प्रचण्डलाई गायिका मञ्जु पौडेलको पत्र « Himal Post | Online News Revolution
Logo

प्रचण्डलाई गायिका मञ्जु पौडेलको पत्र



 

प्रचण्ड जी, साङ्गीतिक नमस्कार !

सर्वप्रथम यो दुखद घडीमा भगवान् पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति प्रदान गर्नुभएको छ सबै नेपाली लगायत म पनि खुसी छु ।

प्रचण्ड जी, तपाईँलाई पत्राचार गर्नुपर्ने उल्लेखनीय राजनीतिक कारण त केही पनि छैन,  केवल म पनि यो देशको जिम्मेवार नागरिक भएको र त्यतिमात्र नभएर साङ्गीतिक माध्यमबाट देश परिवर्तन गर्न सन्देश प्रवाह गरिरहेकी समाज परिवर्तनकी सम्बाहकको नाताले केही कुरा पत्रमार्फत स्पष्ट पार्न चाहन्छु ।

यो समयमा तपाईँको परिवारमा परेको बज्रपातले परिवार तथा आफन्तजनमा ठुलो चोट पुगेको छ,  तपाईँको परिवारमा घटेको घटनाले पुरै देश दुखेको छ,  व्यक्तिगत हिसाबले पनि मलाई यो घटनाले स्तब्द तुल्याएको छ । तपाईँ निकै दूरदर्शी,  साहसी,  डाइनामिक र डिप्लोम्याटिक हुनुहुन्छ त्यो हामी सबैलाई थाहा छ । त्यसमाथि तपाईँको महानता हामीले त्यति बेला देख्यौं जतिबेला स्वर्गीय प्रकाश दाहाललाई चितामा जलाईरहंदा हजारौँ जनतालाई हात हल्लाएर त्यो दर्दनाक अवस्थामा पनि सम्बोधन गर्नुभयो त्यसले तपईप्रतिको श्रद्धा अझै बढेर आएको थियो ।

बितेको डेढ दशक भित्र तपाईँले गुमाएका यो देशका हजारौँ सन्तान र चार वर्षभित्र गुमाएका आफ्नै २ सन्तान जस्ता पीडादायी घटनाले तपाईँलाई अझै मर्माहित बनाएको छ  र सँग सँगै यी र यस्ता घटनाले बलियो,  साहसी र निर्भीक पनि बनाइरहेका छन् । त्यसैले तपाईँ लाखौँ जनतालाई सम्बोधन गरिरहनु भएको छ ।

हुन त तपाईँ देश परिवर्तनको सम्बाहक पनि हो,  परिवर्तनका एजेण्डालाई जनतामाझ पुर्र्याउनु छ र पूर्ण गर्नु पनि छ । त्यसैले तपाईँ विचलित हुनु हुँदैन र हुनुहुने पनि छैन भन्ने आशा सबै नेपालीले जस्तै मैले पनि गरेकी छु ।

 

अब विषयमा प्रवेश गरौँ :-

ती आमा (तपाईकी सहयात्री) सिता दाहाल जसलाई मैले मेरै आमाको दर्जामा राखेर सम्मान गर्छु,  जसले देशको परिवर्तन गर्ने संग्राममा तपाईँलाई अनवरत सहयोग गरिन उनको अन्तरआत्मालाई तपाईँले नबुझेजस्तो,  कतै बुझ्न नखोजे जस्तो महसुस भएको छ । एउटी आमा जसले सन्तान मात्र हैन सर्वस्व गुमाएकी छन्,  मनभरि पिडा बोकेर हिडेकी छन्, जहाँ जाँदा पनि भक्कानो फोरेर रुन्छिन, पीडाको भारीले भरिएको मन बोकेर मन थाम्न नसकेर बेलाबेलामा बहकिंदै तपाईँले आफ्नो पछीपछी हिडाउंदा उनको पिडामा तपाईँले मल्हम लगाउन सक्नु भएको छैन ।

हुन त हजारौँ जनताको माझमा उनले आफ्नो पिडा बिर्सिन्छिन भन्ने तपाईँलाई लागेहोला, तर मेरो बिचारमा यो व्यवहारले उनको पिडा कम भएको छैन बरु आलो घाउमा नुन चुक छर्केजस्तै भएको छ, पिडा भुल्नु भन्दा झन् बल्झिरहेको छ । के दुनियाका सन्तान देख्दा उनलाई झलझली आफ्नो सन्तानको याद आउन्न होला र ? के एउटी आमाले यति छिट्टै सन्तानको माया बिर्सन सक्छिन होला ?

प्रचण्ड जी, तपाईँलाई लाग्छ होला एउटी आमाले आफ्नो सन्तानलाई ९ महिना मात्र कोखमा राख्छिन भनेर, तपाईँलाई यो पनि थाहा हुनुपर्ने एउटी आमाले आफ्नो सन्तानलाई जिन्दगीभरी दिमागमा बोकेकी हुन्छिन र मनमा सजाएकी हुन्छिन । स्वर्गीय गायक झलकमानले गन्धर्वले गएको एउटा गीतमा गाउनुभएको छ  “बाबु रुन्छन वर्ष दिन, आमा जुगैभरीलाई हजुर…”

यसो भनिरहँदा तपाईँलाई आफ्नो सन्तानको माया छैन भनेर भन्न खोजेको पटक्कै हैन, तपाईँलाई त समय र परिस्थितिले निकै बलियो र निर्भीक बन्ने आदतनै दिएको छ ।

बिचरा ती आमा जसको अनुहार निकै निश्चल र इनोसेन्ट लाग्छ, जो एक असल आमा र कुशल गृहिणी हुन्, यस्तो परिस्थितिमा उनलाई रुवाउँदै, झन् पिडा दिँदै सभा र सम्मेलनमा बोकेर हिडेको मलाई झनै पिडा महसुस भएको छ ।

मलाई सम्झना छ, म ८ वर्षकी हुँदा मेरी आमाले जन्माएको मेरो एउटा भाइ १ महिनामा स्वर्गे भयो, त्यै पीडाले मेरी आमा लामो समयसम्म घर बाहिर हिड्न र खुलेर बोल्न सक्नुभएको थिएन, त्यतिमात्र हैन त्यो घटनाको यादले अहिले पनि कहिलेकाहीँ स्तब्द बन्नुहुन्छ । त्यति बेला नै सन्तानको पिडा कस्तो हुन्छ भन्ने महसुस भएको थियो । अहिले त म एउटा छोरीको आमा हुँ मजाले महसुस गर्न सक्छु ।

प्रचण्ड जी, तपाईँ देशको अभिभावक भएको हिसाबले हामी पनि सन्तान नै हौँ र ती आमा सिता दाहाललाई सभा सम्मेलनमा हिडाएर झन् पिडा थप्नु भन्दा सम्पूर्ण घर परिवार र आफन्तको हेरचाहमा राख्दा उनलाई शान्ति मिल्ला । सक्नु हुन्छ तपाईँ पनि २-४ दिन घर परिवारमा सँगै बसेर पिडामा मल्हम लगाउन मद्दत गर्नुहोस, होइन भने कृपया ती आमालाई पारिवारिक माहोल बनाइदिनुस ।

बस, यो मेरो सानो अनुरोध तपाईँलाई ।

 

                                                                                                                                         गायिका तथा उद्घोषिका

                                                                                                                                             मञ्जु पौडेल, काठमाडौं