मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ : सांसद शाही « Himal Post | Online News Revolution
Logo

मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ : सांसद शाही



काठमाडौं, ८ कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहका विरुद्ध महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई ज्यान मार्नेसमेत धम्की आएको छ । तैपनि महाअभियोग संसदबाट पारित हुनेमा उनी ढुक्का छन् । उनी भन्छन्, ‘मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ ।’

आन्तरिक सूचनाका आधारमा गम्भीर प्रकारकै समस्या आउने बुझियो । लोकतन्त्र, गणतन्त्र, अहिलेको नयाँ संघीय संविधान निर्माण र कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निभाएका, जो परिवर्तनका पक्षमा उभिंदै आएका शक्तिहरुलाई उहाँले टार्गेट गर्ने देखियो ।

महाअभियोग लगाउनु धेरै ढिला भयो, पहिले नै लगाउनु पर्थ्यो । मलाई महाअभियोग लगाउँछन् यिनीहरुले त्यसैले मैले जतिसक्दो चाँडो यिनीहरुलाई ठीक पार्नुपर्छ भन्नेमा उहाँ (लोकमान) मा लागेको देखियो ।

उहाँको विदेश बसाईका गतिविधिहरु, पशुपतिको वनकालीमा भारतीय मान्छे सामेल गराएर कार्यक्रम गर्नु, त्यहाँ पूर्वराजा ज्ञानेन्द्र शाहले केही घोषणा गर्नु र कमल थापाजस्ता मान्छे गएर बोलेर समर्थन गर्नुदेखि लिएर सबै डिजाइनहरु हेर्दा फेरि मुलुक प्रतिगमनतिर जान्छ कि भन्ने लाग्यो । भयानक दुर्घटना निम्तने परिस्थिति सिर्जना भएको थियो ।

मुलुकलाई गम्भीर दुर्घटनाबाट बचाउनका लागि नै लोकमानसिंहविरुद्ध महाअभियोग लगाउने आकस्मिक निर्णय लिनु परेको हो । सबैको साझा धारणा लिएर मात्रै महाअभियोग लगाउँला भनेको भए हामीलाई भीमकाय पहाड साबित हुन्थ्यो ।

तर, त्यसमा सहमत भए पनि दुई/चार महिना त्यसै जान्थ्यो । महाअभियोगको पक्षमा निर्णय लिने कुरा गाह्रो थियो । मिडियाले लोकमानविरुद्ध अभियान चलाउँदा, सामाजिक सञ्जाल र सडकमा नागरिक दबाब हुँदासमेत पार्टीहरुले निर्णय लिन सकेका छैनन् ।

लोकमानविरुद्ध आकस्मिक रुपमा महाअभियोग प्रस्ताव दर्ता नगरेको भए पार्टीहरुले चाँडो निर्णय गर्ला भन्ने थोरै आशा पनि गरेको थिइनँ । त्यसकारण हामीले अचानक महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका हौं । आजको कान्तिपुर दैनिकमा खबर छ ।