मन्त्रिपरिषद् पुनर्गठनबारे पछिल्लो अपडेट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्त्रिपरिषद् पुनर्गठनबारे पछिल्लो अपडेट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सम्भवतः सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार निकट स्रोतको भनाइ छ ।

कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने केही खुलाइएको छैन । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

नियमित डायलाइसिसले सहज जीवन सम्भव नभएकाले मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेको हुँदा आफू पनि मानसिकरुपले तयार रहेको अवगत गराए ।

उनले मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने विषयमा पनि जानकारी गराएका थिए । स्रोतले जानकारी दिएअनुसार सम्भवतः सोमबार साँझसम्म अर्का अध्यक्ष प्रचण्ड र केही पार्टीका हितैसीहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

केही दिन यता मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्रीले ओलीले पार्टीका नेताहरुसँग आन्तरिक छलफल गर्दै आएका थिए ।

गत बिहीबार प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  करिव डेढघण्टा छलफल गरेका थिए भने मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा प्रधानमन्त्री लागेका हुन् । यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन समेत हुने सक्ने स्रोतले जनाएको छ ।

मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएपछि प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दै उनले आपत्ति समेत जनाएका थिए ।

यसैबीच, सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ।

बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।