मकाउको हुण्डीबाटै पाँच अर्ब - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मकाउको हुण्डीबाटै पाँच अर्ब



मकाउ, असोज ३ ।

नेपाली युवाका लागि रोजगारीको आकर्षक गन्तव्यका रूपमा रहेको चीनको विशेष प्रशासनिक क्षेत्र मकाउबाट नेपालमा हुण्डीबाट मात्रै रकम भित्रिने पाइएको छ । मकाउमा नेपाल पैसा पठाउन सक्ने कुनै किसिमको बैङ्किङ प्रणाली नहुँदा दशकौँदेखि त्यहाँ कार्यरत नेपाली कामदार हुण्डीमार्फत नै रकम पठाउन बाध्य भएका हुन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) मकाउका वरिष्ठ उपाध्यक्ष मङ्गल राईका अनुसार मकाउमा अहिले चार हजारभन्दा बढी नेपाली कामदार छन् । ती कामदारको मासिक औसत बचत एक लाख रुपियाँ हुने उनले बताए । अधिकांश नेपाली कामदार त्यहाँ सञ्चालनमा रहेका क्यासिनोमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । मकाउमा कार्यरत नेपाली कामदार र उनीहरूको मासिक औसत बचतको हिसाबले वार्षिक करिब पाँच अर्ब रुपियाँ हुण्डीबाटै नेपाल भित्रिने गरेको छ ।

मासिक आम्दानीलाई सोझै नेपाल पठाउने माध्यम नभएपछि अधिकांश कामदारले हङ्कङ तथा चीनको ग्वान्झाओमा हुण्डीको कारोबारमा संलग्न नेपालीमार्फत नै पैसा पठाउँदै आएका छन् । हुण्डीमा संलग्न त्यस्ता व्यक्तिले नेपाली कामदारबाट सस्तोमा सटही लिने र ग्वान्जाओमा सामान खरिद गर्न आउने नेपाली व्यापारीलाई महँगोमा बिक्री गर्दै आएका छन् ।

मकाउकै ठूलो मध्येको भेनेसियन होटलमा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका पाण्डे थरका नेपालीले नाम उल्लेख नगर्ने शर्तमा भने, पैसा पठाउने अरू माध्यम नभएपछि एजेण्टकै भरमा नेपाल पैसा पठाइरहेका छौँ । हुण्डीका त्यस्ता एजेण्टले अप्ठ्यारो अवस्थामा पनि कामदारबाट पछि पैसा लिने गरी नेपालको खातामा पैसा पठाइदिने गरेको उनको अनुभव छ । त्यसैले यहाँ हुण्डी एजेण्टप्रति सबैको विश्वास छ, उनले भने ।

कतिपय नेपाली कामदार सुरक्षा गार्डबाहेक सुपरभाइजर तथा अपरेसन म्यानेजरको तहसम्म मकाउमा काम गरिरहेका छन् । सुपरभाइजरको औसत मासिक बचत कम्पनी अनुसार चार लाख रुपियाँ र म्यानेजरको सात लाख रुपियाँसम्म हुने गर्छ । वरिष्ठ उपाध्यक्ष राईका अनुसार अहिले करिब एक सय नेपाली सुपरभाइजरको हैसियतमा मकाउमा काम गरिरहेका छन् । पछिल्लो समय मकाउप्रति नेपाली युवाको आकर्षण थप बढ्दै गइरहेकाले पनि वार्षिक रूपमा त्यहाँबाट नेपाल भित्रिने रकम सोही अनुसार वृद्धि हुँदै गएको छ । रकम पठाउन हुण्डी नै व्यापक प्रचलनमा रहेकाले नेपाल भित्रिने रकमको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन ।

‘पर्यटक भिसामा नआउनु’
मकाउमा कार्यरत रहेका नेपाली कामदारले स्थापना गरेका सङ्घसंस्था र मकाउस्थित एनआरएनका लागि पछिल्लो समय ‘पर्यटक (भिजिट) भिसा’मा कामदारका रूपमा आउने नेपाली टाउको दुखाइको विषय बनेका छन् । पर्यटक भिसाको अवधि सकिँदासम्म पनि काम नपाएर पछिल्लो समय केही नेपाली अलपत्र पर्न थालेपछि त्यहाँका संस्थालाई यो विषय ठूलो समस्या बनेको छ । मकाउले पर्यटकका लागि दुई हप्तासम्मको भिसा दिने गरेको छ ।

नेपालमा मकाउ पठाउने संस्थाले यही भिसाको आधारमा मकाउमा काम लगाइदिने प्रलोभनमा धेरै नेपालीलाई पठाउने गरेको मकाउमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका युवराज न्यौपानेले बताए  ।

न बसाइको टुङ्गो हुन्छ न त्यहीँबीच मै काम पाइने ग्यारेन्टी, उहाँले भन्नुभयो, नेपालमा लाखौँ तिरेर भिजिट भिसामा नआउनु नै सबैभन्दा सही निर्णय हो । भिसा अवधिभर सम्पर्कमा नरहने र समस्या सुरु भएपछि सङ्घसंस्था गुहार्ने प्रवृत्तिले समस्या बढाइरहेको त्यहाँका नेपाली संस्थाका प्रतिनिधिको भनाइ छ ।