनी हल्का लजाएकि थिइन।मैले पनि अपरिचित युवतीलाई बोलाउने हिम्मत गर्न सकिन।म उठेर आफ्नो कोठातिर आउन खोजे।’मलाई सघाउनु भएकोमा धन्यवाद है हजुरलाई’ बोलचालको सुरुवात उनीबाटै भयो।उसको रूपजस्तै मिठो बोली थियो।बोली सुनिरहदा मात्रै पनि मधुमेह होला जस्तो लाग्ने।’धन्यवाद भन्नू पर्दैन।यो त मेरो कर्तव्य पनि त थियो नि’ मैले आफ्नो नायकत्व देखाउन खोजे।

‘म चाहिँ सजिना’
‘म रेश’ मैले नाम जत्तिकै छोटो उत्तर दिए।

उनी मुस्कुराइरहिन केही बोलिनन।मैले पनि यो भन्दा बढी बोलाउन सकिन।म कोठामा आए।अनि अगाडि बढाए आफ्नो अधुरो कथा।जुन मैले पूरा गर्न सकेको थिइन।कथा लेख्दै गए।कथामा महिला पात्र थपिनु पर्ने भयो।म आफै पनि झुक्किए।पात्र कथामा थपिएको हो या आफ्नै जिन्दगीमा।सुहाउदो पात्रको नामको खोजीमा।मेरो टाउको भित्रको हार्डिस्कमा रहेका सयौ लेडिज नामहरू पनि एक्कसी फर्म्याट भएछन।मनको साहरा लिएर सर्च कति गरे।तर अह कुनै सुहाउदो नाम भेटिन।निकै बेर घोत्लिरहे।कथालाई त्यो भन्दा अगाडि बढाउन सकिन।प्यारालाइसेस भएजस्तै मेरा औला चल्दै चलेनन।

‘ढक ढक’ सायद ढोका उसैले ढकढक्याएछिन।छिटोभन्दा छिटो ढोका खोले।’हजुरलाई डिस्टर्ब त गरिन नि’ उसले बनावटी मुस्कान देखाई।म लाजले रातो अनि रातोबाट निलो भए।’नाई कुनै डिस्टर्ब भएको छैन।भन्नुस न’ मैले भने।’हजुरसङ्ग चार्जर छ भने दिनुस न।मेरोले सपोर्ट नै गरेन’ यति बेला लजाएजस्तै बोली।’तपाइलाई गोलो कि चेप्टो चाहिएको?’ ‘के ?’

‘मेरो मतलब सामसुङको कि नोकियाको?’ मैले आत्तिदै भने।’ए…सामसुङको’ उसले लामो सास तानेर बोली।मलाई पनि ठुलो राहत मिल्यो।मैले चार्जर दिए।उसले चार्जर थपी र ‘थ्यान्क यु’ भन्दै गैइ।हाडबिनाको जिब्रो न हो।पूर्व ताकेर बोल्दापनी कहिले पश्चिमतर्फ मोडिन्छ्न यसबाट निस्कने शब्दहरू।उसले पो कसरी सोच्ने हुन कुन्नि?मलाई नराम्रो नजरले सोचीन भने।?यस्तै कुराहरू खेलिरहे मनको रङ्गशालामा।मलाई आफ्नो लेख्दै गरेको कथा फेरि अगाडि बढाउन सकिन।मैले त्यो कथालाई त्यतिकै त्यत्तिकै थाती राखिदिए।

हाम्रो कोठाको ढोकाहरु आमुनेसामुमे फर्केका थिए।त्यसैले हाम्रो देखादेख भैरहन्थ्यो।प्राय बिना काम कसैले कसैलाई बोलाउदैनथ्यो। कहिलेकाही गल्लीमा भेट हुँदा पनि हामी मुस्कुराउथ्यौ मात्र।सायद मुस्कानैले हाम्रो भाषा बोलिरहेको हुन्थ्यो कि।बिस्तारै सजिनाले मेरो जिना हराम गरेकी थिई।म बिहानै उठेर कलेज जान्थे।म कलेजबाट फर्किदा उसको जाने पालो हुन्थ्यो।उनी कहाँ जान्थिन मलाई थाहा थिएन।
एक दिन हिम्मत जुटाएर भने
‘तपाईँ खास के गर्नुहुन्छ?’
‘म सिलाई सिक्दै छु।पहिले बसेको कोठाबाट टाढा हुन्थ्यो तेसैले यता आकी’ उसले जवाफ फर्काई।
‘ए’ मैले मनमनै भनेछु।
‘अनि तपाईँ नि?

‘बहुमुखीमा पढ्दैछु।अहिले ब्याचलरको चौथो वर्ष’ मैले जवाफ फर्काए।’ल म जान्छु है।ढिला भए।भरे भेटौला नि।’ उनी अगाडि बढिन।म एकटकले हेरिरहे।दिनैभरी उसकै बारेमात्र सोचेर बसिरहे।साझ कहिले होला र उसलाई भेट्न पाउछु भनेर बसे।सायद समयले पनि थकाई मार्दै थियो कि।घडीका सुइहरु चलेजस्तो पनि लागेन।उसलाई भेट्न निकै हतारो भएको थियो।त्यसैले त सधैको समय पनि आज कछुवा जस्तै लाग्ने थालेको थियो मलाई।

सत्यता यही थियो।बिस्तारै दिन ढल्यो।घाम क्षितिजबाट जुनलाई डाक्दै बिदा हुन आट्यो।अनि उसको आगमन भयो अर्थात् सजिनाको।
उसको मुहारमा एउटा अनौठो किसिमको मुस्कान छारिएको थियो।बिहानै उदाएको सूर्यको किरण छाएजस्तो।मैले अनुमान लगाए।पक्कै आज यिनी खुसी छिन।’रेश जी,मैले आज तपाइको बारेमा एउटा कुरा थाहा पाए नि’ उनी सामुने आएर बोलिन।’के कुरा थाहा पाउनुभयो?’ मैले सामान्य जवाफ फर्काए।

‘तपाईँ कथा लेख्नुहुदोरहेछ नि।’
‘कसरी थाहा पाउनुभयो तपाइले’ मैले फेरि प्रश्न गरे।
‘हाम्रो ट्रेनिङ सेन्टरमा आइरहन्छ पत्रिका।तपाइको कथा छापिएको रहेछ। यी हेर्नुस त’ उसले पत्रिका मलाई दिई।मैले पत्रिका थपे र हेरे।मेरो ओठमा पनि एक मुस्कान आएर थपक्क बस्यो।म मुस्कुराए।नवराज दाइले ‘फेरि अर्को सुरुवात’ शीर्षकको कथा छाप्नु भएको रहेछ।जुन कथा धेरै पहिले नै मैले इमेलमा पठाएको थिए।
‘कस्तो लाग्यो कथा तपाईँलाई?’ मैले प्रश्न गरे।
‘मलाई तपाईँ होइन अब तिमी भन्नुस’ उसले भनी।
‘किन?’ मैले उल्टो प्रश्न गरे।
‘अब यति राम्रो कथा लेख्नुहुदोरहेछ तपाइले।अब साहित्यकार जस्तो मान्छेले कहाँ म जस्तोलाई तपाईँ भन्ने त?’ उसले व्यंग्य मिसाएर दुइटै प्रश्नको उत्तर एकैचोटि दिई।
‘म लेख्न सिक्दै छु।साहित्यकार चाहिँ नभन ल।फेरि लेख्न सुरु गरेका यी हातहरू लुलो हुनेछ्न’ मैले जिस्किएर भने।
‘किन लुलो हुनु नि हौ?’ उसले फेरि प्रश्न गरी।
‘तिम्रो झुटो तारिफ बढी भएर नि’ मैले प्रश्नको शैलीमै उत्तर फर्काए।
‘ओहो!गफ गर्न पनि कत्ती जान्ने भन्या।खोइ दिनुस पत्रिका।म बेलाबेलामा पढ्छु।मलाई मनपर्यो तपाइको कथा’ आफैले पत्रिका मेरो हातबाट तानिन।पत्रिका थोरै च्यातियो।

त्यसदिन देखि नजानिदो तरिकाले हामी नजिकियौ।सुरुको दिन देख्दा यिनी बोल्दिन जस्तो लागेको थियो।तर मेरो अनुमान गलत साबित भैदियो।उनी हास्थिन,बोल्थिन।जे होस फरासिली स्वाभावकी थिइन उनी।हामी झन् घनिष्ठ साथी बन्दै गयौ।यस्तो साथी थियौ हामी जो बर्तमनलाई साझेदारी गरेर रमाइरहेका थियौ।हामीमा आफ्नोपन यतिसम्म थियो कि।म बिहानै उठेर कलेज जान्थे।म कलेजबाट फर्किदा उसले खाना बनाएर राख्थिन।अनि उनी सिलाइको क्लास सकेर आउँदा म उसको लागि नास्ता तयार गरेर राखेको हुन्थे।म बिस्तारै बिस्तारै उसको मायाको सागरमा डुब्दै गएको थिए।उनी सिलाइको क्लास जाँदा दिनभरि एक्लो हुन्थे।साझ त भेट हुनु नै थियो तर फेरि म डराउथे।यसरी म उसको प्रेम छु भन्ने लाग्थ्यो।आफ्नै छाती छाम्थे एक पटक।ओहो! आफ्नै छाती हलुको लाग्थ्यो ।अनि आफ्नो मुटु उसले चोरेर लागेकी छिन भन्नेमा म शतप्रतिशत ढुक्क हुन्थे।

मैले सुटुक्क उसलाई मनको दरबारमा रानी बनाइसकेको थिए।तर उसलाई थाहा थिएन सायद।म भने मनमनै मन पराउथे।उनी झन् झन् नजिकिदै गैरहेकी थिइन मप्रति।उनी मेरो कलेज ड्रेससम्म धोइदिन्थी।म जानी जानी गल्ती गर्थे।उनी माया मिसाएर मलाई गाली गर्थिन।अनि भन्थी’आफ्नो जस्तो लाग्छ तपाईँ।त्यसैले मात्र भनेकी’।उनी आँखा टिलपिल गराउथी।म आँसु पुछिदिन्थे।अनि बल्ल उनी मुकुराउथिन।उनी मलाई माया गर्छिन भन्नेमा म झन् बिश्व्वास्त हुन्थे।

शानिबारको दिन।हामी दुबैजनालाई बिदा थियो।म खाना खादै थिए।उसले अरू दिन भन्दा निराश भएर भनी ‘रेश जी,के तपाईँ हाम्रो कथा लेख्नुहुन्छ?’म फिस्स हासे।मलाई थाहा थियो।आफू र मलाई नै उसले हाम्रो भनेकी भनेर।तर म उसकै मुखबाट सुन्न चाहन्थे।अनि नजानेझै गरेर भनिदिए।

‘क-कस्को?’
‘मेरो हाजबेन्ड र मेरो’ उसले दबिएको स्वरमा बोली।शरीरमा चारसय चालिस भोल्टको करेन्ट लागेजस्तै भयो।भनन्न रिंगटा लागे जस्तै भयो।केही सोच्नै सकिन।

‘लेख्नुहुन्छ नि है’ फेरि उसले बिन्ती बिसाई।’अ,अ’ बाकी जवाफ टाउकोले दिए।उसको लागि मैले सजाएको सपनाहरू खसे सगरमाथाको टुप्पोबाट अनि तराईको फाटमा पछारिए।खादै गरेको भात रुचेन।तैपनि मीठो मानेर खाए जस्तो गरे।म बहुत सजग भए।म चाहन्नथे उसले मेरो अनुहारमा एक्कासि आएका भावहरु पढोस।

आफैमा घृणा जागेर आयो।आफ्नै अनुहार फोहोर लाग्न थाल्यो।पछुतो भयो एउटी बिबाहित नारीसङ्ग नजिकिएकोमा।एउटी बिबाहित नारीलाई मनमन्दिरमा सजाएकोमा।भैगो अब यो गल्तीलाई म अगाडि बढाउदिन मनमनै सोचे।मुहारमा एउटा बनावटी मुस्कान जबर्जस्ति अड्याए।अनि भने’ल भन,म लेखिदिन्छु तिम्रो कथा’ मैले सुन्न थाले अनि उसले भनी’पहाडको बिचमा एउटा गाउँ छ।गाउको सबैभन्दा पल्लो छेउमा मेरो घर थियो।गाउमा स्कुल नभएको कारण म मामाघर बसेर पढ्थे।एकरात आएको भीषण वर्षाले मेरो गाउको केही घर पहिरोसङ्ग मिसाएर लाग्यो।मेरा आमाबाबु अनि भाईबाहिनी सबै एकचिहान भए।म मामाघर बसेकोले मात्र बाचे।’ उनी जोडले रुन थालिन।मैले उसको आँसु पुछिदिए र भने ‘भन भन अनि के भयो?’

फेरि उसले भन्दै गैइ ‘मामाघरमा पनि म बोझ भैसकेको थिए।मेरो मामाले इन्द्रेसङ्ग मेरो सत्र वर्षको उमेरमा बिहे गराइदिनुभयो।इन्द्रे कतार गएको तीनबर्ष भैसक्यो।अहिले म बाइस वर्षकी भए।मेरो काकीको मद्दतले म यतिसम्म आउन पाए।तर जीवन कष्टमै भोगेको थिए मैले।सादा जिन्दगी बिताइरहेको थिए मैले।फिक्का फिक्का लाग्थ्यो आफ्नै जिन्दगी।बेसाहरा भएर जिएकी थिए।यस घरमा आएदेखि मैले हजुर जस्तो साथी पाए।खुसी हुन थाले बिस्तारै बिस्तारै।आफ्नो विगत भुलिदिए अनि राम्न थाले बिस्तारै बर्तमनमा।’ उसका मुख बन्द भए।म पनि बोल्न सकिन।उसको आखाबाट आशुहरु बगे।मेरा परेलीबाट पनि आशुहरुले यसरी हाम फाले कि मेरो आँसु उसको आशुलाई साथ दिन दौडिएकोछ।हामी दुवै बोल्न सकेनौ।वातावरण शान्त भयो।मौनता छायो केही बेर।कोठामा उसको सुक्क सुक्क आवाज बाहेक केही सुनिएन।

‘म तपाइसङ्ग प्रेममा पर्न थालेकी छु।म तपाइबिना बाच्न सक्दिन,रेश जी।’ मौनता चिर्दै उसले बोली।उसको त्यो शब्दहरू तिखो काडा भएर बिझे मुटुमै।मुटु झन् दुखेर आयो।म दुबिधामा परे।

‘अनि इन्द्र पनि त छ नि तिम्रो जिन्दगीमा।के तिमीलाई उसको कुनै चिन्ता छैन?’ मैले सकिनसकी प्रश्न गरे।’कुन इन्द्रको कुरा गर्दै हुनुहुन्छ तपाईँ?जसले केवल यौनको लागि मात्र बिहे गर्‍यो।आफ्नो जिबनसंगीनीलाई एउटा खाटसङ्ग सजिने टन्ना जसरी व्यवहार गर्‍यो।आफ्नो श्रीमतीको भावना बुझ्न सकेन।उसको कुरा गर्दै हुनुहुन्छ?’ उनी झन् जोडले रुन थाली।यत्तिखेर मैले आँसु पुछ्नको लागि उसको अँखासामु मेरा हात पुर्‍याउन सकिन।म ट्वाल्ल हेरेर बसिरहे मात्र।फेरि उ आफै बोल्न थाली।’म उसलाई सम्झिन चाहन्न।तपाईँ साथ दिनुहुन्छ भने बरु म दासी भएर तपाइसङ्ग जिन्दगी बिताउन तयार छु।तर त्यो यौन पिपासु सङ्ग बस्न सक्दिन।’ उनी सुक्क सुक्क गरिरहिन।सायद आखाबाट आशु सकियोहोला।म झन् दोधारमा परे।मेरो माश्तिष्कले भन्दै थियो ‘तिमी उसलाई अपानाउन सक्दैनौ।किनकि उ अरू कसैको भैसकेकी छे।’फेरि अर्कोतर्फ मेरो मनले भन्दै थियो।’यदि तिमी सङ्ग साचो माया गर्ने मन छ भने उसलाई अपनाउ’ माश्तिष्क र मन बिचको युद्धमा मैले मनको समर्थन गरे।केही वर्ष अगाडि मैले नबिनालाई मन पराउथे।एक दिन नबिनासङ्ग प्रस्ताव राखे।नबिनाले मेरो प्रस्ताव अस्वीकार गरिन।मेरो मुटु सधैँ सधैको लागि दुखिरह्यो।अखिर त्यही दुखेको मुटुको औषधि बन्न आइपुगेकी थिइन सजिना पनि।मैले एक पटक आफ्नो दुखेको मुटु र सजिनाको मुटु दाजे।घाउहरु एउटै थिए।अनि पिडाहरु उस्तै हुने नै भए।

‘भैगो जिन्दगी न हो।सबैले राम्रो अनि खोजेको जस्तो कहाँ पाउँछन् र?विगतलाई बिर्सेर बर्तमनमा सुखदुःखमा साथ दिनसक्नु नै मायाको अर्को रूप हो’।यस्तै सोचे’सजिना पहिले कसैकी भएर कुनै फरक पर्दैन मलाई।भैगो साथ दिन्छु उसैलाई।जे पर्ला पर्ला।’ ‘म तिमीलाई साथ दिन्छु सजिना तर एउटा सर्तमा ।’ मैले भने।

‘कस्तो सर्त?’ उसले हतारिएर सोधी।’तिमी सधैँ मुस्कुराई रहनुपर्छ’ मैले भने।’हस’ उनी मुस्कुराई।अनि चप्पक्क मेरो अँगालो मा कस्सिइ।कोठा झन् उज्यालो भएर आयो। त्यसदिन देखी हामी एकाअर्काको लागि पक्का भयौ।

साथमा सङ्गै रुने हास्ने साथी भएपछि बल्ल समयले पनि हतार गर्दो रहेछ।अँखा झिमिक्क गरेर खोल्दा त लगभग एकबर्ष हुन आटेछ।त्यस एकबर्षको बिचमा हामीले एकजुगलाई पुग्ने गरी खुसी साट्यौ।सुखदुःखहरु साट्यौ।हाम्रो सादा सादा जिन्दगीमा कहिल्यै नउप्किने गरी खुसीका रङ्गहरु पोत्यौ।

एक दिन म कलेजबाट फर्किदा उनी मेरै बाटो हेरिरहेकी थिइन।म कोठामा पुग्ने बित्तिकै उसले मलाई अँगालोमा बाधी।उनी जब खुसी हुन्थिन तब मलाई अँगालोमा बाध्थिन।मैले जानकार भए जसरी नै सोधे ‘भन आज किन यत्ति धेरै खुसी?’
‘भन्दिन’ उनी झन् खुसी भएको अड्कल काटे।
‘भन न भन’ मैले कर गरे।
‘रिसाउनुहुन्छ तपाईँ’ उसले भनी
‘रिसाउदिन ‘
‘प्रमिश?’ उसले झन् खुसी भएर भनी।
‘उम’ मैले मुन्टो हल्लाए।

‘आज इन्द्रले कल गरेको थियो।तिमीले भनेको सबै मान्छु।अब विदेशबाट आएर गाउमा एउटा घर बनाउछु अनि पसल थप्छु तिम्रो र मेरो लागि भनेको छ।’ उसले यसरी भनी कि मानौ उसले धेरै समयपछि विजयको समाचार सुनेकी छे।
मेरो अनुहारमा भने कालो बादल मडारियो।मैले उसलाई हेर्न सकिन।मेरा दुइजोर परेलीहरु आशुले टम्म टम्म भरियो अनि पोखियो।
‘रिसाउनु भएको हो कि क्या हो?’ उसले हासेर भनी।

‘अनि भन न अरू के के भन्यो उसले?’ मैले सकी नसकी सोधे।
‘तिमीलाई धेरै दुख दिए सजिना भनेको थियो।म अब सबै कुरा बिर्सेर हाम्रो जिन्दगी अगाडि बढाउने सोचमा छु।मलाई एक पटक विश्वास गरेर हेर अब मबाट त्यस्तो गल्ती हुँदैन भनेको छ।’ उसले रमाई रमाई भनी।म उसको मुहारमा पहिलोपटक यस्तो खुसी देख्दै थिए।बल्ल उसको ओठमा प्राकृतिक मुस्कान देखिए जस्तो लाग्यो।
‘थाहा छ? मैले तपाइको बारेमा पनि भने।तपाइलाई पनि भेट्छु भनेको छ।’
‘अनि तिमीले के बिचार गरेकी छ्यौ नि?’ मैले प्रश्न गरे।

‘उम….कतै मुटुको कुनामा उसको माया अल्झेर बसे जस्तो लाग्छ।मोरो आफू पनि म जस्तै टुहुरो त होनि।पहिला आफैले बुझ्न सकेन।अहिले म बिना मर्छु भन्छ।’ उसले पहिले घोकेर बसेजस्तै खररर भनी।
‘अनि फेरि म तपाईँलाई पनि भुल्न सक्दिन।’ बल्ल पछि उसले थपी।
ओहो!अखिर मान्छेको जिन्दगी पनि सिमलको भुवा जस्तै त हो कहिले कता कहिले कता उड्नुपर्ने।भैगो अखिर पाउनुमात्र माया होइन गुमाउनु पनि त माया हो नि।कसैको यो भनाइ र उसको ओठको मुस्कान सम्झे।अखिर आफूले माया गर्ने मान्छेको खुसी सहन नसक्ने हो भने त त्यो माया के माया।

‘सजिना,तिमी मेरो जिन्दगीमा आएर मैले धेरै थोक पाएको थिए।मैले पाएको खुशीहरु नै तिम्रो प्रेमको उपलब्धि मानेर सधैँ संगालेर राख्नेछु।तिमी इन्द्रसङ्गै जानुपर्छ।नत्र बिबाहित जोडीहरु माथि सिङ्गो प्रश्न खडा हुनेछ।’ मैले आशु पुछ्दै भने।
‘रेश जी,तपाईँ जस्तो प्रेमीहरु सायद कमै हुन्छन्।जसले शरीरलाई होइन,मनलाई प्रेम गर्छन्।म जहाँ गएपनि जहाँ भए पनि तपाईँलाई सधैँ सम्झिरहनेछु’ उसले टिलपिल आँसु सङ्गै बोली।
फेरि भनी ‘तर एउटा सर्तमा’
‘कस्तो सर्त’ मैले आत्तिएर सोधे।
‘तपाईँ सधैँ मुस्कुराइरहनु पर्छ।’ उसले भनी
‘हस’ कुनैबेला उसले जस्तै मैले भने।
‘अनि हाम्रो कथा चाहिँ पूरा गर्नुस है’ उसले फेरि भनी।
‘हुन्छ’ मैले भने।

भोलिपल्ट उनी गाउँ गैइन।आफ्नो सबै सामान लिएर गैइ त्यो कोठाबाट।त्यो कोठा फेरि खाली नै रह्यो र मेरो मनपनी।
धेरै दिन लगाएर बल्लबल्ल उसको कथा पूरा गरे।कथा पूरा गर्दासम्म अँखाबाट कति आशुले आत्महत्या गरे कुनै यकिन छैन।कथा सकिएपछी नवराज दाइलाई दिए।यत्तिन्जेलसम्ममा म यस चियापसलमा आएर चुरोट पिउने भैसकेको थिए।

‘दाइ चिया सेलाईसक्यो।खानुस न’ मुन्नाको यो शब्दले म झस्किए।हत्तपत्त अँखाबाट आँसु लुकाए।मुन्नाले अघि नै चिया ल्याइसकेको रहेछ।
कुनैदिन उसले यसरी नै भनेकी थिई।

‘चिया सेलाईसक्यो खानुस।कहिले नदेखे जस्तो किन हेर्नुभाको मलाई?”के थाहा?फेरि हेर्न पाइन्छ कि नाई यो निर्दोष अनुहार’ मैले भनेको थिए।’कसले छुटाउन सक्छ र अब हामीलाई।म नै छुट्न चाहन्न हजुरबाट’ उसले भनेकी थिई।

‘त्यसोभए भन,मेरो लागि के के गर्न सक्छौ?’ मैले बिचार बुझ्ने उद्देश्यले प्रश्न गरेको थिए।
‘अब त म हजुरको लागि मर्न पनि सक्छु र मार्न पनि सक्छु’ उसले भनेकी थिई।
‘ओहो!यत्रो आट है?’ मैले अँगालोमा कसेको थिए उसलाई।
फेरि यी संवादहरु कानभरी गुन्जिरहे।अँखाबाट पत्रिकामा टप्प खस्यो।आशुले आफूले भ्याएसम्म पत्रिका कालो भएर फुलियो।पत्रिकामा लेखिएको हेडलाईन यस्तो थियो ‘युवतीद्वारा श्रीमानको हत्यापछि आफैले गरिन आत्महत्या’। अनि समाचार को केही अंश यस्तो थियो
‘सजिना वर्ष २१ ले,गएराती आफ्नो श्रीमान् इन्द्र,वर्ष २५ को हत्या गरेपछि आफैले आत्महत्या गरेकी छिन।यश घटनाको कारण भने अझै खुल्न सकेको छैन।…..’

‘दाइ आज चिया मीठो छैन हो?’ मुन्ना बोल्यो।’तिम्रो चिया मीठो छ भाइ।आज त आफ्नै जिन्दगी तितो लाग्दैछ मलाई’ भन्न खोजे तर सकिन।पत्रिकामा छापिएको उनीहरूको कथा पढ्ने आट पनि आएन।आशुहरुलाई कंचटतिर लुकाएर म केही नबोली त्यहाबाट निस्के।

केशु ‘असफल’ मगर
निस्दी गा.पा.-०६,पाल्पा