सिटीको विजयी यात्रा रोकिएन, अग्युरोको २ गोलमा लगातार १७ औँ जित - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सिटीको विजयी यात्रा रोकिएन, अग्युरोको २ गोलमा लगातार १७ औँ जित



 घरेलु तथा युरोपियन प्रतिस्पर्धामा यो सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले आफ्नो जित यात्रालाई कायम राखेको छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४–० ले हराएको छ । म्यानचेस्टर सिटीको यो लिगमा लगातार १७ औं जित हो ।

 लिगमा एकै सिजन र समग्रमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमानधारी पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले त्यो कीर्तिमानको अंकलाई बढाउँदै लगेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सर्जियो अग्युरोले दुई गोल गरे भने रहिम स्ट्रर्लिङ र डानिलोले एक एक गोल गरे । २७ औं मिनेटमा अग्युरोको गोलबाट सिटीले सुरुवाति अग्रता लियो ।

पहिलो हाफमा १–० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप तीन गोल ग¥यो । ५३ औं मिनेटमा स्ट्रर्लिङले अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

 

खेल सकिन पाँच मिनेट बाँकी हुँदा डानिलोले गोल गरेसँगै सिटीले लिगमा ४–० को जित निकाल्न सफल भयो । खेलपछि प्रशिक्षक गार्डिवलाले सिटीलाई महत्वपूर्ण जित दिलाउने क्रममा दुई गोल गरेका अग्युरो लेजेण्ड रहेको र उनले आफ्नो भविष्य आफै निर्धारण गर्न सक्ने बताए ।

सिटीका सर्वकालीन सर्वाधिक गोलकर्ता अग्युरो प्रशिक्षकले आफूलाई पाखा लगाउन खोजेको भन्दै निराश रहेको खबर आउने गरेका छन् । यसैकारणले उनले आउँदो सिजन क्लब छोड्ने सम्भावना पनि छ ।

गाब्रियल जिसस क्लब आएपछि अग्युरो गार्डिवलाको दोस्रो रोजाइमा पर्दै आएका छन् । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको लिगको आधा खेल सकिँदा ५५ अंक भएको छ । राति नै भएको खेलमा बराबरीमा रोकिएको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा सिटी १३ अंकले अघि छ ।