सुजातालाई ५० लाख दिँदा स्वास्थ्यमन्त्रीलाइ थाहा भएन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुजातालाई ५० लाख दिँदा स्वास्थ्यमन्त्रीलाइ थाहा भएन



हिमाल पोस्ट/ काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने मन्त्रिपरिषदको निर्णयको विरोध गरेका छन् । दुई पटकसम्म मन्त्रिपरिषद बैठक स्थगन गरेर आफू काठमाडौंमै नभएका बेला झुक्याएर प्रधानमन्त्रीले यस्तो निर्णय गरेको भन्दै मन्त्री थापाले आपत्ति जनाएका छन् ।

यस्तो निर्णयलेे राज्य स्रोतको चरम दुरुपयोगलाई निरन्तरता दिनुका साथै अनियमतितालाई संस्थागत गर्ने बाटो खोलेको मन्त्री थापाले बताए ।

मन्त्रिपरिषदको आइतबारको बैठकले पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेपछि स्वास्थ्यमन्त्री थापा रुष्ट बनेका हुन् । उनी अहिले पोखरामा छन् ।

आइतबार स्वास्थ्यमन्त्री थापा पोखरामा भएको मौका पारेर बसेको बैठकले कार्यसूचीमा रहेको कार्यविधिलाई थन्क्याएर सुजातालाई ५० लाख दिने निर्णय गरेको हो । कांग्रेस नेतासमेत रहेका स्वास्थ्यमन्त्री थापा आइतबारको मन्त्रिपरिषद बैठकमा अनुपस्थित थिए । उनी कांग्रेसको युवा संगठन तरुण दलको महाअधिवेशनका क्रममा पोखरामा भएका बेला सरकारले सुजातालाई ५० लाख दिएको हो ।

आफूलाई स्तन क्यान्सर लागेको भन्दै कोइरालाले सरकारसँग एक करोड मागेकी थिइन् । र, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्रको दबावमा उनलाई सरकारले आइतबार ५० लाख उपचार खर्च दिने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री थापाले यसअघि उपचार खर्च बाँड्ने कार्यलाई अव्यवस्थित बनाउनका लागि कार्यविधि बनाएका थिए । सो कार्यविधि मन्त्रिपरिषदमा पेश भइसकेको थियो । तर, प्रधानमन्त्रीकै कारण दुईपटकसम्म मन्त्रिपरिषद बैठक सारिएका कारण थापाले पेश गरेको कार्यविधि पारित हुन सकेको थिएन ।

सरकारको निर्णयमा तीव्र असन्तुष्टि जनाउँदै स्वाथ्यमन्त्री थापाले अनलाइनखबरसँग भने- ‘बैठकको कार्यसूचीमा परिसकेको उपचार खर्चसम्बन्धी कार्यविधिलाई तामेलीमा राखेर गरिएको यो निर्णय प्रक्रियाका हिसाबले पनि र कामका हिसाबले पनि गलत छ । यो दर्भाग्यपूर्ण निर्णय हो । यो पुरानै एवं गलत कार्यशैलीको निरन्तरता हो ।’

अनलाइनखबरसँग पोखराबाट टेलिफोनमा कुराकानी गर्दै स्वास्थ्यमन्त्री थापाले यसरी उपचार खर्च दिने निर्णयमा आफ्नो विरोध रहेको बताए । आफ्नो मन्त्रालयमा अहिले उपचार खर्च माग गर्दै करिब १५ सय बढी निवेदन परेको भन्दै थापाले भने, मसँग हजारौं निवेदनहरु छन्, म पनि त्यसलाई अब प्रधानमन्त्री कहाँ लिएर जान्छु र के गर्नु हुँदोरहेछ हेर्छु ।’