कोरोना भाइरस नियन्त्रणका लागि मास्क तथा साबुन वितरण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोरोना भाइरस नियन्त्रणका लागि मास्क तथा साबुन वितरण



लम्की,कैलाली । लम्कीचुहा नगरपालिका वडा नम्बर १, उत्तर लम्कीमा रहेको चेतना सामुदायिक वन उपभोक्ता समुहले आजदेखी उपभोक्ताहरुलाई मास्क तथा साबुन वितरण गर्न शुरु गरेको छ ।

संसारभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस( कोभिड १९) को संक्रमणबाट सुरक्षित रहनका लागि नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीसंगको सहकार्यमा सामुदायिक वनले आफ्नो उपभोक्ता क्षेत्रभित्र रहेका परिवारलाई मास्क र साबुन वितरण गर्न सुरु गरेको हो ।

चेतना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लक्ष्मण बटालाले मास्क तथा साबुन वितरण कार्यक्रमको शुभारम्भ गर्दै उपभोक्ताहरुलाई कोरोना भाईरस विरुद्ध अभियानमा उपभोक्ताहरु सचेत हुनुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

सामुदायिक वनले आज पहिलो दिन लम्कीचुहा नगरपालिका वडा नम्बर १ को गिदरपुर र थपालीपुर ए टोलमा उपभोक्ताहरुको घर घरमा गएर प्रत्येक परिवारलाई ३ थान मास्क र एक एक थान साबुन वितरण गरेको छ । मास्क तथा साबुन वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैना, चेतना सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष राजन आचार्य, कोषाध्यक्ष रामबहादुर चलाउने, सदस्य सरिता चौधरी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सदस्य देवानन्द न्यौपाने, पर्सबहादुर चलाउने, महिला स्वास्थ्य एवम् सेविका पुजा देबकोटा लगायतकाको उपस्थिति रहेको थियो ।

कुल एक हजार ६ सय उपभोक्ता रहेको सामुदायिक वनले ५ हजार मास्क र एक हजार ६ सय साबुन वितरण गर्ने चेतना सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रामबहादुर चलाउनेले जानकारी दिए ।