लुम्बिनी सांस्कृतिक नगरपालिका: यी हुन् मेयर चौधरीले गरेका १० नमूना काम - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लुम्बिनी सांस्कृतिक नगरपालिका: यी हुन् मेयर चौधरीले गरेका १० नमूना काम



भगवान गौतम बुद्ध जन्मेको ठाउँमा बच्चा जन्माउन चाहने विदेशीका लागि यो एउटा गन्तब्य बन्न सक्छ । जसले यहाँको रोजगारी र पर्यटन दुवै बढ्ने छ ।

मनमोहन चौधरी- लुम्बिनी सांस्कृतिक नगरपालिका

सबैभन्दा पहिले म स्वतन्त्र उम्मेदवार उठेको र जितेको जनप्रतिनिधि हो । यहाँका जनता र बुद्धिजीवीहरूले मलाई चुनावमा उठ्न सुझाव दिए, अन्तिम समयमा चुनावमा होमिएकाले कुनै एजेण्डा र मुद्दा बनाउन नै पाइएन । हाम्रो तत्कालिन पार्टीले चुनाव बहिस्कार गरेकाले सबैले मलाई नै अगाडी सारेकाले स्वतन्त्र उठ्नुपर्ने बाध्यता बन्यो । जितेपछि पनि मैले जनता र बुद्धिजीवी सर्कललाई राखेर काम कसरी गर्ने भनेर सल्लाह गरेको थिएँ । उहाँहरूको सुझाव अनुसार काम गरिएको छ ।

मैले त्यतिबेला यो काम गर्छु त्यो काम गर्छु भनेर बाचा गरेको व्यक्ति पनि होइन तर बाचा नगरेपनि काम चाहिं हुँदोरहेछ । बरू बाचा गर्नेहरूले केहि गर्न सकेका छैनन् । हामीले यहाँ राम्रा कामहरू गरेका छौँ ।

यो एउटा नयाँ संरचना हो र अभ्यास पनि नयाँ हो । पहिले त ठाउँ मात्रै थियो अरू विकासको नाममा केहि थिएन । सबै काम जिरोबाट नै सुरू गरिएको हो । अहिले यहाँ हेर्ने हो भने आमूल परिवर्तन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकालाई छुट्टै बनाउनुपर्छ भन्ने हाम्रो अभियान हो । यो सांस्कृतिक क्षेत्र र पर्यटनको आकर्षक गन्तव्य भएकाले पनि छुट्टै बन्नुपर्छ भन्ने हाम्रो चाहाना हो । त्यसै अनुसार कामहरू भएका छन् ।

सबै गाउँ जोड्ने सडक सञ्जाल

हाम्रो नगरमा अहिले सडकको सञ्जाल अत्यन्त राम्रो भएको छ । एउटा गाउँदेखि अर्को गाउँ जोड्ने बाटोहरू बनेका छन् । यसमा पीसीसी ढलान, आरसीसी, पिच र ग्राभेल सडकले गाउँहरू जोडिएका छन् ।

यस नगरपालिकाभित्र ६२ किमी सडक पीसीसी ढलान भएको छ । ग्राभेल सडक १ सय १५ किमी बनेको छ । ५५ किमी सडक कालोपत्रे भएको छ । त्यस्तै ८५ किमी सडक मर्मत भएको छ ।

त्यस्तै चक्रपथ निर्माणको काम सुरू भएको छ । स्मार्ट सिटी निर्माणको लागि पनि डीपीआर तयार भैसकेको छ । अर्को हुलाकी सडक १ सय फीट चौडा बन्न सुरू भैसकेको छ ।

स्वास्थ्य क्षेत्रमा पनि राम्रो प्रगति

लुम्बिनी सांस्कृतिक नगरपालिकामा लुम्बिनी गार्डेन फाउन्डेसन र नगरपालिका मिलेर एक सय बेडको अस्पताल निर्माण गर्दैछौँ । यो चाहिं स्पेन सरकारको तर्फबाट बन्दै छ ।

भर्खरै मात्र १५ बेडको अस्पताल सिलान्यास गरेका छौँ ।  यो अब बन्ने प्रक्रियामा छ ।

त्यस्तै गर्भवती महिलाको लागि निशुल्क एम्बुलेन्सको व्यबस्था पनि गरेका छौँ ।

दवाई र पढाई निशुल्क योजना

उपचार र शिक्षा जनताको लागि निशुल्क गर्नुपर्छा भन्ने योजनाका साथ् हामीले काम गरिरहेका छौँ ।  हाम्रो गुरूयोजना अनुसारको अस्पताल बनेपछि यो कार्यक्रम लागु हुनेछ । यसका लागि संघिय सरकारसँग पनि छलफल भएको छ । यो योजनाले यहाँका जनताको जीवनमा निकै नै राम्रो प्रभाव पर्ने देखेको छु । यो मेरो अबको प्रमुख योजना नै हो भन्दापनि हुन्छ ।

अस्पताल बनेपछि नगरबासीलाई जुनसुकै जस्तोसुकै स्वास्थ्य समस्या होस् सबै नगरपालिकाले व्यहोर्ने छ ।

आँखा अस्पताल

भैरहवाको रणअम्बिका आँखा अस्पतालसँग सम्झौता गरेर यस क्षेत्रमा आँखा अस्पताल बनाउने योजना अगाडी बढेको छ । त्यसका लागि मेरो नेतृत्वमा नगरपालिकाले जग्गा पनि उपलब्ध गराइदिएको छ ।

मेयर कृषि सिंचाई योजना

मेयर कृषि सिंचाई योजना अन्तर्गत सिंचाईको समस्या भएका स्थानमा विद्युतबाट चल्ने बोरिङ जोड्नुपर्ने हुन्छ । त्यसरी किसानले जोडेका बोरिङको लागि ५० % रकम नगरपालिकाले दिने गरेको छ । यसले गर्दा कृषकहरू ब्यावसायिक खेतीमा प्रोत्साहित हुने गर्छन ।

देश भित्र र बाहिर, विभिन्न राष्ट्रमा भगिनी सम्बन्ध कायम

नेपाल भित्र त हामीले कुस्मा नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका, बेनी नगरपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बुद्धभूमी नगरपालिका, सुद्धोधन गाउँपालिका, बाग्लुंग नगरपालिका, भरतपुर महानगरपालिका लगायतका पालिकाहरूसँग भगिनी सम्बन्ध विस्तार गरिएको छ । त्यस्तै छिमेकी राष्ट्र भारत र चीनका केहि सहरसँग हामीले भगिनी सम्बन्ध बनाएका छौँ ।

जसमा मलेसियाको चूजी फाउन्डेसन, चीनको लू-सान सिटी स्पेनको कासरेस सिटी, स्पेनकै मेड्रिड सिटीसँग पनि भगिनी सम्वन्ध बनेको छ । त्यस्तै लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनसँग सम्बन्ध कायम गरेका छौँ ।

त्यतिमात्र होइन स्पेनको कासरेस र मेड्रिडसँग पनि सम्बन्ध विस्तार भएको छ । त्यस्तै भारतको बोधगया, अयोध्या लगायतसँग सम्बन्ध विस्तार बएको छ । यसले पर्यटन प्रवर्धन र अन्य कुरामा निकै राम्रो अभ्यास भएको छ ।

पर्यटन प्रवर्दनका लागि हामीले अर्को योजना पनि अगाडी बढाएका छौँ ।जसका लागि लुम्बिनी ग्लोबल पार्क बनाउने योजना छ जसको डीपीआर भैसकेको छ । यो भारतसंगको सीमानामा भएकाले पनि आकर्षणको बिन्दु बन्न सक्छ । यसबाट नगरपालिकाको आम्दानी बढ्ने र रोजगारीको अवसर धेरैले पाउने छन् ।

शिक्षामा नयाँ अभ्यास, छोरी पढाउने छुट्टै विद्यालय

हामीले काम गर्ने क्रममा छात्राहरूको लागि छुट्टै पढ्ने व्यवस्था मिलाएका छौँ । जसअन्तर्गत करुणा महिला विद्यालयको स्थापना गरेका छौँ । जसमा छोरीहरूले मात्रै पढ्न पाउँछन् । जसमा १२ सय छात्राहरूको लागि आवासिय सुविधा छ । यसबाट अहिले धेरै छोरीहरू लाभान्वित भएका छन् ।

सुकन्या धन योजना

यो योजना अनुसार हामीले कन्या जन्मिएको ३ महिना भित्र उसको मुद्दती खातामा पैसा राखिदिने गरेका छौँ । नगरपालिकाले उनीहरूको खातामा पैसा राखिदिन्छ । जुन पैसा तुरुन्त निकाल्न मिल्दैन, वालिका २० वर्ष पुगेपछि मात्रै निल्कान पाईन्छ । त्यसमा पनि १० कक्षा पास गरेपछि मात्रै । त्यसपछि निकाल्दा उच्च शिक्षा या उद्यम गर्नका लागि पैसा निस्किन्छ ।

यो कार्यक्रमको खास योजना छ, यसले सबैभन्दा पहिला त बालविवाह रोक्ने काम गर्छ । अर्को यो कार्यक्रमले उच्च शिक्षाका लागि प्रेरित गर्छ ।

मेयर कन्या विवाह योजना

तराईका जिल्लाहरूमा धेरैजसो स्थानमा बालविवाह अहिले पनि हुने गरेको छ । राज्यले ठुलो प्रयास गर्दा पनि यसको समाधान निस्किन सकेको छैन । यहि समस्याको समाधानका लागि हामीले मेयर कन्या विवाह योजना ल्याएका हौँ । यो योजनामा कन्याको विवाहको लागि कक्षा ९ सम्म पढाई गरेको हुनुपर्छ , उमेरले २० वर्ष पुगेको हुनुपर्छ ।

मधेशमा विवाह गरेपनि दर्ता नगर्ने, नागरिकता नबनाउने जस्ता समस्याले उनेहरूको जीवनमै समस्या आइरहेका हुन्छन । विवाह दर्ता  नभएपछि पारपाचुके भैहाल्यो भने पनि समस्या हुने । नागरिकता बनाउन पनि समस्या हुने, मुद्दा मामिला परिहाले पनि समस्या हुने भएकाले यो योजनाले त्यस्ता समस्या समाधानका लागि सहयोग पुगेको छ ।

यो योजनामा सामेल हुन तीन महिना भित्र विवाह दर्ता लगायतका प्रक्रिया पुर्याएर नगरपालिका आउनु पर्ने हुन्छ । सबै प्रक्रिया पुरा गरेपछि हामीले उनीहरूलाई ३० हजारको चेक दिन्छौँ ।

जय जनता ब्लड योजना

यो योजनाले मधेशमा गरिवीको रेखामुनी रहेका जनताले रगत परिक्षणका लागि तिरेको रकम नगरपालिकाले दिने गर्छ । खासमा जम्मा गरेको रगतमा विभिन्न खाले परिक्षण गर्नुपर्ने हुन्छ । समस्यामा परेर रेडक्रस तथा ब्लड बैंकमा जानेहरूले विभिन्न खाले चेकजाँचका लागि तिरेको पैसा बिल अनुसार भुक्तानी दिने गर्छौं ।

रोजागारी र स्वरोजगारीको लागि विशेष योजना

लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रोजगारीका लागि हामीले निकै पहल गरेका छौँ ।  खासमा यो समस्या विश्वव्यापी भएकाले पनि हामीले गरेको एक्लो प्रयासले ठुलो परिवर्तन आउन सक्दैन तर पनि हामीले यहाँ केहि फरक गर्न खोजेका छौँ । एक त लुम्बिनी पर्यटकीय क्षेत्र भएकाले यहाँ पर्यटन प्रवर्दन गरिरहेका छौँ, जसले गर्दा स्वरोजगारीको अवस्था सिर्जना गर्छ । साना उद्यम गर्नेहरूका लागि अनुदान पनि दिने गरेका छौँ । त्यसका लागि नगरपालिका र प्रदेश सरकारको तर्फबाट ५० हजार अनुदान दिएका छौँ ।

त्यसमाथि हामीले विभिन्न खालका तालिमहरूको व्यवस्था गरेका छौँ । महिला र पुरुषको लागि डल बनाउने तालिम, ब्युटी पार्लर तालिम, मोबाइल मर्मत तालिम, प्लम्बर लगायतका विभिन्न तालिमहरू दिने गरेका छौँ । यसबाट पनि थुप्रैले रोगजारी र स्वरोजगारी पाएका छन् । त्यसमाथि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पनि धेरैले रोजगारी पाएका छन् ।

छुट्टै भू-नीति

हामीले यहाँका लागि छुट्टै भू-नीति ल्याएका छौँ । जसमा सबै स्थानमा घर बनाउन पाइंदैन । हाम्रो नियम अनुसार बसोबास गर्ने छुट्टै स्थान छ, व्यवसाय गर्ने छुट्टै स्थान छ, कार्यलय भवनहरू बनाउने स्थान छुट्टै छ ।

त्यस्तै लुम्बिनी आसपासमा एकै डिजाइनका घरहरू मात्रै बनाउन पाईन्छ । यहा वरीपरी बनाउने घरहरूमा रङ्ग पनि एकै प्रकारको लगाउनु पर्ने हुन्छ । यहाँ बन्ने घरहरूको उचाई पनि एकै प्रकारको हुनुपर्छ ।

हाम्रो नगरपालिका पर्यटनको हिसावले पनि र पुरातत्वको हिसावले पनि महत्वपूर्ण हो त्यसैले यहाँ सबै तरिकाले आकर्षक हुनुपर्छ भनेर भू-नीति ल्याएका हौँ ।

फोहर व्यस्थापनको लागि सम्झौता

फोहर व्यवस्थापनका लागि हामीले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनसँग संझौता गरेर नवीकरणीय उर्जा निकाल्ने गरी तयारी भएको छ । यसका लागि हामीले केहि पालिकाहरूसँग सहकार्य गरेर व्यवस्थापन गर्नेगरी तयारी गरेका छौँ ।

म्यान्मारबाट सहयोग

लुम्बिनी सांस्कृतिक नगरपालिकाको लागि मेरै पहलमा म्यानमार सरकारसँग गरेको आग्रह अनुसार म्यान्मार सरकारले  बुद्धको मुर्ती प्रदान गरेको छ त्यो मुर्ति भनेको जेट स्टोनको हो । जसको मूल्य ढाई अर्ब हो । त्यसलाई मैले गौतमबुद्ध विमानस्थलमा त्यो मुर्ति राखेर राष्ट्रपतिज्यूबाट अनावरण गराएको छु ।

अबका योजना के छन् ?

स्मार्ट सिटीलाई पूरा गर्ने, अत्याधुनिक बसपार्क निर्माण गर्ने, इन्जिनियरिङ कलेजको स्थापना गर्ने, अत्याधुनिक अस्पताल पनि निर्माण गर्ने मेरा अबका योजना हुन् । त्यसमाथि एउटा क्रिकेट स्टेडियम बनाउने योजना पनि छ ।

लुम्बिनीमा बच्चा जन्माउन चाहनेका लागि अस्पताल

मैले लुम्बिनी क्षेत्रमा एउटा अत्याधुनिक अस्पताल बनाउने योजना बनाएको छु । जसमा विदेशीहरूको पनि उपचार गर्न सकियोस । पर्यटन प्रवर्दनको लागि कुनै पनि देशबाट आएर लुम्बिनीमा बच्चा जन्माउन चाहनेका लागि खासमा यो अस्पताल बनाउन लागिएको हो ।

भगवान गौतम बुद्ध जन्मेको ठाउँमा बच्चा जन्माउन चाहनेका लागि यो एउटा गन्तब्य बन्न सक्छ । जसले यहाँको रोजगारी र पर्यटन दुवै बढ्ने छ ।

(लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी सँग गरिएको कुराकानीमा आधारित)