मलेसिया ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मलेसिया !



दीपक घिमिरे

खरबारी बेचेर आएको पैसा रने साहुलाई बुझाएपछी अन्ततः दिलबहादुरको मलेसियाको भिसा लाग्यो ।

रने साहु विदेश पठाउने नामुद दलाल हो भन्ने हल्ला गाँउभरी थियो तर पैला हातमा पैसाको बिटो नराख्दा सम्म काम गरेन । आफ्नो जग्गाको नाममा बचेको खरबारी बेचेर आएको साठी हजार दाम रनेका हातमा राखेको एक महिनामै भिसा आयो ।

आगनमा बसेको रामबहादुरलाई टिकाको थाली दिँदै चमेलीले भनिन “ नाम्रो आसिक दिनुस यल्लाई ! धेरै दुख पाइयो , अब सुख पाईन्च । मस्तै दाम कमायर आओस । ”

दिलबहादुर सुर्के झोला पिठ्युमा बोकेर रनेसाहु सँगै उभियको थियो । रामबहादुरले हातमा भएको बिंडी पिढीको ढुङ्गामा थेचारेर निभायो अनि एक पटक बेस्सरी खोकेर आगनको डिलमा गएर थुक्यो अनि आयर अक्षता लगाईदिदै भन्यो “ अभागी रैचस बाबु ! पढेर डाक्टर बन्लास भन्या थिए , डाईबर सम्म हुन सकेनस । नाम्ररी काम गर्नु , घर व्यवहारले च्याप्या छ । कमायको खुरुखुरु पठाउनु । ”

अझै धेरै आसिक दिने मन थियो रामबहादुरको तर सकेन । लुकाउन खोज्दै गरेका आँसु टीका थालीमै खसे । उसका हात काप्न थाले । भक्कानियर रुन मन थियो रामबहादुरलाई । बायाँ कुमले आँसु पुछ्दै उ फेरि पिढीमै बस्न गयो ।

उ पिढिमा बसेर हुक्क हुक्क गर्दै रोयो । चमेली सप्कोले मुख छोपेर गोठ तिर गै , दिलबहादुरले पनि आँखा निर्चोयो ।

रनेसाहुले घडी हेर्दै भने “ किन रुन्चौ ? के मर्न जान ला हो र ? कमाउन जान लाको हो , तिमुरका सपना पूरा गर्न जान लाको हो । हासेर बिदा गर यल्लाई । ”

रनेसाहुले रामबहादुरको पिठ्युमा सुम्सुम्याउदै भन्यो ।

टाउकोमा बसेको भादगाँउले टोपी निकालेर आँसु पुछ्दै रामबहादुरले रनेसाहु र दिलबहादुरलाई बिदा ग¥यो ।

बिदा माग्दै हिडेको छोरालाई बिदाइको हात हल्लाउन चमेली आईन् । उसले सायद गोठकै झ्याल बाट हेरी , आफ्नो मुटु भन्दा प्यारो छोरोले तीन वर्षका लागि बिदा मागेर हिडेको हेर्न सकिन ।

रनेसाहु अघि अघि , दिलबहादुर पछि पछि लागेर चेपे सोता काटेपछी गोठ बाट चमेली आइ , आँखा राता बनाउदै । यता रामबहादुरको पनि हालत उस्तै थियो । नाको टुप्पो रातो भएको , आँखा अझै रसाईरहेका थिय दुवै जोईपोईका ।

सन्तानको नाममा एउटा भएको छोरो पनि परदेश हिडे पछि दिउसै घर अँध्यारो भयो । हिजो सम्म रमाइलो लाग्ने घर आज बिरानो लाग्न थाल्यो ।

एक्लोपना र छोराको माया मेटाउन रामबहादुरले एक बोतल लोकल रक्सी घरमै लिएर आयो ।

चमेलीले मनभरि दिलबहादुरलाई सजाउदै तरकारी र रोटी तयार पारी । एक बोतल लोकल रक्सी पिएपछी रामबहादुरका सबै पीडा कता हराए कता ।

उ हसिलो देखिदै गयो , आफूलाई निक्कै खुसी देखाउन थाल्यो । रोटिको टुक्रा मुखमा हालेर कुम हल्लाउदै चमेलीलाई भन्यो “ अब हाम्रा सुखका दिन आए बड्डी । प्रति मैना चालिस हजार रुप्पे आउन थालेसी जाबा दुख त उ पर च्यानडाडाँमा मिल्काईदिने हो बुझिस । ”

चमेलीले आफ्नै सुरमा रोटी पोलिरही । उ नसामा बकबक गरिरह्यो “ रनेसाउले चालिस हजार रुप्पे भन्दा माथि कमाउच भन्या छ । हिसाब गर्तो , प्रति मैना चालिस हजारले तीन वर्षमा कति कमौच हाम्रो केटाले ? ”

चमेलीलाई रिस उठ्यो सायद ! “ चुप्प लागेर घिच , कति बक बक गर्चौ ! रक्सी खा तालमा हिसाब गर्दै बस । ”

रामबहादुर चुप्प लागेर थप दुई वटा रोटी खायो । एक गिलास दूध पनि खायो अनि जिम्दारी पारामा डकार्दै बिस्तरा भएको कोठामा सुत्न गयो ।

उता आखामा हजारौँ सपना सजायर सहर पुगेको दुई दिन पछाडि दिलबहादुर मलेसिया उड्यो रे ।
मलेसिया उडेको खबर रनेसाहुले रामबहादुरलाई पु¥याए ।

बिदाइ गर्दा रोएका रामबहादुरका दम्पती अब औला भाच्दै दिन गन्न सुरु गरे अनि पहिलो मैनाको तलब कहाँ खर्च गर्ने भनेर हिसाब गर्दै बस्न थाले ।

छोरो मलेसिया उडाउन बेचेको खरबारी तिर हेर्दै रामबहादुरले धेरै पटक सोच्थ्यो “ यस्ता जाबा खरबारी के काम ! अब सुकिदह बजारमा घडेरी किन्ने हो । ”

चमेलीले पनि ठ्याक्कै त्यस्तै सोच्दी रैछे । “ बुढा ! सुकिदह बजारमा एउटा नाम्रो घडेरी किनेर उतै बेपार गरेर बस्न पर्च । अब हाम्रा सुखका दिन आए हैन्तो ? ”

दुवै जोईपोइ पेपलनेटा बाट झरेर सुकिदह बजार झर्ने सपना देख्न थालिसकेका थिए ।

उता दिलबहादुरले मलेसियामा पसिना बेच्दै थियो । पिपलनेटाकै हर्के माईलाले खबर ल्यायो “ मस्तै नाम्रो काम छ दिलेको ! मज्जाले बसी बसी काम गर्ने हो । चाईनिज साहु हो , भसक्कै माया गर्च हेर्नुस रामेकाका । ”

हर्केका कुरा सुनेर रामबहादुर मख्ख पर्छ , मयलल कलेटी परेको टोपी मिलाउदै भन्च “ हाम्ले र्गया धर्मको फल हो बाबु । जिन्नकी भर अर्कालाई पिर पार्न जानियन , आज भग्मानले हेरे । ”

रामबहादुरले यति भन्दै गर्दा उता चमेली मुसुक्क हासी , हासो सँगै दुई कप चिया ल्यायर चमेली आईपुगी ! “ कैल फर्कन्चौ हर्के ? जानेबेला खबर गरे है , अलिकति घ्यु छ लग्देउला । ”

छोरो गएको एक महिना नपुग्दै घ्यु पठाईदिने सोच चमेलीमा देखा प¥यो । हर्केले खबर गर्छु भन्यो , दुई जोईपोइ दिलबहादुरको मज्जाको काम बारे सुनेर मख्ख परे ।

दिलबहादुर पुगेको पैलो महिनामा अलि थोरै पैसा आईपुग्यो सुकिदह बजारको सहकारी बैङ्कमा ।
अनि खबर आयो “ लेबरको कर , रासन , फोन लगायतका खर्चले गर्दा यो मैना थोरै पैसा पठाको छ । अर्को महिना देखी चालिस भन्दा माथि पैसा आउच । ”

ठाटियर रामबहादुर सुकिदह झ¥यो । चमेलीले हिसाब गर्दै घर बसी ।

जिन्दगी भर अर्काको घरमा हलि बसेको रामबहादुरले आफ्नो कमाई भनेर हजारको नोट अहिले सम्म समातेको थियन । सात वर्ष अगाडि सरकारले कमैया मुक्तिको घोषणा गरेसी सामान्य लेबर गरेर दैनिक तीन सय रुपैयाँ बुझ्थ्यो ।

एक दिन काममा नगए साझ बिहान हात मुख जोर्नै समस्या । काममा नगएको दिन चेपे सोताबाट माछा मारेर चमेलीले सुकिदह बजारमा बेच्थिन अनि त्यसैले घर खर्च चलाउथिन । अचम्मको सुखी थियो रामबहादुरको परिवार । साझ बिहान के खाउ , के लाउ भए पनि कहिले अध्यारो छायन उनीहरूको झुपडीमा । सधैँ हासेरै बस्थे तिनै जना ।

अब त झन् दिलबहादुर मलेसिया पुग्यो । हजार हजारका नोट घर भित्रने दिन आएसी खुसी नहुने कुरै भएन । बल्ल बल्ल अर्काको घरमा काम अनि ज्याला मजदुरी गरेर हुर्काको छोरोले अब सुख दिने सपना बुन्दै रामबहादुर र चमेली महिना पर्खिन थाले ।

हरेक महिना चालिस हजार आउन थालेपछी सुकिदह बजारमा रामबहादुरले एउटा घडेरीमा बयाना लगाए । चार मैना भित्रमा पास गर्ने सर्तमा घडेरी बयाना लगायपछि उनीहरू एक वर्ष भित्रमा सुकिदह बजार बसाई सराई गरेर उतै किराना पसल गर्ने सपना देख्न थाले ।

मुक्त कमैयालाई सरकारले दिएको खरबारी दिलबहादुरलाई मलेसिया पठाउदा बेचेपछी ऐलानी जग्गामा बनेको झुप्रो भत्कायर सुकिदह बजार जाने रहरले चमेलीलाई झनै सतायको थियो । छिट्टै आफ्नो नाममा जग्गा आयो भने अहिलेको टहरो भत्कायर उतै सर्ने योजना बुन्दै बसे ।

एक्कासि दिलबहादुरले नियमित पैसा पठाउन छाड्यो । प्रत्यक महिनाको पाँच तारिखमा पैसा पठाउने दिलबहादुरले कहिले पठाउदै नपठाउने त कहिले आधा मात्र पठाउन थाल्यो ।
आखिर किन यस्तो भयो भनेर चमेली र रामबहादुरले सोध्दा दिलबहादुरले भन्थ्यो “ कमाई छैन । दुख मात्र छ । ”

अर्काको देशमा दुख गरेर बसेको छोरालाई पूर्ण विश्वास गरेर बा आमा बसेका थिय । तर उता दिलबहादुर हरेक महिना पैसा पठाउन बन्द गर्दै थियो । चाडपर्वको बेला मौकामा घर खर्च बाहेक अरू एक सुको नपठाउने ।

गाउँकै हरेक जो मलेसिया बाट आउथे उनले भन्थे “ दिलेको काम पैलाको जस्तै हो । बरु आम्दानी अझ बढ्या छ । ”

यता बा आमालाई दिलबहादुरले भन्थ्यो “ काम पनि दुखको छ । आम्दानीको त कुरै नगर्नु , अब क्यान्सिल आउने सोच्या छु । ”

तर न दिलबहादुर नेपाल फर्कन्थ्यो , न त पैला जस्तो पैसा पठाउथ्यो । बरु धेरै दुख देखाउँथ्यो ।

सुकिदह बजारमा बयाना लगाको जग्गाको भाका नाघेपछी जग्गावालाले जग्गा अरू कसैलाई बेचे !

दिलबहादुरलाई यस्ले कुनै असर पारेन । बरु चमेली र रामबहादुर फेरि आँसुमा डुब्न थाले । छोराको दुख एकातिर सम्झेर रुन्छन भने अर्को तिर बयाना लगाको जग्गा गुमेको पिडामा रुन्छन ।

एक वर्षको बिदामा फेरि हर्के गाउँ फर्कियो ।

हर्के आएको खबर चमेलीले पधेरामा चाल पाई । पहिले पहिले गाउँका कुनै मान्छे छुट्टी आउँदा खाने कुरा र चिठ्ठी पठाउने दिलबहादुरले यो पटक हर्केको हातमा केही पठाएन । सामान नभएसी हर्के चमेली र रामबहादुरलाई भेटन नि आएन ।

एक दिन चमेली आफै हर्केको घर गै , हर्के भित्र बाट आएर पिढीमा बस्दै भन्यो “ सामान केही थिएन , त्यसैले काकीलाई भेटन पनि आईन । ”

उसलाई सामानको माया थिएन । छोराको हालखबर बुझ्न आत्तिदै सोधी “ दिलेलाई कस्तो छ भनेर बुझ्न आकि हुँ बाबु ? ”

उ हल्का अनकनायो , आँसुले परेली भिजेका चमेलीका राता आँखामा आँखा जुधाउनै सकेन ।
“ उसलाई सन्चै त छ नि ? काम ठिक छैन अनि कमाई पनि छैन भन्दै थियो । ” चमेलीले चोर औलाले भुई कोपर्दै हर्केलाई सोधी ।

हर्के हिम्मत लिएर ठुलो सास र्फेयो , जुरुक्क उठ्यो अनि भन्यो “ कमाई अझ बढी छ , काम अझ सुखको भएको छ । ”

चमेलीका आँखामा खुसीका आँसु देखिए । उसको अनुहार अझ चम्कियो । टाठिदै सोधी “ अनि किन त्यस्तो भन्च तो हाम्लाई हँ ? ” चमेलीले जान्न चाहिँ ।
“ उसले उतै बिहे गरेर बसेको छ ! ” हर्केको मुख बाट एकै पटक फुत्कियो ।

चमेली काली भई , उसका ओठ एकै पटक सुकेर फुस्रा भए । उसलाई रिङ्गाटा लागे जस्तो भयो । उ केही बोल्नै सकिन ।

“ काकी ! उसले एउटी फिलिपिनी केटी लाई बिहे गरेर राखेको छ । कमायको उतै सकिन्छ , अनि विभिन्न बहाना बनाउछ । ” हर्केले सबै वास्तविकता बतायो ।

“ गएको छ मैना देखि उनीहरूको लभ थियो । सुरु सुरुमा घरको माया बढी गर्थ्यो , आजभोली उसकै माया बढी गर्छ । तसैले तपाईँहरूलाई भुल्दै गएको छ । ” हर्केले निराश हुँदै बतायो ।

चमेली जुरुक्क उठि , हर्के सँग केही नबोली घर तिर लागि ।

घरमा छोराको बारेमा बुझ्न आतुर रामबहादुर सँग पनि नबोली कोठामा छिरी । दराजबाट दिलबहादुरको फोटो निकालेर थुक्दै भनी “ त जस्ता कुलङ्गार सन्तान जन्माउन भन्दा बरु मेरो कोख बाझै भएको भए हुन्थ्यो । तेरा लागि बुहारी हामी खोज्थ्यौ , हामीलाई रुवाएर परदेशमा मस्ती गर्न सकेछस । मेरो आशुले सराप्नेछ । ”

रुदै बरबराई रहेकी चमेलीका कुरा सबै रामबहदुरले बुझिहाल्यो । भक्कानिदै बाहिर आयो अनि पिढीमा बसेर फेरी रुन थाल्यो ।