मानव बेचबिखन तथा ओसार पसारको मुद्दाका फरार गायक प्रकाश ओझालार्इ पक्राउ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मानव बेचबिखन तथा ओसार पसारको मुद्दाका फरार गायक प्रकाश ओझालार्इ पक्राउ



काठमाडौं माघ १४  – केन्द्रीय अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसार पसारको मुद्दाका फरार प्रतिवादी गायक प्रकाश ओझालार्इ पक्राउ गरेको छ । सर्वोच्च अदालतले २०७३ माघ ४ गते ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहेका ओझालाई ब्युरोको टोलीले शुक्रबार राजधानीको शंखमुलबाट पक्राउ गरेको हो ।

सुनसरीको इटहरी नगरपालिका ४ स्थायी घर भएका ओझालाई दुई अभियोगमा पाँच पाँच वर्ष गरी सर्वोच्चले १० वर्षको सजाय सुनाएको थियो । ब्युरोले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरे पश्चात शुक्रबार ओझालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पाठाइएको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।

ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीनजना नाबालिकासंग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएको थियो । ओझाले पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो देखाएर सार्वजनिक गरे मार्नेसम्म धम्की दिएका थिए।

पटक– पटक धम्की दिएर यौन शोषण र अप्राकृति मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो । पुनरावेदन अदालत विराटनगरको फैसलालाई उल्टाएर ओझालाई सर्वोच्च अदालतले गत वर्ष माघमा मानव बेचबिखन तथा ओसार पसार गरी दुर्इ मुद्दामा १० वर्ष कैद सुनाएको हो ।

ब्युरोले कुनैबेलाका चर्चित गायक र हास्य कलाकार समेत रहेका ओझा शंखमुलमा लुकिछिपी बसेर गीत संगीत रेकर्डिङमा समेत सक्रिय रहेको अवस्थामा पक्राउ गरेको हो ।