मलाई बोलाउनु होस्– रातीको १२ बजे पनि आउछु : पोखरेल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मलाई बोलाउनु होस्– रातीको १२ बजे पनि आउछु : पोखरेल



रुपन्देही सालझण्डी ११  मंसिर

नेपाली कांग्रेसका तर्फवाट रुपन्देही क्षेत्र नं. ५ (१) का उम्मेदवार विष्णु पोखरेलले क्षेत्र नं. ५ का जनतालाई आवश्यक परेको खण्डमा रातीको १२ बजे पनि नभनी जनताकै सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले जनताको काममा जहाँ जान परेपनि आफू जतिबेला पनि तयार हुने बाचा गर्दै आफू निर्वाचित भए क्षेत्र नं. ५ (१) का जनताकै नजिकमा रहेर काम गर्ने वताउनु भयो ।

‘कोही नेता जितेर गएपछि एकपटक पनि जनतालाई मुख देखाउँदैनन तर म त्यस्तो होइन, मलाई विजयी गराउनु होस र भन्नुहोस तपाईहरुको लागि कहाँ जानुपर्छ म सदैव तयार हुनेछु’ उम्मेदवार पोखरेलले भन्नुभयो । रुपन्देही क्षेत्र नं. ५ (१) अन्तर्गत पर्ने गैडहवा गाउँपालिकाको विभिन्न स्थानमा आईतवार घरदैलो गर्दै उम्मेदवार पोखरेलले मतदातालाई पर्ने विभिन्न समस्यामा आफू जनतासंगै रहन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मधेश क्षेत्रका जनताको समस्या आफूले पहिल्यैदेखि पहिचान गरेको स्मरण गर्दै उहाँले मधेशको समस्या समाधानमा नेपाली कांग्रेसले जति त्याग र मधेशको विकास कांग्रेसले जति अरु कुनैपनि पार्टीले नगरेको उल्लेख गर्नुभयो ।

नेता भरत शाहले जितेर गएपछि कति विकास गर्नुभयो, तपाईहरुलाई थाहा छँदैछ भन्दै उम्मेदवार पोखरेलले अव यहाँको गल्ली गल्लीको विकास गर्न नेपाली कांग्रेसका सवै उम्मेदवार विजयी वन्नुपर्ने भएकोले भरत शाहसंगै आफूलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
मतदाताको जिज्ञासामा उम्मेदवार पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा तथा समानुपातिकको भोट समेत रुख चिन्हमै दिन आग्रह गर्दै कांग्रेसका सवै उम्मेदवारले जितेमात्र जनताले चाहेको विकास हुने भन्नुभयो ।

केही मानिसहरुले भोट फरक फरक उम्मेदवारलाई दिन मतदातालाई भ्रममा पारेर झुठको खेती गर्ने दुष्प्रयास गरिरहेको तर्फ मतदाताहरुलाई सचेत वनाउँदै पोखरेलले नेपाली कांग्रेसले केन्द्र र प्रदेश सवै तहमा जित्नु आवश्यक रहेकोले पनि कसैको भ्रममा नपरेर रुख चिन्हमा मतदान गर्न सवैसंग आग्रह गर्नुभयो ।

विगतमा सुकुम्वासी समस्या समाधान गरिदिन्छु, घरमै लालपुर्जा दिन्छु भन्नेहरुले जनतावाट पैसा समेत लगेर अहिले जनताको घरदैलोमा फेरी झुटको खेती गर्न आएकोतर्फ मतदातालाई सचेत वनाउँदै नेता तथा उम्मेदवार पोखरेलले सुकुम्वासी समस्या समाधान गर्न अव आफू सुकुम्वासीको घरदैलोमा आएको र कसैको भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।

सुकुम्वासीलाई लालपुर्जा दिने भन्दै जनतावाट उठाएको लाखौं रकममा भ्रष्टाचार गर्नेहरु फेरि तपाईहरुको घरदैलोमा आएर भोट माग्दैछन भन्दै पोखरेलले भन्नुभयो– अव उनीहरुसंग तपाईहरुले हिसाव खोज्नुहोस, लालपुर्जा दिने भन्दै उठाएको लाखौं रकम कहाँ गयो ? प्रश्न गर्नुहोस् । घरदैलो कार्यक्रममा सूर्यपुरा क्षेत्रका हजारौं कार्यकर्ता सहभागी भएका छन भने विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।