निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट



१९ फागुन, काठमाडौं ।

 निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट भएका छन् । आयोगले बुधबार गरेको छलफलमा मन्त्रीहरूले राजनीतिक दायित्व बन्देज गर्न खोजिएको आरोप लगाएका हुन् ।

निर्वाचनमा दुईवटा गाडी मात्रै प्रयोग गर्न पाउने आचारसंहिता जारी गरेकोमा पनि मन्त्रीहरूको असन्तुष्टि छ । आचारसंहिता लागू भएपछि जिल्ला सदरमुकामभन्दा बाहिर जान नपाउने व्यवस्थाप्रति पनि उनीहरूले असहमति जनाएका छन् ।

 

सबै मन्त्रीले शिलान्यास र उद्घाटनमा सहभागी हुन पाउनुपर्ने मागसमेत राखेका थिए । जिल्लाबाट उद्घाटन र शिलान्यासका निम्ता आउने गरेकाले ती कार्यक्रममा सहभागी हुन पाउनुपर्ने उनीहरूको भनाइ थियो ।

घर पनि जान नपाउनु ?

निर्वाचन क्षेत्रमा रहेको घरमा पनि जान नपाउने गरी आचारसंहिता बनाउन नमिल्ने मन्त्रीहरूको तर्क छ । ‘घरमा गएर श्रीमती, छोराछोरीलाई भेट्न नपाइने हुन्छ ?’ महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले भने । भूमिसुधारमन्त्री विक्रम पाण्डे, स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलगायतले पनि स्थानीय तहको निर्वाचनमा जान पाउनुपर्ने तर्क गरेका थिए ।

हेलिकोप्टर चढ्न पाउनुपर्छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दुर्गम क्षेत्रमा निर्वाचनका क्रममा हेलिकोप्टर प्रयोग गर्न पाउनुपर्ने बताएका थिए । उनले भने, ‘दुर्गम क्षेत्रमा दुईवटा घोडा प्रयोग गर्न पाउने भनिएको छ । त्यतिले हुँदैन, हेलिकोप्टर पनि प्रयोग गर्न पाउनुपर्छ ।’

मन्त्रालयमा सम्पर्क व्यक्ति तोकिने

निर्वाचन आयोगले विभिन्न मन्त्रालयका सचिवसँग पनि आचारसंहिता कार्यान्वयनबारे बुधबार छलफल गरेको छ । मुख्यसचिव डा. सोमलाल सुवेदीले प्रत्येक मन्त्रालयमा निर्वाचन सम्पर्क व्यक्ति तोकेर निर्वाचन आयोगबाट मन्त्रालयमा प्राप्त निर्देशन जिल्ला तथा स्थानीय तहसम्म कार्यान्वयन गरिने बताएका छन्।

कुन–कुन सवारी चलाउन पाइने ?

महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल पाउनेछन् । वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने गरी आयोगले आचारसंहिता बनाएको छ ।
उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा एउटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाउनेछन् । सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्ने आचारसंहितामा छ । एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने पनि व्यवस्था छ ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।