मनिता घिमिरेलेद्वारा मेयरमा दावी , गल्ती सच्याउन देउवालाई चेतावनी (पत्र सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मनिता घिमिरेलेद्वारा मेयरमा दावी , गल्ती सच्याउन देउवालाई चेतावनी (पत्र सहित)



काठमाडौं, ७ जेठ ।

पछिल्लो समय निकै चर्चामा आएकी कांग्रेस नेतृ मनिता घिमिरेले  धरान उपमहानगरपालिकामा मेयर पदमा दावी गरेकी छिन्।

कांग्रेसबाट उपमेयर पदमा टिकट पाउने निश्चित जस्तै भएको बेला उनले सो पद त्यागेर मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन्। पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सुनसरी कांग्रेसका सभापति राजीव कोइरालालाई पत्र लेखेर मनिताले मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन्।

मनिताले माओवादीसँग चुनावी तालमेल गरिएकोमा पार्टी नेतृत्वको कडा आलोचना पनि गरेकी छिन्। उनले एमालेलाई सच्याउने र सहि बाटोमा लगाउने जिम्मेवारी पनि कांग्रेसको हो भन्दै पत्रमा लेखेकी छिन्, जनताले विवकेले मत दिने हुन्, तालमेल गरेर जनताको विवेकमाथि नेपाली कांग्रेसले अविश्वाश गर्न हुँदैन । तालमेल गरेर अरु पार्टीका लागि कांग्रेसले जनमत बटुलिदिने होइन।

कांग्रेसले महिलालाई अधिकांश ठाउँमा उपप्रमुखमा मात्र उम्मेदवार बनाएको, प्रमुखमा उम्मेदवार नबनाएकोमा मनिताले पत्रमा कडा आक्रोश पोखेकी छिन्।

उनी लेख्छिन्- पहिलो चरणको चुनाव हेरेर म यो निष्कर्षमा पुगेको छु कि महिलाले अधिकांश ठाउँमा प्रमुख पदमा दावी पनि गरेनन् । यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदावर बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु ।

आफ्नो उम्मेदवारीले देशभरी कांग्रेसको चुनावी अभियानलाई सघाउ पुग्ने दावी पनि उनले गरेकी छिन्। उनी लेख्छिन्, नेपाली कांग्रेस पहिलो चरणमा रक्षात्मक बनेर उपस्थित भएको थियो भने प्रतिस्पर्धी दलहरु आक्रामक थिए । अब कांग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक छ । यसका लागि धरान सहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइनुपर्छ ।

मनिताको भनाई छ, उपयुक्त उम्मेदवार चयन गर्नु भनेको चुनाव आधा जित्नु हो । उनले धरानलाई आफूले देशकै उत्कृष्ट थलो बनाउनसक्ने दावी पनि गरेकी छिन् ।

मनिताले पार्टीलाई लेखेको पत्रको पूर्ण पाठ:

सभापति, श्री शेरबहादुर देउवाज्यूमहामन्त्री, श्री शशांक कोइरालाज्यूवरिष्ठ नेता रामचन्द्र पौडेल ज्यू सुनसरी जिल्ला ,पार्टी सभापति राजीव कोइरालाज्यू

विषय :– नेपाली कांग्रेसले गरिरहेको चुनावी तालमेल र धरान उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी सम्बन्धमा नेपाली कांग्रेस नेपालको अग्रणी पार्टी हो र यो नेपालमा क्रियाशील सबैभन्दा ज्येष्ठ राजनीतिक पार्टी पनि हो  । नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा लिने नीति र रणनीतिहरुले यसको आन्तरिक जीवन मात्र नभएर समग्र मुलुकको जीवनका साथै समग्र राजनीति प्रभावित हुन्छ ।हाल संचालन भइरहेको स्थानीय तहको चुनावबाट पनि नेपाली कांग्रेस देशको अग्रणी राजनीतिक दलका रुपमा स्थापित हुँदैछ ।

पहिलो र दोस्रो चरणको चुनावबाट नेपाली कांग्रेस एक नम्बर राजनीतिक दलका रुपमा स्थापित हुने सुनिश्चित छ । लोकतन्त्र प्रेमीहरुका लागि यो खुसीको कुरा हो ।चुनावको दौरानमा नेपाली कांग्रेसले लिएका कतिपय नीतिले राष्ट्रिय राजनीतिमा दूरगामी सकारात्मक प्रभाव पर्ने देखिन्छ भने कतिपय नीतिले नकारात्मक प्रभाव पर्ने पनि देखिन्छ । नकारात्मक प्रभाव पर्ने नीतिहरुलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प नेपाली कांग्रेससँग छैन ।

गलत चुनावी तालमेल
नेपाली कांग्रेस मुलुकको अग्रणी राजनीतिक पार्टी भएकाले यसले लोकतन्त्रलाई संस्थागत गर्ने तथा नयाँ संविधान कार्यान्वयन गर्ने उद्देश्यले सबै राजनीतिक शक्तिहरुलाई समेट्ने, सबैसँग सहकार्य गर्ने नीति लिएको छ । तर, स्थानीय चुनावमा त्यस अनुसारको रणनीति अपनाउनमा नेपाली कांग्रेस चुकेको छ ।

कांग्रेसले विभिन्न स्थानमा अन्य पार्टीहरुसँग चुनावी तालमेल गर्ने कार्य गरेको छ । तालमेलको क्रममा कतिपय स्थानमा माओवादी केन्द्रलाई प्रमुख पदमा समर्थन समेत गरेको छ । यो गलत भएको छ ।संसदभित्रको गणितीय राजनीतिमा पहिलो पार्टीले साना पार्टीलाई समर्थन दिनु, नेतृत्व दिनु स्वाभाविक हुनसक्छ तर आम जनताले मत दिने चुनावमा अरुलाई नेतृत्वदायी पद दिनु स्वाभाविक हुन सक्दैन । आम जनतामा कुनै पनि पार्टीले सैद्धान्तिक आधारमा मत माग्ने हो । चुनावमा राजनीतिक दलहरुले आफ्ना विचार, सिद्धान्त र कार्यक्रमहरु जनतामाझ पुराउने हो । अरुलाई नेतृत्वदायी पदमा समर्थन गरेर कांग्रेसले प्रभावकारी ढंगले आफ्नो विचार, सिद्धान्त तथा कार्यक्रम जनतामाझ पुराउन सक्दैन । नेपाली कांग्रेसले जनताको मत र विवेकमा विश्वाश गर्नुपर्छ । चुनावमा हुने पराजयलाई पनि स्वीकार्नुपर्छ । जनतामाझ आफ्ना विचार, सिद्धान्त तथा कार्यक्रम पुराउन सक्नु नै पहिलो विजय हो । मतगणनामा हुने विजय या पराजय दोस्रो विषय मात्र हुनसक्छ नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पर्याय राजनीतिक पार्टीका लागि ।

जनताले विवकेले मत दिने हुन्, तालमेल गरेर जनताको विवेकमाथि नेपाली कांग्रेसले अविश्वाश गर्न हुँदैन । वामपन्थीहरुलाई तालमेल गर्न सुहाउँछ होला तर नेपाली कांग्रेसलाई सुहाउँदैन । जनप्रतिनिधिले गर्ने तालमेल भने बेग्लै विषय हो जसमा गणितीय समीकरण प्रमुख हुन्छ ।संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्न सबै राजनीतिक दलहरुबीच सहकार्य जरुरी छ तर कोसँग कांग्रेसले सहकार्य गर्ने भन्ने निर्णय नेपाली जनताले गर्ने हुन् । चुनावी तालमेलले जन अभिमतलाई दिग्भ्रमित पार्न सक्छ । कांग्रेसले जनमत आर्जन गरेको आधारमा राजनीतिक दलहरुलाई समेट्ने कार्य गर्नुपर्छ । यस विपरित जनमत बटुलिदिन कुनै पार्टीलाई सहयोग गरिदिने होइन । पहिलो चरणको चुनावमा गरिएको तालमेलले पार्टीलाई फाइदा नभएको पनि स्पष्ट भइसकेको छ ।संविधान कार्यान्वयन तथा लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेसले मूलत नेकपा एमालेसँग सहकार्य गर्नुपर्छ । किनभने विगत तीन दशकदेखि नेपाली कांग्रेसको प्रतिस्पर्धी पार्टीका रुपमा एमाले रहँदै आएको छ । देशका प्रमुख दुई शक्तिमध्ये एमाले एक हो । यद्यपि एमालेको गलत नीति र कार्यशैलीले लोकतन्त्रको सुदृढीकरण र संविधान कार्यान्वयनमा अवरोध सिर्जना भइरहेको पनि उत्ति नै सत्य हो । एमालेलाई समेत सहि बाटोमा अगाडि बढाउने दायित्व नेपाली कांग्रेसको पनि हो भन्ने भुल्न हुँदैन ।

महिला उम्मेदवारी सम्बन्धमा

नयाँ संविधानले महिला अधिकार स्थापित गर्ने सम्बन्धमा धेरै काम गरेको छ । स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिलालाई राजनीतिक दलले उम्मेदवार बनाउनुपर्ने भनेको छ । तर, पहिलो चरणको चुनावमा महिलालाई अधिकांश स्थानमा उपप्रमुखमा मात्र उम्मेदवार बनाइएको छ । यो गलत भएको छ । यसलाई सच्याउन आवश्यक छ ।अतः मलाई धरान उपमहानगरपालिकाको मेयर पदका लागि हाम्रो पार्टी नेपाली कांग्रेसले उम्मेदवार बनाओस् भनी विनम्र आग्रह गर्दछु ।नेपाली कांग्रेस नेपालमा समावेशीकरणको जननी हो, महिला अधिकार स्थापित गर्ने अग्रणी पार्टी हो । यो पार्टी अन्य पार्टीहरुभन्दा महिला प्रतिनिधित्वमा पछाडि पर्नु दुखको कुरा हो । महिला प्रतिनिधित्वमा पनि नेपाली कांग्रेस अग्रणी बन्न सक्नुपर्छ । यसका लागि कांग्रेसले दोस्रो चरणको चुनावमा यथासक्य धेरै स्थानमा महिलालाई प्रमुखको उम्मेदवार बनाओस् भनी विनम्र आग्रह गर्दछु ।

पहिलो चरणको चुनावमा नेपाली कांग्रेस संगठनात्मक रुपमा कमजोर रहेको ठाउँमा पनि प्रमुखमा महिलालाई उम्मेदवार बनाइएको ठाउँमा सम्मानजनक मत आएको स्मरण दिलाउन चाहन्छु । दोस्रो चरणमा महिलालाई अत्याधिक ठाउँमा प्रमुखको उम्मेदवार बनाउँदा पार्टीको चुनावी अभियानलाई ठूलो सघाउ पुग्ने पनि स्वत सिद्ध छ ।पहिलो चरणको चुनावमा प्रमुख पदमा महिला प्रतिनिधित्वमा नेपाली कांग्रेस पछाडि परेको छ । त्यसको क्षतिपूर्तिका लागि पनि दोस्रो चरणमा महिलालाई अत्याधिक संख्यामा प्रमुखमा उम्मेदवार बनाउन आवश्यक छ । पहिलो चरणको चुनाव हेरेर म यो निष्कर्षमा पुगेको छु कि महिलाले अधिकांश ठाउँमा प्रमुख पदमा दावी पनि गरेनन् । यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदावर बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु ।

प्रतिकूलता र अनुकूलता

पहिलो चरणको चुनाव नेपाली कांग्रेसका लागि निकै प्रतिकूल रहेको थियो । खासगरी राष्टिय राजनीतिमा भएका कतिपय घटनाक्रमले कांग्रेसलाई अप्ठ्यारो परिस्थितिमा पुराएको थियो । त्यसका बावजुद कांग्रेसले पहिलो चरणमा शानदार विजय हासिल गरेको छ । नेपाली कांग्रेस पहिलो चरणमा रक्षात्मक बनेर उपस्थित भएको थियो भने प्रतिस्पर्धी दलहरु आक्रामक थिए । अब नेपाली कांग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक छ । यसका लागि धरान सहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइनुपर्छ ।यहाँहरुलाई थाहा भएकै कुरा हो, उपयुक्त उम्मेदवार चयन गर्नु भनेको चुनाव आधा जित्नु हो ।चुनावमा विजय भएपछि परिस्थिति झन चुनौतीपूर्ण हुन्छ । किनभने विजयीहरुले नेपाली कांग्रेसको विचार सिद्धान्त आदर्श र कार्यक्रम अनुसार आआफ्नो ठाउँमा विकास निर्माण गर्नुपर्ने हुन्छ, सबै पक्षलाई समेटेर हिँड्नुपर्ने हुन्छ ।

विकासको संवाहक नेपाली कांग्रेस नै हो भनेर स्थापित हुँदै आएको छ र आगामी दिनमा पनि स्थापित गर्न जिम्मेवारी स्थानीय तहमा निर्वाचित हुने कांग्रेसका विजयी उम्मेदवारहरुको हो । यस दृष्टिले पूर्वाञ्चलको उत्कृष्ट र रणनीतिक थलो धरानलाई विकासका दृष्टिले देशकै नमूना थलोका रुपमा विकास गर्नुपर्छ । यो जिम्मेवारीलाई म गम्भीर ढंगले निर्वाह गर्न सक्छु भन्ने विश्वाश पनि दिलाउन चाहन्छु ।धरान उपमहानगर देशको नमूना समावेशी थलो हो, उत्कृष्ट थलो हो, यहाँका जनता लोकतन्त्र प्रेमी छन् र यहाँ नेपाली कांग्रेसको विजय सुनिश्चित रहेको छ । पूर्वाञ्चलको यो नमूना थलोमा नेपाली कांग्रेसले दिने उम्मेदवारीले दोस्रो चरणमा चुनाव हुने अन्य ठाउँमा पनि सकारात्मक प्रभाव पार्नेछ  । नेपाली कांग्रेसले धरानमा सञ्चालन गर्ने चुनावी अभियानले देशव्यापी प्रभाव पार्न सक्छ । यो गम्भीर जिम्मेवारी मलाई दिन म पुन आग्रह गर्दछु ।

मनिता घिमिरे

नेपाली कांग्रेस, सुनसरी क्षेत्र नम्बर १ कार्यसमिति सदस्य

धन्यवाद

जय नेपाल