मन्त्री आलेले नमानेपछि पर्यटन बोर्डका सीइओलाई कार्यक्रमबाटै निकालियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मन्त्री आलेले नमानेपछि पर्यटन बोर्डका सीइओलाई कार्यक्रमबाटै निकालियो



पोखरा पर्यटन परिषदले आयोजना गरेको एक कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेले एउटैमा बस्न नमानेपछि पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीइओ) धनन्जय रेग्मीलाई बाहिर निकालिएको छ । परिषदले विशिष्ठ अतिथिका रुपमा निम्त्याइएका सीइओ रेग्मीलाई आफुले कारवाही स्वरुप स्पष्टिकरण मागेको भन्दै मन्त्री आलेले एउटै मञ्चमा बस्न नसकिने बताएपछि बाहिर निकालिएको हो ।

मन्त्री आले कार्यक्रमस्थलमा पुग्दा मञ्चमा पर्यटन बोर्डका सिइओ रेग्मी विशिष्ठ अतिथिका रुपमा बसिरहेका थिए । रेग्मीलाई देख्नासाथ मन्त्री आले मञ्चमा नगई शौचालयतर्फ लागेका थिए । उनले आयोजकहरुलाई बाहिर बोलाएर आफूले कारवाहीका लागि स्पष्टीकरण मागेको व्यक्तिलाई विशिष्ठ अतिथि बनाएको कार्यक्रममा बस्न नमिल्ने बताए ।

मन्त्री आले शुक्रवार पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण समेत गरेका आलेलाई पोखरा पर्यटन परिषदको २२ औं साधारणसभामा प्रमुख अतिथी बनाइएको थियो ।

मन्त्रीले रेग्मीसँग एकै कार्यक्रममा नबस्ने बताएपछि आयोजकले बाध्य भएर बाहिर पठाउनु परेको परिषदकै एक सदस्यले बताए । आफुले अतिथिको रुपमा बोलाएको मान्छेलाई मञ्चबाट बाहिर पठाउनु परेकोमा दुख लागेको ति सदस्यले बताए ।

सीइओ रेग्मीसँग किन बस्न मानेनन् मन्त्री आले ?

केहि हप्ताअघि बेलायतबाट नेपाल फर्किने क्रममा रेग्मीले साथमा ल्याएको मदिराको विषयमा प्रश्न उठाएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीमाथि दुर्व्यवहार गरेका कारण विवादमा परेका थिए । सो प्रकरणमा मन्त्रीकै निर्देशनमा तत्कालीन सचिव यादव कोइरालाले रेग्मीसँग स्पष्टीकरण सोधेका थिए ।

आचरणविपरित काम गरेको र पर्यटन बोर्डको सिइओको रुपमा कार्य सम्पादन गर्न नसकेको भन्दै मन्त्री आलेले उनलाई बोर्डबाट हटाउन खोजेका छन् । पर्यटन बोर्डका सदस्यहरुले समेत मन्त्रीलाई भेटेर सिइओबाट काम नचल्ने भन्दै आवश्यक कारबाहीमा लागि मन्त्रालयको तर्फबाट सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।