मलाईनै हटाउने षड्यन्त्र भएको रैछ:प्रधान न्यायाधीश कार्की - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मलाईनै हटाउने षड्यन्त्र भएको रैछ:प्रधान न्यायाधीश कार्की



काठमाडौं, २२ कात्तिक ।

प्रधान न्यायाधीश सुशीला कार्कीले उच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्न आफूलाई नै हटाउने षड्यन्त्र भइरहेको खुलासा गर्दै कतिपय मन्त्रीलेसमेत आफूलाई नटेरेको गुनासो पोखेकी छन् ।

सर्वोच्च अदालत बार एशोसिएशन र कानुन व्यावसायीको पेशागत संगठनका केही पदाधिकारीसँग छलफलका क्रममा प्रधान न्यायाधीश कार्कीले आफ्नो योजनाविरुद्ध षड्यन्त्र भइरहेको खुलासा गरेकी हुन् ।

‘प्रधान न्यायाधीश भएपछि मैले थाहाँ पाएँ, कस्ता–कस्ता षड्यन्त्र हुँदा रहेछन्,’ कार्कीले पदाधिकारीसँग भनेकी छन्, ‘तर पैसाका बिटा र नेताको चाकरी तथा सोर्स, भनसुनका भरमा म कसैलाई पनि नियुक्त हुन दिन्नँ, तत्कालै उच्च अदालतका न्यायाधीशहरू नियुक्त गरेर मात्र बिदा हुन्छु ।’

बहालवाला प्रधान न्यायाधीश स्वयंले पैसा लगानी गरेरसमेत न्यायाधीशमा नियुक्ति हुने गरेकोतर्फ संकेत गरेको यो पहिलो पटक हो । ‘पैसाको बिटो लगानी गरेर र नेताका सिफारिसमा न्यायाधीश भएकाले न्याय दिन सक्दैनन्, उनीहरू लगानी उठाउन लाग्छन्,’ उनको भनाई थियो ।

‘बैठकमा बोलायो नआउने, भेट्न कर्मचारी पठायो भेट्नै नदिने,’ मन्त्रीहरूको शैलीप्रति कार्कीको कटाक्ष उद्धृत गर्दै एक बार पदाधिकारीले भने, ‘अब त्यस्तो चल्दैन ।’ श्रोतकाअनुसार कार्कीले आफूलाई अवकाश गराएर मात्र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने षड्यन्त्र भइरहेको जानकारी आफूलाई भएको पनि निकटस्थलाई बताउने गरेकी छन् ।

प्रधान न्यायाधीश तथा कानुन व्यावसायीका प्रतिनिधिसँग भएको उक्त बैठकमा कार्कीले आफ्नो आगामी नियुक्तिमा महिलालाई पहिलो प्राथमिकतामा राखेकोसमेत खुलाएको छ ।

हाल सात जना मात्र महिला न्यायाधीश हुँदा देशको शीर अन्तर्राष्ट्रिय मञ्चमा निहुरिएको उनको गुनासो थियो । उच्च अदालतका लागि ८० को हाराहारी संख्यामा नयाँ न्यायाधीश नियुक्त हुने र त्यसमा आफूले ४५ जना सेवाभित्रका योग्यतम र बाँकी संख्यामा कानुन व्यावसायी महिला तथा अन्य वकिल नियुक्त गर्ने पनि प्रधान न्यायाधीशले खुलाएकी थिइन् ।

कानुन व्यावसायीको प्रतिनिधिमण्डलले उच्च अदालतको नियुक्तिमा ५० प्रतिशत स्वतन्त्र कानुन व्यावसायी लैजानुपर्छ भन्ने विषय समेत अघि सारेका छन् ।