मनाङेसहित गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मनाङेसहित गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगे



पोखरा- नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ (कृष्ण थापा बाहेक ), जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षरसहित उपस्थित भएको जनाइएको छ । प्रदेश प्रमुखले दाबी हेरेर सरकार गठन गर्न दिने/नदिने निक्र्योल गर्ने छिन् ।

गण्डकीमा भोलिसम्म बहुमत दाबी गरेर आउन प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन्। संविधानको १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत दाबी गरेर आउन प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र तटस्थमा १ मत खसेको छ । १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थमा मत हालेका हुन् ।

कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएन ।

१५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थियो । मतदान हुनु एक दिनअघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।