मङ्सिर-कथा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मङ्सिर-कथा



-ईश्वर अर्याल

“म गएपछि त तिम्रो जिन्दगीमा खुसी नै खुसीको बहार आउँछ होला है ।” उसले यसो भन्दा मलाई भक्कानो छुट्यो । आँसुले भरिएका भारी आँखा लिएर उसलाई अझ अँगालोमा कसें ।

“त्यसो नभन लाटी, तिमि बिना मेरो जिन्दगीमा को नै छ र ? तिमि जाऊ मात्र, म यही घोप्टेभीरबाट हाम्फालेर ज्यान दिन्छु ।”

उ सुँक्क सुँक्क गरिरही । “त्यसो भए मलाई लैजाउ आजै !” उ अलि आक्रामक बनेर मेरो दाहिने हात कचक्क समाती ।

म अवाक बनें । मेरो बिहे गर्ने कुनै योजना थिएन । डिग्री सकेर भरपर्दो जागिर नखाईकन मैले घरजम गर्न नसक्ने कुरा छर्लङ्ग थियो । तर सुजातालाई गुमाउन पनि त सजिलो थिएन । जसको लागी म आत्मनिर्भर बन्ने प्रयासमा थिएँ, उसैलाई जिन्दगीबाट टाढा राख्नु असह्य थियो ।

“नआत्तिइकन बस, म ममीलाई तिम्रो घर कुरा गर्न पठाउँछु । तिम्रो नर्सिङ सकिएपछी बिहे गरौंला । आखिर बिहेको नाममा तिम्रो क्यारियरको बली चढाउन किन खोजिरहेको छ दाइले ?”

“हुँदै हुन्न, कि लैजाउ आजै, कि छोडिदेउ ।” उ जिद्दी बनिरही । मैले भोलि नै ममीलाई घर कुरा गर्न पठाउने आश्वासन दिएपछी भने उ केही थामिइ ।

“सुजातालाई बिहे गर्ने सोच छाडिदे बाबु ।” बुबाको वार्षिक पुण्य तिथिमा लाखबत्ती जलाउने भनेर ममी बाति कात्दै हुनुहुन्थ्यो ।

“के भनेको ममी ? त्यसो गर्न म सक्दिन ।” म झर्कें ।

“काँ राख्छस ? यही टहरोमा ?”

“जहाँ राखे पनि राख्छु । बरु हजुरलाई एक वर्ष कुर्न भन्नु भनेर मैले पठाको हैन ? उसको नर्सिङ सकिन्थ्यो, मेरो डिग्री सकिन्थ्यो ।” मेरा आँखा टमाटर जत्रा भए ।

“ठुलो ठुलो आँखा नबना भर्लके ! बा बाँच्नुभएको भए तेरा तिघ्रामा सुम्ला बस्ने गरेर बेतको लौरीले हान्नुहुन्थ्यो । बरु म मरेपछी जे सुकै गर !” ममीले खाउँला जस्तो गरेर हेर्नु भो ।

“म केटाकेटी हो र ?” मलाई झनै झर्को लाग्यो ।

“केटाकेटी हैनस र त सम्झाउँदै छु । अमेरिकामा पढ्दै गरेको केटासंग उसको कुरा चलिरहेको छ । यहाँ ल्याएर मैले सुजाताको खुसीको हत्या गर्न चाहन्न ।” ममी नरम बन्नु भो । तर म केही कुरा पनि सम्झिने स्थितिमा थिइन । मलाई थाहा थियो सुजाता खुसी छैन ।

बेलुका खाना खाइसकेपछी मिसकल गरेँ, उ अनलाइन आई ।

“यो मङ्सिर कटाउन गाह्रो भो मलाई ।” उसले म्यासेज गरी ।

“एउटा आइडिया ! मेरो ब्वाईफ्रेन्ड छ भनेर भन्देउ त्यो केटालाई ।” मैले खुसीको इमोजी सहित रिप्लाई गरेँ ।

“उसलाई थाहा छ, भाउजूले भन्नुभएको रे ।”

“के रे, थाहा हुँदाहुँदै पनि बिहे गर्न तयार छ रे उ ?” म हक्कानिएँ । घाँटी खसखसायो ।

“यसो गर, म प्रीग्नेन्ट छु भन्देउ ।” मलाई थाहा थिएन मैले यसो सम्झाईरहँदा उसको चरित्रमा कति दाग लाग्ला भन्ने ।

“नचाहिने कुरा, काँबाट आउँछ तिमीलाई ?” यति भनेर उ अफलाईन गई । एकछिनसम्म नआएपछी मैले फेरि मिसकल हानें । फोन बिजी थियो ।

मेरो मुटुको ढ्याङ्ग्रो बज्न सुरु भयो, उसको फोन पाँच हैन, दश हैन, पन्ध्र हैन पुरै साठी मिनेटसम्म बिजी भयो । मैले एक मिनेटमा कमसेकम दश वटाको दरले कल एटेम्ट गरेँ ।

बल्ल फोन उठ्यो, “कोसँग बिजी थियौ ?” यति सोध्न नपाउँदै उसले आफू एकदम बिजी भएको र पछि फोन गर्ने बताई । उसको फोनको प्रतीक्षामा बस्दा बस्दा म निदाएँ । भोलिपल्ट उसको फोन स्विच अफ थियो ।

तेस्रो दिनमा उसले मगनीको फोटो अपलोड गरी । त्यो देख्नेबित्तिकै मैले म्यासेज गरेँ तर उ अफलाइन भैसकेकी थिई । रिप्लाई आएन । फोन अझै स्विच अफ थियो ।

बानरसी रातो साडीमा उ साँच्चिकै सुन्दर देखिएकी थिई । गाढा रातो ब्लाउजमा निहुरिएर हातमा चियाको ट्रे समातेको उसलाई साँच्चिकै सुहाएको थियो । रातो लिपिष्टिकमा सजिएका तल र माथिका ओँठहरु खुलेर लाम्चो पानपाते आकृति बनाएका थिए, त्यसको बिचमा लहरै दाँयादेखी बाँयासम्म फैलिएका सेता दाँतहरु अभूतपूर्व थिए । के उ एनआरएनसंग बिहे गर्न तयार थिई ? के मलाई उसले झुटो माया गरेकी थिई ?

केटाको फोटो थिएन त्यसमा, क्याप्सन पनि केही लेखेकी थिइन ।

मैले फटाफट फेसबुक लगआउट गरेर उसको इमेल र पासवर्ड राखें । खुलेन, पासवर्ड हिजो चेन्ज भएको देखायो । फेरि आफ्नै फेसबुक खोलेर उसको फोटोमा आएका कमेन्टहरु पढ्न थालेँ ।

“बधाई छ ।” रिताले लेखेकी थिई । नाताले उ मेरो फुपुकी छोरी पर्छे । मैले सानैमा स्कुलदेखी नै चिनेको हो । उसले मलाई लद्दु भन्थी, मैले सिन्की भन्थें ।

“सुजाताको कुरा के हो ? न फोन न म्यासेज !” रीतालाई म्यासेज गरेँ । उ केहिछिनपछी अनलाइन आई ।

“मुव अन लद्दु !” उसको अङ्ग्रेजी राम्रो थियो । “सी डिसाइडेड टु फर्गेट यु ।”

“डब्ल्युटिएफ !!” यो सँगै मैले रिसाएको इमोजी पठाएँ । उसले पनि जवाफ दिइन ।

म सरासर त्यही फोटोको कमेन्ट बक्समा छिरें । अचम्मको हिम्मत आयो, जे पर्ला पर्ला भन्ने भयो । फटाफट टाइप गरेँ “माई लव, यु आर लुकिङ गर्जियस !”

रिताले तुरुन्त लाइक गरी, रिफ्रेस गर्दै थिएँ, दश मिनेट पनि भएको थिएन, कमेन्ट डिलेट भयो, अनि म ब्लक भएँ ।

मलाई हनहनी ज्वरो आउन थाल्यो । एकहप्ता सम्म खाना रुचेन । “सरी विक्रम, मेरो बाध्यतालाई तिमीले बुझ्नेछौ ।” उसको टेक्स्ट आए देखी उसको घरमै गएर कुरा गर्ने हिम्मत पनि मर्यो ।

तिहारकै दिन पर्ने बुबाको पुण्यतिथी सकियो । सुजातासंग कुरा नभएको एक महिना हुन लागिसकेको थियो । चिसो सिरेटोसंगै मङ्सिर आयो । हेर्दा हेर्दै मङ्सिरले मेरो प्रेमको हत्या गरिदियो । मेरै घर नजिकैबाट उसको घरसम्म जाने धुलाम्ये कच्चीबाटोबाट गइरहेका जन्ती सबैलाई एक एक गरेर गोली हानुँ जस्तो फिल भयो । त्यो दिन म दिनभरि सुतिरहें ।

क्यालिफोर्नियाको हुभर टावर भन्दा केही किलोमिटर पश्चिममा पर्ने स्ट्यानफोर्ड युनिभर्सिटीको मास्टर अफ लिबरल आर्टमा छात्रवृत्ति पाउने पहिलो नेपाली थिएँ । तीनबर्षे कोर्सको अन्तिममा थेसिस बुझाउनुपर्ने भएकोले मेरो पढाइपछिको धेरै समय सेसिल एच ग्रीन लाइब्रेरीमा बित्ने गर्थ्यो । भलेरो पेट्रोल पम्पमा दिनको चार घन्टाको ड्युटी छँदै थियो, त्यसले खान बस्न ठिक्क हुन्थ्यो ।

पैसा बचत भएको थिएन, तर यसपालिको दसैँमा जसरी पनि घर आइज भनेर ममी कराएको करायै हुनुहुन्थ्यो । थेसिस एप्रुभ भैसकेपछीको एक महिना म घर जाने निर्णय गरेँ । दसैँ छुट्यो, तिहारको दिनै बुबाको तिथि पर्ने भएकोले हाम्रो घरमा बुबा बितेपछी कहिल्यै तिहार आएन । मैले तिहारपछिको टिकट काटें ।

मङ्सिरकै महिना थियो, म फर्किने दिन नजिकै आइरहेको थियो । एक दिन बिहान नौ बजेतिर स्काइपीमा उतैको एक जना साथीसंग बोलिरहेको थिएँ । उ त्यहाँको सिटिजन भैसकेको मान्छे, बेलाबखतमा मलाई सहयोग गर्थ्यो । पेट्रोल पम्पमा काम लगाइदिएको उसैले हो । राजेश उसको नाम हो । त्यही बेलामा ममीले मेरो ध्यान भङ्ग गर्नुभयो ।
“तलाईँ भेट्न सुजाता आएकी छ ।”

“के रे !” म हत्तपत्त बेडबाट उठें । मैले बिर्सिसकेको नाम सुन्दा आङ जिरिङ्ग भएर आयो । सुजाता बाहिर आँगनमा उभिइरहेकी थिई ।

मलाई देख्नेबित्तिकै नमस्कार भन्दै हात जोडी ।

“सुजाता ! तिमि यहाँ ?” मैले आश्चर्य प्रकट गरेँ । “आऊ भित्रै” उसलाई सरासर टिभी कोठामा लगें ।

“कस्तो छ तिम्रो खबर ? अमेरिकामा कहाँ बस्छौ ? तिमि पनि त्यतै गयौ भनेर रीताले म्यासेज गरेकी थिई ।”

उ घोसे मुन्टो लगाएर बसेकी थिई । ममीले चियाको कप दिँदा ठुलो आँखा बनाएर ममीको अनुहारमा हेरी । ममी नजिकैको कुर्चीमा बस्नुभयो ।

“सुजाता अमेरिका गएकी होइन ।” ममीले भन्नुभयो ।

“किन ?” म हत्तपत्त पोखिइहालें ।

“तिमि आएका छौ भनेर खबर पाएकी थिएँ । एक पटक देखुँ भनेर यहाँसम्म आएँ । बरु तिम्रो पढाई कस्तो छ ? उतैको सिटिजन पाइसक्यौ होला । अब त गाउँ र देश पनि बिर्सिने भयौ ।” उसले सास नरोकीकन यति सबै भनी ।

“मेरो सबै ठिकै छ, बरु तिमि कहाँ छौ ?” मेरो जिज्ञासाले सगरमाथा छोयो ।

“उ फ्रड रैछ, मलाई अमेरिका लैजाने भनेर कागजहरु बनाएर काठमाडौँ लग्यो । त्यसपछि अहिले मिलेन भनेर त्यहीँ एउटा कोठा खोजेर राखिदियो । केही महिनासम्म त सम्पर्क मै थियो, अनि गायब भयो । त्यसपछि म यहीँ फर्कें, तीन वर्ष हुन लाग्यो, त्यहाँ पारिको स्कुलमा पढाउँछु ।”

उसले यसो भन्दा मेरो मुटुको धड्कन तेज भइरहेको थियो ।
ल्यापटप अन थियो, राजेशले फेरी कल गर्‍यो । दुई पटक काटिदिएँ, तेस्रो पटक पनि कल आयो मैले उठाएँ ।

“किन यतिसारो बिजी हो ?” उसले सोध्यो । “त्यहाँ साइडमा बस्ने को हो ?” उसले सुजातालाई सोधेको हुनुपर्छ ।

म यहाँ ममी र सुजातासंगै छु भन्दै ल्यापटपको क्यामेरा सुजाता तर्फ फर्काएँ ।

सुजातालाई देख्ने बित्तिकै उसले ओ माई गड भनेर कल ड्रप गरिदियो ।

सुजाता पनि झस्की ।

“राजेश हैन ?” उसले घाँटी लामो र आँखा ठुला बनाएर सोधी ।
मैले हो भन्न नपाउँदै सुँक्क सुँक्क गरेर सलले आँसु पुछ्दै ढोकाभन्दा बाहिर निस्केर बिलाई ।